• १२ असोज २०८१, शनिबार

लामो पर्खाइपछि बाजुरामा आज साँझबाट मतगणना सुरु

blog

मतगणना तयारीका लागि सर्वदलीय बैठकमा सहभागी नेता तथा अन्य महानुभावहरु । तस्बिर : शेरबहादुर सार्की

प्रकाशविक्रम शाह/शेरबहादुर सार्की

बाजुरा, मङसिर १५ गते । बाजुरामा आजदेखि मतगणना सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले आज दिउँसो ३:३० देखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ढिलोगरी ५:४० बजेदेखि गणनाको काम सुरुभएको छ । 

बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार साँझदेखि मतगणनाको काम सुरु भएको हो । उहाँका अनुसार हिमाली गाउँपालिकाबाट गणनाको काम सुरु गरिएको छ । उहाँले मत गणनाको काम जिल्ला प्रशासन कार्यालय बाजुराको नवनिर्मित भवनमा भइरहेको बताउनुभयो ।  

मङ्सिर १४ गते निर्वाचन आयोगले बाजुरा र स्याङ्जा जिल्लामा मतगणना गर्ने निर्णय गरेसँगै बाजुरामा पनि आजदेखि गणनाको काम सुरु भएको छ । यसअघि नेकपा (एमाले) ले विभिन्न माग सम्बोधन हुनुपर्ने माग राख्दैआएको थियो । 

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टीलगायतका राजनीतिक दलहरूको सहमतिमा मतगणना सुरु गरिएको छ ।