अविनाश चौधरी
धनगढी, असार १ गते । थारु समुदायका भलमन्सा (बरघर), गुरुवासहित धार्मिक अगुवाहरुलाई कानुनी सचेतना प्रदान गरिएको छ । आज कैलालीको चौमालामा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई कानुनी ज्ञान बाँडिएको हो ।
भलमन्सा (बरघर) ले थारु गाउँमा नेतृत्वदेखि लिएर सामान्य झैझगडा मिलाउने लगायतका कार्य गर्दैआएका छन् । यसैगरी, गुरुवाले विभिन्न पूजाआजादेखि झारफुकको काम गर्ने गरेका छन् ।
भलमन्सा, बरघर, गुरुवाले फौजदारी र देवानी मुद्दामा हात नहालुन भनेर उहाँहरुलाई सचेत पार्नका लागि कार्यक्रम गरिएको आयोजकको भनाइ छ । गौरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा पहुरा मिडिया प्रालिद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा गौरीगंगा नगरपालिकाका ६३ गाउँका भलमन्साको सहभागिता रहेको थियो ।
आफूहरुकहाँ झैझगडा, साँध संधियारजस्ता विवादका मुद्दा आउने गरेको गौरीगंगा नगरपालिका –७ महादेवाका भलमन्सा मेलाराम चौधरीले बताउनुभयो । उहाँले साधारण किसिमका मुद्दाहरुमा मात्र भलमन्साले मेलमिलाप गराउने गरेको उल्लेख गर्दै भन्नुभयो, “हामीलाई अधिकार नभएका मुद्दालाई वडाको मेलमिलाप केन्द्रमार्फत पालिकाको न्यायिक समितिमा पठाउने गरेका छौं ।”
सहभागीहरुलाई मेलमिलापकर्ता बल्लु चौधरी र बाँधु चौधरीले कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले गर्नुभएको थियो ।