• १९ असार २०८१, बुधबार

अस्पताल आफैँले पैसा थपेर पाठेघरको अप्रेसन

blog

नवीन शिशिर विक 

बागलुङ, मङ्सिर २४ गते । धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफैँ पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ । 

आङ खसेका महिलाहरूको निःशुल्क अप्रेसनको लागि गण्डकी प्रदेश सरकारले एक जना  बिरामी बराबार १३ हजार रुपियाँ छुटाएको थियो । 

बाहिरी जिल्लाबाट विशेषज्ञ स्वास्थ्यकर्मीको टोली झिकाएर अप्रेसन गर्दा एउटा बिरामीको खर्च २० हजार रुपियाँ लाग्ने हुँदा अस्पताल व्यवस्थापन समितिले प्रति बिरामी सात हजार रुपियाँ थप गरेर अप्रेसन गरेको हो । 

जिल्ला स्तरमा अप्रेसनको लागि विशेषज्ञ डाक्टर नहुँदा सरकारले तोकेको वा उपलब्ध गराएको रकममा अप्रेसन खर्चले नपुग्ने धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मी जिसी कार्कीले बताउनुभयो । 

‘हामीले नागरिकप्रतिको दायित्वबोध गरेर रकम थप गरेका छौँ’ उहाँले भन्नुभयो–‘अस्पताल आफैँ सङ्कटमा परेको अवस्थामा रकम थप गर्नु सामान्य विषय होइन ।’ थप भएको रकम पूर्तिको लागि स्थानीय तहसँग समन्वय गर्ने अस्पतालका प्रशासकीय अधिकृत छैटौँ तेजराज गौतमले बताउनुभयो ।

मङ्सिर २१ देखि २३ गतेसम्म सञ्चालित निःशुल्क अप्रेसन शिविरमा ३६ जना महिलाको निःशुल्क अप्रेसन गरिएको थियो । शिविरमा सबै भन्दा बढी ८५ वर्षीया र सबैभन्दा कम उमेरको ३१ वर्षीया महिलाको अप्रेसन गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो ।