• ७ पुस २०८१, आइतबार

हुम्लाका कृषकलाई स्याउ बिक्रीको पिरलो

blog

बिक्री हुन नपाएपछि किसानले स्थानीय रुपमा भण्डारण गरेर राखेका स्याउ । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर १५ गते । स्याउ उत्पादन राम्रो भए पनि किसानलाई यस वर्ष बजारको (बिक्री) गर्ने पिरलो भएको छ । जिल्लामा सडक यातायात नजोडिएका कारण जिल्ला बाहिर निकासी गर्न नपाइने भएकाले  किसानलाई उत्पादन भएको स्याउ बिक्री गर्न समस्या भएको हो ।

सिमकोट गाउँपालिका –४ को बुराउसे गाउँका किसान यामबहादुर लामाले आफ्नो फार्ममा यस वर्ष स्याउ उत्पादन राम्रो भएको भए पनि बजार नपाएको बताउनुभयो । उहाँले तीन सय बोट लगाएकोमा एक सय बोटमा फलेको स्याउ १५० क्विन्टल उत्पादन भएको जानकारी दिनुभयो । 

स्याउ राम्रो उत्पादन भए पनि बजार र भण्डारण समस्याका कारण उत्पादित स्याउ बोरामा राख्नु परिरहेको गुनासो सुनाउनुभयो । केही स्याउ दैनिक डोकोमा बोकेर सिमकोट बजारमा लिएर उहाँले बिक्री गर्दै आउनुभएको छ भने केही स्याउ पशु बस्तुलाई काटेर दिने गर्नु परिरहेको बताउनुभयो । 

सर्केगार्ड गाउँपालिका –३ को उनापानी गाउँका दीपक फडेराले पनि स्याउ राम्रो उत्पादन भए पनि बजार नभएका कारण खेर जाने अवस्थामा रहेको बताउनुभयो । उहाँको पनि दुई सय क्विन्टल स्याउ उत्पादन भएको छ । गाउँमै भएका कारण पैदल यात्रुुहरुले फाट्टफुट्ट किन्ने गरे पनि धेरै स्याउ बाँकी रहेको छ ।


आधुनिक प्रविधिको भण्डारको पनि समस्या भएका कारण उहाँले स्थानीय प्रविधिबाट बाँकी स्याउ भण्डारण गरिरहनु भएको छ । उहाँले हालसम्म पन्ध्र क्विन्टल स्याउ कुहिएर खेर गएको गुनासो सुनाउँदै उत्पादन राम्रो भएर पनि बिक्री समस्या भोग्नु दुःखको भएको बताउनुभयो ।

त्यसैगरी साढे तीन सय बोटको स्याउ फर्म सञ्चालन गर्दै आउनुभएको सिमकोट गाउँपालिका –६ का किसान जयचन्द्र रोकायाले तीन सय क्विन्टल स्याउ उत्पादन भएकोमा हालसम्म पचास हजारको स्याउ बिक्री गर्न सकिएको बताउनुभयो । 

बजार नभए पनि स्याउ खेती गरेर पनि बेकार काम गरेको भान हुन थालेको बताउँदै सडक सञ्जाल नजोडिएकै कारण स्याउबाट किसान मनग्य आम्दानी गर्न नपाएको दुःखेसो पोख्नुभयो । 

कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यस्ता व्यावसायिक स्याउ खेती गर्ने किसान डेढ सयभन्दा बढी रहनुभएको छ । कार्यालयको सूचना अधिकारी धर्मेन्द्र अधिकारीले किसान समस्यामा परेको बताउनुभयो । हुम्लामा स्याउको बजार भनेको सिमकोट बजार भएको र अन्यत्र कतै बिक्री गर्न सकिने अवस्था नरहेको बताउनुभयो । 

यस वर्ष स्याउ कति उत्पादन भयो भन्ने विवरण कार्यालयले सङ्कलन गरिरहेको जनाएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन राम्रो रहेको निष्कर्ष कार्यालयले निकालेको छ । हुम्ला स्याउ बिक्री गर्ने वैज्ञानिक प्रणाली नभएर दानाको हिसाबले बिक्री गर्ने गरिन्छ । हाल प्रतिदाना दश रुपियाँमा बिक्री हुनेगरेको छ । हवाई उडान कम हुनु र भए पनि ढुवानी महँगो हुने भएका कारण किसानहरू हवाई मार्गबाट ढुवानी गर्ने आँट गर्नुभएको छैन ।