मुगु समाचारदाता
मुगु, मङ्सिर २६ गते । यहाँको छायाँनाथ रारा नगरपालिका–८, झ्यारी गाउँका रवि रावल छ वर्षको हुनुभयो। सामान्य अवस्थामा भएको भए उहाँ झोलामा किताब कापी बोकेर विद्यालय जानुहुन्थ्यो तर अवस्था त्यस्तो छैन। पढ्ने, खेल्ने र रमाउने दिनमा रवि जन्मजात प्यारालाइसिस रोगको पीडित बनेर बिस्तारामै सङ्घर्ष गरिरहनुभएको छ।
गर्भवती अवस्थामै रोगले थला परेकी रविकी आमा मायादेवी रावलको उहाँलाई जन्म दिएको एक महिना नपुग्दै मृत्यु भयो। आमाको दूधसमेत खान नपाएका रविलाई गाईको दूधको भरमा बचाएको रविका बुवा कुम्मरबहादुर रावल सम्झनुहुन्छ। गाईको दूधको भरमा जेनतेन रविको प्राण त धानियो तर शरीरको विकास क्रम रोकियो। प्यारालाइसिससमेत भयो। रविको शरीरको दायाँ भाग चल्दैन। रविले हालसम्म स्वास्थ्य संस्थाबाट लिइने नियमित खोपसमेत पाउनुभएको छैन।
रविकी बज्यै खुम्मेनी बोहरा रविलाई पहिलो खोप दिँदा चार /पाँच दिनसम्म खोपका कारणले रुने गरेको र रोगले झन् थला पारेकाले थप खोप लगाउन स्वास्थ्य संस्था नलगिएको बताउनुहुन्छ। रविलाई अहिले उहाँले नै रातदिन पिठ्यँमा बोक्ने गर्नुभएको छ।
रविले बोलेको बुझ्ने तर राम्रोसँग बोल्न नसक्ने अवस्था छ। पिना स्वास्थ्य चौकीका इन्चार्ज पदमबहादुर सेजुवाल रविलाई खोप लगाउन घरमै पनि बुझ्न गएको तर प्यारालाइसिसका कारणले शरीरमा मांसपेसी राम्रोसँग विकास नभएको र शरीरमा हड्डी मात्र भएको तथा खोप लिँदा रविलाई बढी दुखाइ हुने भएकाले नियमित खोपबाट वञ्चित हुनुपरेको बताउनुहुन्छ। उहाँका अनुसार रविको स्वास्थ्यको वृद्धि विकासका लागि पिना स्वास्थ्य चौकीले लिटो भने उपलब्ध गराउँदै आएको छ।
जिल्ला अस्पताल मुगुका प्रमुख उमेश गौतमले जिल्ला अस्पताल मुगुमा अहिलेसम्म यो विषयमा जानकारी नआएको बताउनुभयो। उहाँले अब बालकको थप उपचारका लागि स्वास्थ्यकर्मीमार्फत उपचारमा लाग्ने जनाउनुभयो। छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले रविको पालनपोषणमा पालिकाबाट पनि सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभयो।