• ३ असार २०८१, सोमबार

समानुपातिकमै समावेशी प्रतिनिधित्वको भर

blog

काठमाडौँ, मङ्सिर १७ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ तीन निर्वाचन क्षेत्रको मतपरिणाम आउन मात्रै बाँकी छ । प्रत्यक्षतर्फको प्राप्त परिणाम बमोजिम १६२ निर्वाचन क्षेत्रमध्ये ९३ स्थानमा खसआर्य निर्वाचित भएका  छन् । परिणाम आएको निर्वाचन क्षेत्रमा ५७ प्रतिशत खसआर्य छन् । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्नेमा प्रत्यक्षतर्फ मात्र आठ जना निर्वाचित भएका छन् । जुन निर्वाचित भएकाको चार प्रतिशत मात्र हो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले प्रत्यक्षमा जे–जसरी निर्वाचित भए पनि राजनीतिक दलले बुझाएको बन्दसूचीबाट सम्बन्धित ‘क्लस्टर’को सङ्ख्या पु-याएर नै सङ्घीय संसद्मा प्रतिनिधित्व सुनिश्चित गरिने बताउनुभयो । 

उहाँले आयोगमा राजनीतिक दलले बुझाएको बन्दसूचीमा सबै ‘क्लस्टर’मा ५० प्रतिशत महिला उम्मेदवार रहेकाले ऐनले सुनिश्चित गरेको समावेशी आधार बन्दसूचीबाट सुनिश्चित गरिने बताउनुभयो । 

निर्वाचन परिणामबमोजिम आठ जना महिला निर्वाचित भएकोमा चार जना खसआर्य, दुई जना मधेशी र दुई जना आदिवासी जनजाति समावेशी समूहका छन् । प्रतिनिधि सभा सदस्य ऐनले उम्मेदवारको बन्दसूचीका लागि तोकेको समावेशी आधारमा थारू समुदायबाट ६.६ प्रतिशत र मुस्लिमबाट ४.४ प्रतिशत हुनुपर्नेछ ।