• १३ साउन २०८१, आइतबार

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

blog

विष्णुप्रसाद घिमिरे

तानसेन (पाल्पा),  मंसिर २१ गते ।  काठमाडौँका विकाश महर्जन पाल्पाको तानसेनमा ओर्लिएपछि  आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपालि भने प्याराग्लाइडिङ तान्यो । “ऐतिहासिक तानसेन बजारलाई आकाशबाट हेर्दाको मजा नै बेग्लै हुँदो रैछ”, उहाँ भन्नुहुन्छ, “चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाइडिङ राम्रो माध्यम बनेछ ।” 

ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ सञ्चालित साहसिक जल यात्रा (र्याप्टिङ), प्याराग्लाइडिङ र जीपलाईनले पर्यटकलाई आकर्षित मात्र गरेको छैन, जिल्लाको पर्यटन प्रवर्द्धनमा थप  टेवासमेत पुर्‍याएको छ । 

पहिलो पटक रानीमहल घुम्न आउनुभएका नेपालगन्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा ¥र्यापटिङ को आनन्द लिनुभयो । “पहिला त निकै डर लागेको थियो, पछि ¥याफ्टिङ गर्दा आनन्द महसुस भयो”,’ उहाँ भन्नुहुन्छ, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।

”तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जल यात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँचसयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्दछन् । 

यहाँका ऐतिहासिक तानसेन बजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुईसय भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्दछन् भने दैनिक १५ देखी २० जनाले साहसिक जलयात्रा गर्दछन् ।

स्याङ्जाको बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरेपनी साहसिक जलयात्रा भने गर्नुभएको थिएन । उहाँ भन्नुहुन्छ, “मेरो घर नजिकै भएर पनि यहाँ र्याप्टिङ ) सुविधा छ, भन्ने थाहा थिएन ।” चौथो पटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले  पनि जलयात्रा  गर्न साहस गरेको उहाँ बताउनुहुन्छ । 

तानसेनको बतासे डाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन बजार, श्रीनगरलगायत मनोरमस्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्वकाईका सञ्चालक रुपम कक्षपतीले जानकारी दिनुभयो ।

यात्रुहरूको रोजाइअनुसार २० देखी ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उहाँको भनाइ थियो । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृङ्खलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मङ्सिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङ्जा, धरान, ललितपुर, काठमाडौँ लगायत क्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटर माथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ । 

तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट  सञ्चालित जीपलाईन यहाँ आउने पर्यटकहरूको अर्को गन्तव्य बनेको छ । पाँच सय मिटर दूरीको जीपलाईनमा डोरीमा झुण्डिदै साइक्लिङ गर्न दैनिक १५ देखी २० जना पुग्ने गरेको त्यसका सञ्चालक देव पचभैया बताउनुहुन्छ ।

उक्त जीपलाईन पाल्पा दर्शन प्रा.लि.ले सञ्चालनमा ल्याएको हो । दक्षिण एसियाकै ठूलो त्रिशुलबाट परिचय बनाएको भैरव मन्दिरको दर्शनसँगै जीपलाईनको आनन्द लिन पर्यटकहरू आउने गरेका छन् । 

नेपालको भूगोलअनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्र्याकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ र स्किइडलगायतलाई साहसिक खेल मान्ने गरिएको छ । नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुलागरेसँगै नेपालमा साहसिक पर्यटन सुरु भएको पाइन्छ ।