• १३ साउन २०८१, आइतबार

मधेश प्रदेश : मुख्यमन्त्री आकाङ्क्षीको लर्को

blog

मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय। तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, मङ्सिर १५ गते । मधेश प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सरकार नेतृत्वको चर्चा चल्न थालेको छ। प्रदेशमा प्रत्यक्षतर्फको मतगणनाअनुसार सत्ता गठबन्धन दलले सामान्य बहुमत प्राप्त गरेको छ। तर, दलको हिसाबमा नेकपा(एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। समानुपातिक मतको गणना भने जारी छ। समानुपातिक मत परिणामको आधारमा पाउने सङ्ख्या यकिन भइसकेको पछि मात्र पहिलो दल छुट्याउन सकिने छ।

प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेस १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सात, नेकपा (एकीकृत समाजवादी) चार र नेकपा (माओवादी केन्द्र) चार गरेर २८ सिट पुगेको छ। नेकपा एमाले– जनता समाजवादी पार्टी(जसपा) गठबन्धनमध्ये एमाले १५ र जसपा नौ गरेर २४ सिट पुगेको छ। यसरी हेर्दा प्रदेशमा सत्ता गठबन्धन बलियो अवस्थामा छ। प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरेर १०७ सिट सङ्ख्या छ। सरकार बनाउन सामान्य बहुमतको लागि कम्तीमा ५४ सिट सङ्ख्या आवश्यक छ। यसको लागि समानुपातिक मतगणनाको अन्तिम परिणामसम्म कुर्नुपर्ने हुन्छ। 

त्यसैगरी, पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टी छ र स्वतन्त्र छ गरेर १२ जना प्रदेश सभा सदस्य सरकार निर्माणका लागि निर्णायक हुने देखिन्छ। अहिलेसम्म स्वतन्त्र र जनमत पार्टी कतै खुलेका छैनन्। 

यता, प्रदेश सरकार कुन दलको नेतृत्वमा गठन गरिने वा हुनेमा समानुपातिकको परिणामलाई पर्खिरहेका छन्। तर, प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको एमाले र दोस्रो बनेको कांग्रेसभित्रका निर्वाचित प्रदेश सभा सदस्यमध्येका केहीको नाम मुख्यमन्त्री बन्ने चर्चा चलेको छ। एमालेका मधेश प्रदेशका सह इन्चार्ज सुमनराज प्याकुरेलले प्रदेशमा एमाले पहिलो पार्टी बनेको कारण नेतृत्व एमालेकै हुनु पर्ने दाबी गर्नुभएको छ। 

एमालेभित्र मुख्यमन्त्रीका लागि डा. सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ। त्यस्तै, नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेश सभा सदस्य कृष्णप्रसाद यादव रहेको बताउनुभयो। यादवकै नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको दाबी छ। कांग्रेसभित्र पनि रामसरोज यादव, विरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकाङ्क्षी हुनुहुन्छ। 

यस्तै, जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्यो भने वर्तमान मुख्यमन्त्री लालबाबु राउत फेरि नेतृत्व लिने सम्भावना कम देखिएको छ। सो पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीको रूपमा चर्चामा छ। 

यस प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेश सभा सदस्यका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्यमा एमालेले नौ, कांग्रेस सात, जसपा छ, लोसपा तीन, जनमत पार्टीले एक र स्वतन्त्र तीन, माओवादी केन्द्र एक, नेकपा (एकीकृत समाजवादी) पार्टी दुई सिट जितेको छ।