• १२ असोज २०८१, शनिबार

गठबन्धन सरकार टिकाउन आवश्यक छ : नेता पौडेल

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर १८ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले गठबन्धन सरकार टिकाउन जरुरी रहेको बताउनुभएको छ ।  व्यास नगरपालिका –८ पुलिमराङ, सहिद गाउँमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता पौडेलले सत्तारुढ गठबन्धन मर्म भनेको शान्ति, सुशासन, स्थिर सरकार र समृद्धि भएकाले निरन्तरता दिइनु पर्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई धोका दिन नहुने उहाँको भनाइ छ । कुनै आँच आउन नदिने गरी दरो रूपमा मनमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

“तपाईँले दिएको मतको पूरापुर हामी सदुपयोग गर्छौैं, अत्यन्त इमानदारीपूर्वक काम गरेर मतदाताले ठिक गरेछौँ भन्ने मनमा आनन्द हुने गरी काम गर्छौँ” नेता पौडेलले बताउनुभयो । भोट हालेर जिताउने काम मतदाताले पूरा गर्नुभएको र अब ऋण तिर्ने काम आफूहरूको रहेको उहाँले बताउनुभयो । 

सहिदको गाउँबाट प्रेरणा मिलेर राजनीतिमा लागेको पौडेलले बताउनुभयो । अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँकै मानिसलाई रोजगारी दिनसक्नु पर्ने नेता पौडेलले बताउनुभयो । “देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने विकास हुन्छ” नेता पौडेलले भन्नुभयो, “कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने पर्यटनको विस्तार गाउँमा पुर्‍याउने, गाउँमा उद्योगहरू खोल्नुपर्छ ।”

सरकार नेतृत्वका लागि आफूले दाबी गर्ने नेता पौडेलले बताउनुभयो । देशमा सुशासन दिने नैतिक सामर्थ्य व्यक्तिमा हुनुपर्ने त्यो आफूसँग भएको चर्चा गर्नुहुँदै नेता पौडेलले देश बनाउन आफू प्रधानमन्त्री बन्न चाहेको प्रस्ट पार्नुभयो ।

सुशासन भयो भने देशको विकास हुन्छ, त्यसको सामर्थ्य मसँग छ नेता पौडेलले भन्नुभयो । कार्यक्रमअघि पुलिमराङस्थित सहिद पार्कमा रहेका सहिदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । सहिद धर्मध्वज गुरुङको प्रेरणाले आफू राजनीतिमा लागेको नेता पौडेलले बताउनुभयो ।