• १२ असोज २०८१, शनिबार

सुन पसलबाटै छाया बैङ्किङ कारोबार, दुई करोड डुब्यो

blog

ठगीमा परेकी मनमाया राई र कमला ज्वेलर्सले दिएको बचतको पासबुक । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल 

विराटनगर, मङ्सिर २० गते । सुन पसलमा छाया बैङ्किङ कारोबार सञ्चालन गरेर सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना भएको छ। 

मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित कमला ज्वेलर्सका सञ्चालकले सर्वसाधारणको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएको हो। 

सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढङ्गबाट छाया बैङ्किङ कारोबार गरी ठगी गरेको आरोपमा प्रहरी सञ्चालक राजु विश्वकर्मालाई गत कात्तिक २७ गते नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।  

मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार ठगी भएको भन्दै सुरु निवेदन पर्दा ८३ लाख ४४ हजार थियो। आरोपित राजु विश्वकर्मा र श्रीमती कमला विश्वकर्मा पक्राउ परेपछि प्रहरीमा जाहेरी दिनेको सङ्ख्या सोमबारसम्म ८३ जना पुगेका छन्। उजुरी दिने दैनिक बढिरहेकोले ठगी भएको रकमसमेत अझैं बढ्ने आशङ्का प्रहरीले गरेको छ। 

प्रहरीमा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका विश्वकर्माले सर्वसाधारणलाई १७ प्रतिशत ब्याजको लोभ देखाएर बचत गर्न लगाउने र घरजग्गा खरिद गरेर आफ्नो नाममा पास गर्ने गरेको खुलेको छ। विश्वकर्माले अहिलेसम्म तीनवटा घर खरिद गरिसकेको दाबी छ। सर्वासाधारणलाई प्रलोभन देखाएर बचत गराएको रकमबाट व्यक्तिगत सम्पतिमा लगानी गर्ने गरेको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको हो। 

ठगीमा पर्नेमध्ये धेरै महिला छन्। पीडित मनमाया राईका अनुसार कारोबार गर्दै जाँदा बचत गर्ने रकमसमेत बढेर १२ लाख रुपियाँ पुगेको थियो। त्यसपछि सञ्चालक विश्वकर्माले पैसा फिर्ता दिन नसक्ने भएपछि बुझ्दा निजी सम्पति जोडेको देखिएको थियो। 

अहिले सर्वसाधारण दैनिक प्रहरीमा आएर पक्राउ परेका विश्वकर्माबाट पैसा फिर्ता माग्ने गरेका छन्। विश्वकर्माले तीनवटा घरमध्ये एउटा बिक्री गरेर फिर्ता दिने बचन दिएपनि सर्वसाधारण विश्वस्त हुन सकेका छैनन्। 

प्रहरी नायब उपरीक्षक कार्कीले अनुसन्धानका क्रममा रहेको आरोपितबाट सर्वसाधारणको रकम फिर्ता भएपनि इजाजत बिना नै बैङ्किङ कारोबार गरेर ठगी आरोपमा उनीविरुद्ध मुद्दा चल्ने छ।