• १३ साउन २०८१, आइतबार

कचहरी नाटक ‘अभीप्सा’ मञ्चन

blog

काठमाडौँ, मङ्सिर २० गते । हाम्रो समाजमा महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकाले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकका रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन । 

महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ । यसैलाई आधार बनाएर महिला अब कमजोर छैनन् भन्ने हेतुका साथ समाजलाई देखाउन लैङ्गिक हिंसाविरुद्धको १६ दिवसीय अभियानमा कचहरी नाटक मञ्चन भएको छ ।  

‘दृश्य सादृश्य’को प्रस्तुतिमा तयार पारिएको ‘अभीप्सा’मा सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको छ । काठमाडौँका विभिन्न विद्यालयमा देखाइने नाटकले महिला भएकै आधारमा महिलामाथि हुने विभेदको कथा बोल्छ । 

नाटकले हाम्रो समाज, गाउँ, ठाउँ र परिवारभित्रै हुने हिंसाका विभिन्न किस्सा देखाएको छ । सुवास सुवेदी, सुशीलसिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुलदीप अधिकारी, रामकुमार थामी, उन्नत उप्रेतीलगायतका कलाकारको नाटकमा अभिनय रहेको थियो ।