• १० भदौ २०८२, मङ्गलबार

कावासोतीमा पोथी गैँडा मृत भेटियो

blog

गुन्द्रही ढकाहा सामुदायिक वनमा मृत भेटिएको पोथी गैँडा ।

बोमलाल गिरी

नवलपुर, भदौ १० गते । नवलपुरको कावासोतीमा एउटा पोथी गैँडा मृत फेला परेको छ । कावासोती –१५ मा रहेको गुन्द्रही ढकाहा सामुदायिक वनमा पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । 

थापाका अनुसार उक्त गैँडा बूढो र बिरामी थियो । सोमबार साँझ पानी पिउन निस्किएको गैँडा मङ्गलबार बिहान मृत फेला परेको थापाले जानकारी दिनुभयो । गैँडा पानी पिएपछि त्यहाँबाट निस्कन नसकेको निकुञ्जका कर्मचारीले जनाएका छन् । 

निकुञ्ज कर्मचारी र सामुदायिक वनको टोलीले गैँडालाई निस्कन सहज होस् भनेर बाटो बनाइदिएका गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो ।

त्यहाँबाट निस्किएर केही अगाडि गएपछि गैँडा मृत अवस्थामा भेटिएको थियो । बूढो भैसकेको गैँडाको अगाडिको खुट्टामा समस्या थियो । गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो पहिलो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।

लेखक बाट थप