• १२ चैत २०८२, बिहिबार

वडा सदस्यको निधनमा शोक बिदा

blog

निधन भएका वडा सदस्य ज्ञानबहादुर गोले । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, चैत १२ गते ।
मकवानपुरको बकैया गाउँपालिकाले वडा सदस्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिहीबार एक दिन शोक बिदा दिएको छ । गाउँपालिकाको फागुन ११ गतेको निर्णय अनुसार शोक बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलद्वारा हस्ताक्षरित सूचनामा पालिका तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा आकस्मिक बाहेकका सेवा बन्द रहने उल्लेख गर्नुभएको छ । यद्यपि, सञ्चालनमा रहेका विद्यालयस्तरीय परीक्षाहरू भने साविककै तालिका अनुसार सञ्चालन हुने जनाइएको छ ।

फागुन १० गते बकैया गाउँपालिका वडा नं. ११ का निर्वाचित वडा सदस्य ४२ वर्षीय ज्ञानबहादुर गोलेको करेन्ट लागेर निधन भएको थियो । बकैया–११,  पिपलडाँडा लेक निवासी गोले वडा कार्यालयको नियमित बैठकमा सहभागी हुन जाने क्रममा बाटोमा भुइँमा झरेको बिजुलीको तार हटाउने प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको थियो । गोले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले स्थानीय तहमा अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।