• १२ असोज २०८१, शनिबार

पुसमा ‘टुर दी पोखरा’

blog

रमेश पौडेल

पोखरा, मङ्सिर १७ गते  । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ साइकल सिटी पोखराको आयोजनामा छैटौँ संस्करणको ‘टुर दी पोखरा’ कार्यक्रम गरिने भएको छ। 

आउँदो पुस ७ देखि ९ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुन खेलाडीका लागि शनिबारदेखि आवेदन खुला हुने भएको छ। आवेदन दर्ता गर्न साइकल सिटी पोखराले तोकेको स्थान तथा माध्यमबाट व्यवस्था मिलाएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताउनुभयो। 

उहाँका अनुसार साइकल सिटीको अफिसियल फेसबुक पेज र त्यसैगरी साइकल ल्यान्ड पोखरा न्युरोड, चालिसे साइकल सेन्टर सिर्जनाचोक, तामा टुसा रेस्टुरेन्ट रामबजार, रानीपौवा पेट्रोल पम्प रानीपौवा, लुम्बिनी फोटो स्टुडियो जिरोकिलोमिटर, लान्द्रुक आयाल डिस्ट्रिब्युटर्स हरिचोकलगायतका स्थानबाट सहभागी खेलाडीले सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्। 

अघिल्ला दुई वर्ष कोरोनाका कारणले प्रभावित भई स्थगित भएको उक्त इभेन्टलाई यस वर्ष भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न आफूहरू विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरूसँग चरणबद्ध छलफलमा जुट्दै आएको संयोजक गोङ्गजुले जानकारी दिनुभयो। 

कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागी हुने भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताउनुभयो। टुर दी पोखराअन्तर्गत फ्रान्समा हुने साइकल टुरकै झल्को दिने गरी ७२ किलोमिटर दूरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी मन्दिर जोड्ने गरी यात्रा हुने भएको संयोजक गोङ्गजुले जनाउनुभयो। 

कम्तीमा एक दिन भए पनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान आफूहरूले सुरु गर्ने भन्दै उहाँले अब साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। पुस ७ गते हुने उक्त साइकल यात्रामा काठमाडौँदेखि देशका विभिन्न स्थानबाट सहभागी हुने भएको आयोजकको दाबी छ। पुस ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल ¥याली हुने भएको छ भने सोही दिनमै उक्त दान कार्यक्रमसमेत हुने भएको साइकल सिटी पोखराका पूर्वअध्यक्ष प्रकाश बज्राचार्यले बताउनुभयो। 

उक्त साइकल ¥यालीमा करिब एक हजार पाँच सय जना सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। पोखराको प्रदर्शनी केन्द्रबाट सुरु भई उक्त ¥याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रदर्शनी केन्द्रमै पुगेर समापन हुने भएको छ। 

टुर दी पोखराको पूर्वसन्ध्यामा पोखरामा पुस ६ गते पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको समितिका अध्यक्ष दीपक गोदारले बताउनुभयो। 

करिब २० किलोमिटर साइकल प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीले बताउनुभयो।