• १७ असार २०८१, सोमबार

तारा एयरको दुर्घटनागस्त विमानको अवशेष सङ्कलन हुँदै

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर २० गते । जेठ १५ गते मुस्ताङमा २२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका अवशेषहरू सङ्कलन गर्न थालिएको छ । सो बेला तारा एयरको विमानमा रहेका तीन चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । 

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको  (एनएईटी) टुईनेटर विमान हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने पानीपाथी हिमालको फेदमा सानुसरे पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो । विमानका सामग्रीहरू सोही क्षेत्रमा छरिएर रहेको अवस्थामा थिए । दुर्घटनापछि ब्ल्याक बक्स र मृतकको शव सङ्कलन गरेर लगिएको थियो । अहिले विमानका पार्टपुर्जा तथा अन्य सामग्रीहरू सङ्कलन गर्न सोमबारबाट थालिएको हो ।

थासाङ गाउँपालिकाको नाउरीकोटका स्थायी बासिन्दा इन्द्रसिंह शेरचनको अगुवाइमा उक्त क्षेत्रको सामानहरू सङ्कलन कार्य सोमबारबाट थालिएको छ । बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर समेत रहेका शेरचनले उक्त क्षेत्रमा विमानका पार्टपुर्जा तथा अन्य सामग्रीहरू सङ्कलनका लागि अगुवाइ गरिरहेको बताउनुभयो ।

 

आठ जनाको टोलीले सोमबार र मंगलबार दुर्घटनाग्रस्त क्षेत्रमा पुगेर सामग्री खोज्ने र यातायातको साधन उपलब्ध हुने बोक्सीखोला क्षेत्रसम्म ल्याउने प्रयासमा रहेका उहाँले भन्नुभयो । 

शेरचनको भनाइमा उक्त क्षेत्रमा सामग्री सङ्कलन र सडक मार्गसम्म ल्याउन कम्तीमा पनि एक हप्ता लाग्नेछ ।

तारा एयरका निर्देशक राप्के छिरिङ शेर्पाका अनुसार विमानलगायतका कानुनी प्रक्रिया पूरा गरेपछि सामग्रीलाई पूर्ण रूपमा व्यवस्थापन गरिनेछ । ती सामग्रीहरूलाई बोक्सीखोलामा लगेर करिब चार महिना राखिने उहाँले बताउनुभयो ।