धनकुटा, पुस ३ गते । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रङ्गीन घरहरु, सँगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतीकात्मक हवाइजहाज, वरिपरि पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइँचो ।
यो धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ४ स्थित संसारी माइस्थान सिमसार क्षेत्रको अहिलेको परिचय हो । यी संरचनाले अहिले यहाँ जो कोहीको मन सजिलै लोभ्याउँछ । धनकुटाको पाख्रिवास बजार नजिकै रहेका संसारी माइस्थान सिमसार क्षेत्र अहिले चर्चा र पर्यटकको रोजाइमा पर्ने गरेको छ । पाख्रिवास बजारबाट करिब ५ सय मिटर तल रहेको सो स्थानमा जङ्गल र झाडीका कारण केही वर्ष अघिसम्म मानिसहरु दिउँसै हिँडहडुल गर्न डराउँथे । अहिले भने सो क्षेत्र पाख्रिबासकै मुख्य पर्यटकीय गन्तव्य बनेको छ ।
तर एक दशक अघिसम्म योे स्थानको परिचय फरक थियो । जताजतै झाडी नै झाडी, बिचमा दलदल, नजिकै लास जलाउने घाट । त्यतिबेला बाहिरबाट आएका व्यक्ति त टाढाको कुरा स्थानीयसमेत सो स्थानमा पुग्न डराउँथे । तर एक दशकको अवधिमा सो स्थानमा निक्कै परिवर्तन भएको छ । जङ्गलमात्र रहेको तथा दिउँसाे जोकोही जान डराउने सो स्थानमा यतिबेला पर्यटकहरु भरिभराउ देखिने गरेका छन् । पहिले दिउँसै पुग्न डर लाग्ने गरेको भएपछि अहिले दिनमा एक पटक सो स्थानमा पुगेर रमिता नहेरी मनै नमान्ने स्थानीय श्यामप्रकाश राई बताउनुहुन्छ ।
लामो समयसम्म उपेक्षामा परेको यो क्षेत्र स्थानीय व्यक्तिको सक्रियता तथा विभिन्न दाताको सहयोगमा आफ्नो रुप फेर्ने सफल भएको हो । स्थानीयवासी तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङको अगुवाइमा यहाँ पर्यटकीय स्थल निर्माणको कार्य सुरु भएको थियो । काम गर्दै जाँदा एक राम्रो पर्यटकीय स्थल बनाउन सकिन्छ भन्ने लाग्यो र विभिन्न सहयोगी संस्थाको सहयोगमा यो आकर्षक पर्यटकीय स्थल बनेको छ । “सुरुमा त पानीको लागि ड्याम बनाउने भनेर मात्र काम सुरु गरेका थियौं पछि ड्याम निर्माण गरेपछि बोटिङ गर्न सकिन्छ कि भन्ने लाग्यो त्यो पछि मात्र पर्यटकीय स्थल निर्माण गर्न सकिने रहेछ भनेर विभिन्न संस्थासँग सहयोग मागेर यत्तिको बनायौँ” गुरुङ भन्नुहुन्छ ।
हालसम्म यहाँ जिल्ला भूसंरक्षण कार्यालयको २९ लाख, कोशी प्रदेश सरकारको ५४ लाख, सङ्घीय सरकारको ९० लाख, पर्यटन विभागको ३० लाख, पाख्रिवास नगरपालिकाको ११ लाख र शहरी विकासको ५ लाख गरि कुल २ करोड १९ लाख रुपियाँ खर्च गरिएको छ । जसबाट तिन वटा पोखरी, २७ फुट अग्लो बुद्धको मूर्ति, २५ फुट अग्लो शिवको मूर्ति, विभिन्न चराचुरुङ्गी, जनावर तथा हनुमान, नाग आदिको मूर्ति निर्माण गरिएको छ । त्यस्तै पाँच स्थानमा वनभात खाने स्थल, वरिपरि फूल बगैंचा, बाल उद्यान तथा वन्यजन्तु र वन्य पक्षीको प्रदर्शनी घर निर्माण गरिएको छ । सो क्षेत्रसम्म पुग्न दुबै तर्फबाट सडक निर्माण गरिएको छ । त्यस्तै ८० फुट लामो प्रतीकात्मक विमान निर्माण गरिएको छ । जसले पर्यटकलाई आकर्षित गरिरहेका छन् । घुम्न आउने ब्याक्तिहरु फरक अनुभूति दिने बताउछन् । अन्य स्थानभन्दा यो स्थान निक्कै आकर्षक रहेको विद्यार्थी धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी सुवास खनाल बताउनुहुन्छ । “अन्य स्थानभन्दा यो फरक र आकर्षक छ एकै पटकमा धेरै कुराको अनुभूति गर्न पाइन्छ जस्तै चियाबारी, बोटिङ, विभिन्न आकर्षक मूर्ति, विमान आदि” खनाल भन्नुहुन्छ ।
धनकुटासहित झापा मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम आदि स्थानबाट पर्यटकहरु सो स्थानमा आउने गरेको स्थानीय बताउँछन् । यो स्थान विद्यालययबाट भ्रमणमा आउने, धनकुटा घुम्न आउनेको मुख्य रोजाइमा पर्न थालेको छ । अहिले बिदाको दिन दैनिक पाँच सयभन्दा बढी तथा अरू दिन सयभन्दा बढी पर्यटक आउने गरेका छन् । स्थानीय ज्ञानबहादुर गुरुङ, विदुर न्यौपाने, तिलकुमारी मानन्धर, प्रेम गुरुङ र श्रीमद् भागवत सङ्घले सो पर्यटकीय स्थल निर्माणका लागि जग्गा प्रदान गर्नुभएको छ । अझै सहयोग जुटाउन सकेमा सो स्थानलाई अझै आकर्षक स्थल बनाउने लक्ष्य छ । अब भने विमानमा सेमिनार हल, थप आकर्षक विभिन्न मूर्तिहरु बनाउने लक्ष्य रहेको संसारी माईस्थान सिमसार संरक्षण समितिका सचिव प्रेम भण्डारी बताउनुहुन्छ । त्यस्तै पोखरी माथी स्काइवाक पोखरीको बिचमा संसारी माइ मन्दिर, निर्माण गर्ने लक्ष्य रहेको भण्डारीको भनाइ छ । “पर्यटनमा नयाँ नयाँ कुरा चाहिने रहेछ हामीले यति निर्माण गर्याैं । याे वर्ष प्रतीकात्मक विमान निर्माण गरेका छौं हामी अझै नयाँपन दिन पोखरीमाथि स्काइवाक निर्माण गर्ने तयारीमा छौं” भण्डारीले भन्नुभयो ।
