• १२ साउन २०८१, शनिबार

समानुपातिक मतगणनाको काम सकियो, सात दल बने राष्ट्रिय दल

blog

काठमाडौं, मंसिर २१ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । गणनाको नतिजाअनुसार सात वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका छन् । 

निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका हुन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतगणनाको काम सकिएकाले आजदेखि दलले पाउने सिट सङ्ख्याको टुङ्गो लगाएर दलहरूलाई आजै पत्राचार गरिने छ । 

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार समानुपातिकतर्फको मतगणना सकिएकाले दलले प्राप्त गर्ने सिट बाँडफाँटको काम आजै टुङ्गिने छ । एक करोड ५ लाख ६० हजार ६७ कुल सदर मतको गणना भएको उहाँले बताउनुभयो । यद्यपि निर्वाचनमा समानुपातिक तर्फ करिब एक करोड १० लाख मत खसेको उहाँले जानकारी दिनुभयो । दलहरूले प्राप्त गरेको मत आयोगले आफ्नो वेबसाइटमा पनि प्रविष्ट गरिसकेको छ । 

अन्तिम मत परिणामअनुसार सात वटा दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत ल्याउनु पर्ने आयोगले जनाएको छ । 

नेकपा (एमाले) बाट अलग भएर नेकपा एकीकृत समाजवादी दल बनेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दल प्रत्यक्ष तर्फ १० सिटमा विजय निकाले पनि थ्रेसहोल्ड कटाउन सकेन । सो दलले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय दल बन्न १८ हजार ४११ मत सो दललाई अपुग भएको छ । 

राष्ट्रिय दल बनेका दलले पाएको यस्तो छ मत 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिब १ करोड १० लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७११ छ । ती मत समानुपातिकतर्फको ११० सिट बाँडफाँटमा भाग लगाइने छ । थ्रेसहोल्ड न कटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात् १२ लाख ८८ हजार ३५६ मत खेर गएको छ ।

नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको २ लाख ९८ हजार ३९१ मत पनि खेर गएको छ । त्यस्तै, थ्रेसहोल्ड नकटाउने अन्य ४० दलले प्राप्त गरेका मत पनि खेर गएको छ । 

आयोगको नतिजाअनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले थ्रेसहोल्ड कटाउने सात दलको मत जोडेर आउने हिसाबको ३० प्रतिशत मत प्राप्त गरेको छ । सो दलले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेले प्राप्त गरेको मत २८ लाख ४५ हजार ६४१ रहेको छ । 

दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेको छ । सो दलले ३२ सिट प्राप्त गर्ने देखिएको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । सोहीअनुसार तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । सो दलले समानुपातिक तर्फ ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि थ्रेसहोल्ड कटाएको छ । सो दलले १२ प्रतिशत मत प्राप्त गर्दै १३ सिट प्राप्त गरेको छ । सो दलले ११ लाख ३० हजार ३४० मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ७ सिट पाउने भएको छ । सो दलले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ५ सिट पाउने छ । सो दलले ४ लाख २१ हजार ३१४ मत पाएको छ । जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतले ३ लाख ९४ हजार ६५५ मत पाएको छ । निर्वाचन आयोगले अन्तिम हिसाब निकालेपछि एक दुई सिट तलमाथि हुनसक्ने जनाएको छ । त्यसको टुङ्गो आजै हुने सहायक प्रवक्ता अर्यालले बताउनुभयो । 

प्रतिनिधि सभामा २७५ जनामध्ये १६५ जना यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भइसक्नु भएको छ । समानुपातिक तर्फ अब ११० जनाले दलहरूले आयोगमा पेस गरेको बन्दसूचीका आधारमा चुनिनेछन् । आयोगले २६ गते भित्र सबै परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाइसक्ने बताएको छ । 

प्रत्यक्ष जितेर थ्रेसहोल्ड नकटाउने दल

प्रत्यक्ष सिटमा विजयी भएर पनि थ्रेसहोल्ड नकटाएर राष्ट्रिय दल नबनेका दल एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा रहेका छन् । आयोगका अनुसार एकीकृत समाजवादीले १० सिट प्रत्यक्षतर्फ जितेको छ । त्यस्तै, उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । लोसपाले ४ सिट जितेको छ । नेमकिपा र जनमोर्चाले एक - एक सिटमा जित निकालेका छन् । सबैभन्दा कम मत पाउने दल

आयोगको तथ्याङ्क अनुसार समानुपातिक तर्फ सबैभन्दा कम मत पाउने दल नेश्नलिष्ट पिपल्स पार्टी रहेको छ । त्यो दलले २ हजार १८ मत मात्र प्राप्त गरेको छ । त्यस्तै, अर्को दल राष्ट्रिय नागरिक पार्टी पनि हो । त्यो दलले २ हजार १५० मत पाएको छ । अर्को कम पाउने दलमा नेपाल कम्युनिस्ट पार्टी परिवर्तन रहेको छ । त्यो दलले २ हजार २२० मत पाएको छ । 

यस्तो छ प्रमुख आठ दलले पाएको निर्वाचन परिणाम



Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।