• ९ मंसिर २०८१, आइतबार

मङ्सिरमै पाक्यो काफल

blog

गोकर्ण दयाल 

बैतडी, मङ्सिर २६ गते ।    चिसोका कारण छेउछाउमा तुषारो जमिरहेको छ तर चैत–वैशाखमा पाक्ने काफल मङ्सिरमै रातो हुन थालेको छ। काफलको रुखमुनि भवगान् गणशेको जस्तो आकृति र अद्भूत गुफा भएका कारण यहाँ चार दशकदेखि पूजा हुँदै आएको छ। 

वसन्त ऋतुमा पाक्ने काफल हेमन्त ऋतुमै रातो हुन थालेपछि प्रकृतिको लीला र दैवीय कारणले सधैँ यस्तो हुने गरेको जनविश्वास छ। बैतडीको सिगास गाउँपालिका–१, गोलेधारको ठूलाखोमा यस्तै जनविश्वास बलियो बनाउने गरी मङ्सिरमै काफल पाकेको हुन सक्ने स्थानीय धार्मिक अगुवा रामप्रसाद भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, “मलाई ३० वर्ष पहिले यो स्थानका बारेमा सपनामासमेत जानकारी भएको थियो। सपनाअनुसार काफलको रुखमुनि गएर हेर्दा गणेशको जस्तो आकृति र सँगै अर्को अद्भूत गुफा भेटियो। पछि सो स्थानमा पूजासमेत हुन थालेको हो।”   

गुफा र काफलको संरक्षणका लागि त्रिशूल बनाएर पूजा गर्दै आइरहनुभएका स्थानीय दिक विश्वकर्माले यो काफलको फल कहिल्यै रित्तो नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “काफलको रुखमुनि अद्भूत गुफा छ। यहाँ चार दशक अधि दोगडा भूमिराजको थपना राखेर पूजा गर्दै आइरहेका छौँ। बैतडीको दोगडाकेदारबाट बसाइँसराइ गरेर आउँदा भण्डारमा रहेका तामाका भाँडाकुँडा पूज्न यहाँ हाम्रा पूर्वजले भूमिराजको थपना राखेका थिए। दोगडाधामकै प्रतीकका रूपमा हामीले पूजा गर्दै आइरहेका छौँ। दोगडाधाम बैतडीको प्रसिद्ध मन्दिर हो।”

उहाँका अनुसार जलवायु परिवर्तनका कारणले पाँच महिनाअघि नै काफल पाकेको मान्ने हो भने छेउछाउमा रहेका अन्य काफलमा बाला लागेको देखिन्छ, दाना पाकेको देखिँदैन। यहाँ दर्शन गर्न आउनेले जहिले पनि काफलको रुखमा फल लागेको पाउने गरेको उहाँले बताउनुभयो। 

गुफा र काफलको रुख नजिकै त्रिशूल र घण्टीहरू राखिएका छन्। रुखमुनि रहेको गुफाको पूजा हुने गरेको छ। सिगास गाउँपालिका–१ को वडा कार्यालयबाट करिब चार किलोमिटर तल खरकेउडा बजार झरेपछि गोलेधारबाट ठूलाखोलामा रहेको गुफा नजिक पुग्न सकिन्छ। मनोकामना पूरा गर्न यहाँ तराईबाटसमेत भाकलको पूजा गर्न आउने गरेको स्थानीय सिद्धराज भट्टले बताउनुभयो। 

दशकअघि फेला परेको गुफाका बारेमा विस्तृत अध्ययन र अनुसन्धान भने हुन सकेको छैन। गुफाको लम्बाइ र उचाइका बारेमा खोज अनुसन्धान नहुँदा यो गुफा कति लामो छ ? भन्ने कुनै जानकारी नभएको स्थानीय दीपक विश्वकर्माले बताउनुभयो। गुफा र काफल आफ्नो घर र खेतसँगै जोडिएको हुनाले पूजा गर्दै आइरहेको उहाँले बताउनुभयो। 

गुफा रहेको वडाका स्थानीयवासी बसाइँसरेर तराई झरेपछि आफ्नो मनोकामना पूरा भएको भन्दै फर्केर यहाँ पूजा गर्न आउने गरेको स्थानीयले बताएका छन्। गुफा र काफल भएको ठाउँमा मन्दिर स्थापना गर्नसके यहाँ दर्शन गर्न आउनेलाई सहज हुने स्थानीयले बताएका छन्। गुफाको संरक्षण र खोज विस्तृत खोज अनुसन्धानका लागि स्थानीय सरकारसँग पनि यहाँका धार्मिक अगुवाले माग राखेका छन्।