• १३ साउन २०८१, आइतबार

मङ्सिर बित्न लाग्दासमेत तराईका जिल्लामा चर्को घाम

blog

चिसो लाग्नुपर्ने मङ्सिरमा चर्को घाम, सामान्य लुगामा मानिस । तस्बिर – विजयकुमार साह

विजयकुमार साह

ढल्केवर, मङ्सिर २१ गते । मङ्सिर महिना बित्न लाग्दासमेत धनुषालगायत छिमेकी जिल्लाहरूमा चिसो बढेको छैन । मङ्सिर, पुस र माघ महिनामा तराईका जिल्लाहरूमा अत्यधिक चिसो र हुस्सु लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने त्यस्तो छैन । 

बिहान र बेलुकाको समयमा अलिक चिसो लाग्ने गरेको भए पनि दिनभर चर्को घाम लाग्ने गरेको छ । देशका विभिन्न भागमा चिसो बढ्दै गए पनि यहाँका मानिस सामान्य लुगामै दिन बिताउनुहुन्छ । 

विगतका वर्षमा कात्तिक महिनाको सुरुवातदेखि नै चिसो लाग्थ्यो । मङ्सिर महिना आउँदा चिसोबाट बच्न बाक्लो र न्यानो लुगा लगाउनुपर्ने अवस्था आउँथ्यो । बाक्लो हुस्सु र कठ्याङ्ग्रिँदो चिसोका कारण मानिसको दैनिकी कामकाजसमेत प्रभावित हुने गरेको थियो । 

वातावरण विज्ञका अनुसार जलवायु परिवर्तनका कारण मौसममा असन्तुलन देखिएको हो । वर्षाको मौसममा वर्षा नहुनु, वर्षा भएपछि धेरै वर्षा हुन, चिसो मौसममा चिसो नलाग्नु, चिसो बढेपछि अत्यधिक बढ्नु र घाम लागेपछि चर्को घाम लाग्नु यो सबै जलवायु परिवर्तनका कारण भइरहेको छ । तराई अथवा नेपालमा मात्र नभएर विश्वभर नै जलवायु परिवर्तनको असर देखा परिरहेको उहाँहरू बताउनुहुन्छ ।  

पर्यावरण संरक्षण अभियानी तथा मधेस प्रदेश वन निर्देशनालयका महासचिव सुरेश शर्माले औद्योगिक विकास तथा मानवीय क्रियाकलापको उपजस्वरुप सिर्जित जलवायु परिवर्तन वातावरणीय सन्तुलनको मुख्य चुनौती बनिरहेको बताउनुभयो । विश्वव्यापी उष्णताका कारण पानीका श्रोतहरू सुक्दैछन्, हिमालयका हिउँ पग्लिँदै छ र पृथ्वीमा मरुभूमिकरणको प्रकोप बढिरहेकाले मानव जीवन नै सङ्कटमा पर्ने खतरा बढेर गएको उहाँले जानकारी दिनुभयो । 

जलवायु परिवर्तनको असर तराईको सन्दर्भमा शून्य दशमलव शून्य नौ सेन्टिग्रेड तापक्रम वर्षेनी वृद्धि भइरहेको बताउँदै महासचिव शर्माले जलवायु परिवर्तनको असर कम गर्न वायुमण्डलमा हरितगृह ग्यासको मात्रा घटाउँदै लैजानुपर्ने र हरियालीमा वृद्धि ल्याउनु मात्र विकल्प भएको बताउनुभयो । 

उहाँले विगत सुनाउँदै भन्नुभयो, केही वर्षअघिसम्म कात्तिक मसान्तदेखि नै कठ्याङ्ग्रिँदो चिसो लाग्थ्यो । चिसोबाट जोगिन ऊनका स्वेटर, बर्को ओढ्नु पर्दथ्यो । तर, अहिले सामान्य छ, चिसोको खासै अनुभव भइरहेको छैन ।’

यसैगरी, पर्यावरण तथा चराचुरुङ्गी संरक्षणका क्षेत्रमा कार्य गर्दै आउनुभएका मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले जलवायु परिवर्तनको असर मौसमलगायत सबैजसो क्षेत्रमा देखा परिरहेको बताउनुभयो । 

जलवायु परिवर्तन विश्वभर चासो र चिन्ताको विषय बनेको छ । जथाभाबी भइरहेको वातावरणीय विनासमा ध्यान नदिँदा वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेर पृथ्वीमा त्यसको गम्भीर प्रभाव देखिन थालेका छन् ।

हाम्रा सन्ततिको भविष्य बिर्सेर हामीले आजका लागि मात्रै सोचेर लापरबाहीपूर्वक काम गरिरहेका छौँ । यसको अर्थ पर्यावरण संरक्षणका नाममा पूर्वाधार विकास रोक्नुपर्छ भन्ने होइन । तर, विकासका नाममा वातावरण विनाश गर्नुहुँदैन, उहाँले भन्नुभयो । 

नेपाल पनि जलवायु परिवर्तनको प्रभावबाट अछुतो छैन । वातावरणीय प्रदूषण तीव्र गतिमा बढिरहेको  छ । तर, मानवको ध्यान अझैँ पनि पर्यावरण संरक्षणमा गएको छैन । प्राकृतिक स्रोत साधनको अत्यधिक दोहनले मानव र जीवजन्तुको मात्र नभएर पृथ्वीकै अस्तित्व सङ्कटमा पर्न थालेको अध्यक्ष मण्डलले भन्नुभयो ।