• १२ असोज २०८१, शनिबार

जीर्ण अवस्थाको इन्द्रवीर पौवा भत्काइयो

blog

जीर्ण अवस्थामा रहेको ‘इन्द्रवीर’ पौवा । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, मङ्सिर १८ गते । गुल्मीको सदरमुकाम तम्घासमा सवारीसाधन आवत–जावतमा सहज बनाउन पुरानो बजारमा रहेको जीर्ण अवस्थाको इन्द्रवीर पौवा भत्काइएको छ । तत्कालीन समयमा सदरमुकाम तम्घास निवासी समाजसेवी इन्द्रवीर बगाले थापाले बटुवाका लागि बनाउनुभएको सो पौवा जीर्ण भएकाले नयाँ संरचना बनाउन भत्काइएको हो । 

तत्कालीन समयमा तम्घासमा प्रशस्त बास बस्ने ठाउँ थिएन । त्यस समयमा बगाले थापा परिवारका समाजसेवी इन्द्रवीर थापाले आफ्नै लगानीमा जग्गा खरिद गरी पौवा बनाउनुभएको इतिहास छ । बगाले थापा परिवार कुल पूजा समितिका अध्यक्ष शेरबहादुर थापाले भन्नुभयो, “इन्द्रवीर थापाको इतिहाससँग जोडिएको पौवा बिस्तारै संरक्षणको अभावमा जीर्ण बन्दै गयो ।” 

अहिले रेसुङ्गा नगरपालिकासँगको समन्वय र छलफलमा जीर्ण पौवालाई भत्काएर व्यवस्थित गरिने सहमति भएको थापाको भनाइ छ । “पछिल्लो समय घनाबस्ती बढ्दै जाँदा सडक पनि साँघुरिँदै गयो । जसकाकारण ट्राफिक जाम हुने देखिएकाले पनि व्यवस्थित गर्नुपर्ने देखियो ।” थापाले इन्द्रवीर थापाको नाम अङ्कित गरी प्रतीक्षालय निर्माण गरिने सहमतिका साथ जीर्ण पौवालाई भत्काइएको जानकारी दिनुभयो । 

रेसुङ्गा नगरपालिका –८, पुरानो बजारमा जीर्ण अवस्थाका रहेको सो पौवाका कारण सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । रेसुङ्गा नगरपालिका र पौवा निर्माणकर्ता यहाँका बगाले थापाबन्धुहरुबीचको सहमतिमा इन्द्रवीर पौवा हटाइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

नगरप्रमुख पन्थीले भन्नुभयो, “नगरपालिका अहिले सुन्दर तम्घास बजार बनाउने अभियानका साथ अगाडि बढेको छ । बजारको सुन्दरता बढाउन विधुतको तार, केबुल, नेट, लगायतका तार पनि हटाएर व्यवस्थित गर्ने चरणमा छौँ ।”