• १२ असोज २०८१, शनिबार

ठेकेदार र हाकिमको मिलेमतोले बक्राहा पुल सात वर्षदेखि अलपत्र 

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर १५ गते । सात वर्षयता ठुला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरिया बक्राहा खोलाको पुल यस पटक पनि चुनावी एजेन्डा बन्यो । संविधान सभा चुनावको बेला देखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ । तर,२०७२ सालमा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि बन्न सकेको छैन ।

मोरङको सुनवर्षी १ का केचना र जोगीधाप जोड्ने यो पुल बन्न नसक्दा त्यस क्षेत्रका किसानले सबैभन्दा धेरै सास्ती ब्योहार्नु परेको छ। खोला वारिपारि जग्गा हुने किसानले  खेत सम्म ट्याक्टर लान ल्याउन ८ किलोमिटर बाटो घुम्नुपर्छ । स्थानीय टीकाराम बस्नेतले भन्नुभयो, ४० मिटर लम्बाई र ११ मिटर चौडाइको पुल बन्ने भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका थियौँ । तर,७ वर्ष भयो । हाम्रो खुसी हराएको । उहाँले पुल नबन्दा ठुलो सास्ती ब्योहोर्नु परिरहेको बताउनुभयो । 

सुनवर्सी १ का भक्तबहादुर बस्नेतले भन्नुभयो, हरेक चुनावमा नेताहरू पुल बन्ने प्रतिबद्धता व्यक्त गर्छन् । यस वर्ष पनि पुल बनाइहाल्ने भने तर पुलका कामदारहरू दुईचार दिन काम गर्छन् र सम्पर्क विहीन हुन्छन् । तीन करोड ८५ लाख रुपियाँमा निलगिरी कन्स्ट्रक्सने निर्माण गर्ने भनिएको पुल ठेकदारको लापरबाहीले नबनेको स्थानीयको भनाई छ । टीकाराम बस्नेतले भन्नुभयो, ठेकदारले ५० प्रतिशत बढी रकम लिएपछि पुल अलपत्र बनाएर सम्पर्कमा आएका छैनन् । सम्बन्धित निकायले निर्माण कम्पनीलाई कारबाही गर्न नसक्नुले ठेकेदार र सडक कार्यालयको मिलेमतो भएको स्थानीयको आरोप छ । 

पुल समयमा नबन्दा पुलको दक्षिण तर्फको घरजग्गा उच्च जोखिममा परेको छ । रामचन्द्र बस्नेतको घर गत असारमा आएको बाढीले बगाउन लागेको छ । यता मोरङ २ (२)का प्रदेश सभा सदस्य लीला वल्लभ अधिकारीले आफूले पटक पटक संसद्मा यो पुलका विषयमा कुरा उठाएको बताउनु भयो । दोस्रो पटक निर्वाचित सांसद अधिकारीले ठेकदार कम्पनीको लापरबाहीले पुल नबनेको बताउँदै अब सरकार विहीनताको अन्त्य गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, विभागीय प्रमुख र ठेकदारलाई राखेर चाँडो भन्दा चाँडो काम सुरु गर्न दबाब दिनेछु । ठुला दलका नेताको आशीर्वाद पाएका ठेकदारहरूले देशैभर धेरै पुल अलपत्र पारेको अधिकारीको भनाई छ ।