• १३ साउन २०८१, आइतबार

एम्बुलेन्स दुर्घटना : ६ जना घाइते

blog

इटहरवाकट्टीस्थित इलाका प्रहरीको नियन्त्रणमा राखिएको एम्वुलेन्स । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मंसिर १९ गते । बिरामी बोकेर अस्पतालतर्फ जाँदैगरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते जति सबै महिला तथा नाबालक रहेका छन् । 

दुर्घटनामा घाइते हुनुभएकी रामगोपालपुर –९ का २४ वर्षीया विनीतादेवी यादवको अवस्था गम्भीर छ । शरीरको विभिन्न अङ्गमा चोट लागेको उहाँलाई राति नै जनकपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । प्रहरीकाअनुसार विनीताका दुई महिनाकी छोरी र ३० वर्षीया जेठानीदिदी रानीदेवी यादव घाइते हुनुभएको छ । 

दुर्घटनामा परी सोही ठाउँकी २५ वर्षीया प्रियंका देवी तथा १८ महिनाको छोरो रीतिक र ६० बर्षीया सासुआमा श्रीमती देवी समेत घाइते हुनुभएको छ । उहाँहरूको अवस्था सामान्य रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरस्थित जानकी एकेडेमी हस्पिटलबाट मान्छे बोकेर पर्सातर्फ जाँदैगरेको नाअ प ९८ नम्बरको अनटेस्ट एम्बुलेन्स आइतबार राति साढे १० बजे महोत्तरीको मनरासिसवा –३ भोलही नजिक दुर्घटना भएको थियो । 

राति नै घटनास्थल पुगेका प्रहरी र स्थानीयले बिरामीलाई उद्धार गरी अस्पताल लगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलका अनुसार एम्बुलेन्सलाई इटहरवाकट्टीस्थित इलाका प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनालगत्तै चालक फरार छन् । दुर्घटनाको कारण स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।