• ६ चैत २०८२, शुक्रबार

चर्चामा रायराँयकोट, लोभ्याउदै आन्तरिक पर्यटक

blog

बागलुङमा रहेको धार्मिक क्षेत्र रायराँयकोट क्षेत्रमा यतिबेला गुराँस हेर्न जाने पर्यटकको लर्को । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत ६ गते ।
बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोट यतिबेला चर्चामा पुगेको हो । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिक क्षेत्र रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ ।

गुराँसको जङ्गलबिच रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको रायराँयकोटमा पूर्वाधार थपिएसँगै त्यहाँ पुग्ने पर्यटकहरुको लर्को लाग्न थालेको हो ।  रायराँयकोटमा सडक, विद्युत लगायतका पूर्वाधारको विकास भएको छ भने सत्तल निर्माण भएको हो ।

प्राकृतिक दृश्वाअवलोकनका लागि उपयुक्त गन्तव्य बनेको रायराँयकोटमा गुराँस फुलेपछि पर्यटकको लर्को लागेको छ । रायराँयकोटमा वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रुपमा समेत पुजा आजा गर्दै आएका छन् ।

उक्त स्थानमा पुग्नेको सङ्ख्या अहिले दिन प्रतिदिन बढ्दै गएको स्थानीय लाल बहादुर गौतमले जानकारी दिनुभयो । 

बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पूर्वाधार निर्माणमा सहयोग आएको छ । अहिले त्यहाँ सडक पुगेकाले सहज भएको गौतमको भनाइ छ ।

पूर्वाधार निर्माण र प्रचार प्रसारका कारण रायराँयकोट पछिल्लो समय चर्चामा रहेको छ । गुराँस फुलेसँगै रायराँयकोट मनमोहक देखिएको छ । धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिएकाले पछिल्लो समय त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको गौतमले जानकारी दिनुभयो ।

सडकमार्गबाट बागलुङ बजारबाट दुई घण्टामै पुग्ने सकिने उच्च पहाडमा रहेको रायराँयकोटले आन्तरिक पर्यटक तान्दै आएको छ । सवारीसाधनको माध्यमबाट त्यहाँ पुग्नुभएको प्रेम घर्तीले बागलुङ बजारको कोलाहल छल्ने नजिकको स्थानका रुपमा रायराँयकोट बनेको बताउनुभयो ।

घर्तीका अनुसार उच्च पहाड संसारकोट सम्म फैलिएको पाँच कोटले धार्मिक मार्गको रुपमा समेत विकास गरेको थियो । गैरागाउ, तितौरे, वाटुले, तग्राम, मुल्पानी, तित्याङ र मालिका लगायतका विभिन्न स्थानबाट वर्षादेवका रुपमा पुजाआजा गर्ने प्रचलन रहेको छ ।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालय अन्र्तगत रायराँयकोटमा अहिलेसम्म २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । रायराँयकोटमा पुग्ने स्तरीय सडक बनाउन भने आवश्यक छ ।

यस्तै पञ्चकोटदेखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि ५० लाख बजेट सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको छ ।

यस अघि करिकोट देखि माझकोटसम्म पदमार्ग निर्माणको काम भइरहेको छ । रायराँयकोटमा लिफ्ट मार्फत स्थानीयले खानेपानी  पुर्याएको  छ । ठुलो ढुङ्गाको छेडमा परापूर्वकालदेखी पुँजा गरिने यस स्थानमा  वि.स. १९२६ सालमा चन्द्रप्रसाद गौचनले चढाउनु भएको घण्टी समेत यहाँ संरक्षित रहेको छ ।

यो रायराँयकोट समेत ऐतिहासिक रुपमा प्रसिद्ध रहेको र पूजाको दिन पूजा गरिसकेपछि चितुवा देखिन्थ्यो भन्ने परम्परागत किंवदन्ती समेत रहेको छ । पाँच कोट तारजालकोट, कारीकोट, माझकोट, रायराँयकोट र संसारकोटलाई पञ्चकोटका रुपमा प्रचार गरी अहिले पञ्चकोट धार्मिक गन्तव्य बनिरहेको छ ।