हरेक आमाबुवाको चाहना हुन्छ, आफ्नो बालबच्चा रुष्टपुष्ट (मोटो पुक्क परेको) हुन् भन्ने । मोटो बच्चा शारीरिक हिसाबले स्वस्थ हुन्छ भन्ने आम मानिसको बुझाइ छ । बालबालिका पुक्क परेको रुष्टपुष्ट राम्रो हुन्छ भनेर बस्दा कतै तपाईंका बालबालिका मोटोपनको सिकार त भएका छैनन् ?
के तपाईंलाई थाहा छ ? मोटोपन एक प्रकारको कुपोषण हो । कुपोषणले दुब्लो मात्र होइन मोटोपनको समस्या निम्त्याउने चिकित्सक बताउँछन् । हाम्रो शरीरमा कार्बाेहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तìव आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तìवको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ । त्यसका अलवा प्रोटिनको कमीले पनि मोटोपन हुने गर्छ ।
स्कुलका बच्चामा गरिएको एक सर्वेक्षणअनुसार हरेक १० जना बच्चामा एक जना बच्चामा मोटोपनाको समस्या देखिएको छ । जसमा एक तिहाइ बच्चामा किशोरावस्थासम्म पनि मोटोपना कायम रहने उक्त अध्ययनले देखाएको छ ।
मोटोपनको कारण
बाल नर्स तथा अनुसन्धानकर्ता सुरक्षा सुवेदीका अनुसार मोटोपन वंशाणुगत वा हर्मोनको गडबडीका कारण हुने गर्दछन् । अन्य कारणमा अत्यधिक मात्रा जङ्कफुड प्रयोग बढ्नु, इन्टरनेट, मोबाइलको बढी प्रयोग, कम शारीरिक कसरतका कारण यस्तो समस्या विकराल बन्दै गएको छ ।
पछिल्लो समय बालबालिकामा शारीरिक कसरत कम हुनुका साथै काब्रोहाइडे«टयुक्त खानेकृराको प्रयोग बढी भएकाले पनि बालबालिका मोटोपनको सिकार हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
मोटोपनले निम्त्याउने स्वास्थ्य समस्या
मोटोपनले बालबालिकामा विभिन्न शारीरिक तथा मानसिक समस्या निम्तिने गर्छ । मोटोपनले सानै उमेरमा मुटुरोग, उच्चरक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह तथा श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिने चिकित्सक बताउँछन् ।
त्यसका अलवा कलेजोमा बोसो जम्ने, मानसिक समस्या जस्तै डिप्रेसन, तनावजस्ता शारीरिक र मानसिक समस्या निम्तिन्छ ।
त्यसका अलवा मोटो बच्चालाई कब्जियत हुने समस्या अन्य बच्चाको तुलनामा बढी हन्छ मोटो बच्चालाई मुटुसम्बन्धी रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढी हुने विभिन्न अध्ययनले देखाएको छ । सामान्यतः ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । यदि युवासम्म पनि मोटोपनको समस्या रहिरहेमा प्रजनन स्वास्थ्यमा समेत असर गर्छ ।
मोटोपनको समस्या हुन नदिन के गर्ने ?
पहिले पहिलेका बच्चामा शारीरिक कसरत बढी हुने हुँदा खाना सजिलै पचेर मोटोपनको समस्या खासै देखिँदैन थियो तर आजभोलि बच्चाहरूको शारीरिक कसरत निकै कम हुने गर्छ ।
घरबाहिर खेल्न जाने वातावरण नहुनुका साथै स्कुलमा पनि शारीरिक कसरत कम हुने गर्छ । बालबालिकाले फुर्सदको समयमा पनि शारीरिक कसरतको सट्टा मोबाइल, टिभी
हेरेर समय बिताउने गर्दछन् । जसका कारणले शारीरिक कसरत नहुँदा खाएको खानेकुरा राम्रोसँग पच्न पाउँदैन ।
शारीरिक कसरत कम हुँदा शरीरमा रगत सञ्चालन हुन पाउँदैन र विभिन्न शारीरिक समस्या देखिने गर्दछन् ।
बच्चा जन्मिएको एक घण्टाभित्रदेखि छ महिनासम्म नियमित स्तनपान गराउने ।
बच्चालाई छ देखि सात घण्टा सुत्ने वातावरणको सिर्जना गर्ने ।
बच्चा खाना खाने भएपछि घरमा नै बनाएको खानेकुराको साथमा सागसब्जी मौसमी, फलफूल पर्याप्त मात्रामा खुवाउने ।
क्याल्सियम र फाइबरयुक्त खानेकुरा खुवाउन जोड दिने ।
बच्चाहरूको खानेबानीमा परिवर्तन र शारीरिक रूपमा सक्रिय हुनेजस्ता स्वस्थ बानी र व्यवहार अपनाएमा शरीरको तौल सामान्य गर्न र स्वस्थ हुन सकिन्छ । नियमित शारीरिक व्यायाम र बाहिरी खेलकुदमा भाग लिन बढावा दिने । पर्याप्त मात्रामा स्तनपान गराउने, घरमा पकाएर खानेकुरा खुवाउने, शारीरिक कसरत अर्थात् सक्रियतालाई बढाउने, विद्यालयमा पढाइका अतिरिक्त नृत्य खेलकुदलगायत विभिन्न क्रियाकलापमा सक्रिय गराउने, विद्यालय र घर दुवै ठाउँमा स्वस्थ खानपानमा ध्यानदिने, कार्बाेनेटयुक्त तथा चिनीयुक्त खाद्यान्न न्यून गर्ने ।
मोटोपनको सिकारबाट बचाउन आफ्नो बालबालिकालाई गुलियोयुक्त र बजारमा पाइने पत्रु खानेकुराबाट टाढै राख्ने ।
बच्चामा शारीरिक कसरत कम भएमा घरमा नै नाच्न लगाउने, योगा गर्न लगाउने ध्यान गर्न लगाउने र ठूलो मानिसले घरको करेसाबारीमा काम गर्दा सहयोग गर्न लगाउने गर्नुपर्छ ।
बच्चालाई सकेसम्म पत्रु खानेकुरा कम खुवाउने र घरमा बनाएको खानेकुरामा जोड दिने गर्नुपर्छ । धेरै जना आमाबुवाले मोटो भयो भनेर दूध, दही, घिउजस्ता प्रोटिनयुक्त खानेकुरा खाना नदिने गरेको देखिन्छ तर यस्ता खानेकुरा पनि आवश्यक पर्ने हुँदा मोटो भए पनि यस्ता खानेकुरा सन्तुलित बनाएर खुवाउनुपर्छ ।