• १३ पुस २०८१, शनिबार

डोटेली संस्कृतिमा (जाँत) जात्रा

blog

वैदिक सनातन धर्ममा सबै चाडपर्वको आआफ्नै महत्व तथा विशेषता छ । यस्ता चाडपर्वले हाम्रो संस्कार संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता चाडपर्वले संस्कार र परम्परालाई सुरक्षित राख्दछ । जात्रालाई सुदूरपश्चिमतिर मुख्य रूपमा डोटेली संस्कृतिमा जाँत भन्ने गरिन्छ । जाँत सुदूरपश्चिम प्रदेशतिरको देव पूजनको मौलिक पर्व हो । कुनै देवताको मन्दिरमा वार्षिक रूपमा पूजाआजाका लागि उल्लेख्य उपस्थितिमा लाग्ने ठूलो मेला, जात्रालाई जाँत भनिन्छ । देवीदेवताको पूजा निश्चित तिथि, दिनमा गरिन्छ । तिथि गणनामा कुनै समय ठीक त्यसै दिन हुन्छ भने कुनै समय डाडाँगन्तको हिसाबले जाँतको दिन तय हुन्छ । जाँत हुने निश्चित दिनलाई हुलो भन्ने गरिन्छ । सामान्यतया पूजा हुलो पर्वमा गर्ने गरिन्छ । कहीँ देवताका धामीले दिएको दिनमा पूजा लाग्ने गर्छ भने कहीँ तिथि सुरु हँुदा जाँत हुन्छ, जसलाई लाग्दी र कहीँ तिथि सकिँदा जात हुन्छ जसलाई भाग्दी भनेर भन्ने गरिन्छ । उदयघडीमा पूजाको प्रचलन पनि छ । पूजा हुने तिथि सूर्योदयसँगै भएमा त्यसलाई उदयतिथि भनिन्छ । पूजा गर्दा अर्को तिथि हुन सक्छ जसलाई उप्रान्त भन्ने गरिन्छ । लोक परम्पराअनुसार हुने देवीदेवताको पर्व पूजा हो जाँत । लौकिक विधि, रीत, परम्परा अनुरूप र वैदिक मन्त्रोच्चारणसहित विशिष्ठ पूजा विधिमा पूजा गरिन्छ । लोक मान्यता, प्रचलित रीत परम्परालाई विशेष जोड दिइन्छ । लोकाचार, कुलाचारलाई पनि जोड दिइन्छ । लौकिक विधिमा सम्पन्न हुने देवीदेवताको पर्व पूजा जाँत हो । जाँत कुलदेवको पूजा हो, पूजाका लागि गरिने साधना र उपासना हो । साधना उपासनासँगै राम रमाइलो गर्ने गरिन्छ । त्यसैले जाँतलाई राम हेर्ने पनि भन्दछन् । वर्षमा चार नवरात्रिमा देवीको उपासना गरिन्छ । हरेक देवालयमा नौरथा बसेर देवीको उपासना गरिन्छ । चार नवरात्रिमध्ये वसन्त ऋतुको र शरदीय नवरात्रिलाई विशेष मानिन्छ । केही देवालयमा त्यसै बेला पनि जात्रा लाग्ने गर्छ । चैत्रको नवरात्रिपछि नयाँ अन्न न्वागी चढाउन बिषुमा पूजा लाग्छ । शरदीय नवरात्रिपछि विशेष पूजा लाग्छ । पुरुषार्थ प्राप्ति तथा जन्म, मृत्यु, जरा त्रिबन्धबाट मुक्त र देवऋणबाट त्राण पाउन देव पूजन गरिन्छ । मानव मन निकै चञ्चल हुन्छ, मनलाई एकाकार गर्न आत्मशान्तिका लागि सनातनदेखि चलिआएको देव पूजनको लौकिक पर्व हो जाँत ।

जाँतमा देव दर्शन, देव प्रतीक देउरो दर्शन, देवगाथाको प्रदर्शन विभिन्न सांस्कृतिक भावबाट देवकथा, गाथाको चर्चा गरिन्छ । जाँत एउटा लोककृत हो जसमा देव साधना र आराधना गरिन्छ । देव साधना देव पूजासँगै आत्मीय मिलनको केन्द्र पनि हो । जाँतमा आफन्तसँग भेटघाट सद्भावको साटासाट हुन्छ । जाँतको भाव गहिरो छ । कुलदेवताको पूजा गर्न निकै दिनदेखि चोखो बसी करियाले तोकिएका कृत सम्पन्न गर्छन् । अन्य मानिस जतेरु भई राम हेर्न आउँछन् । जाँत दिनमा भए दिसेडी र राति भए रतेडी भन्ने गरिन्छ । जाँत कहीँ दिसेडी हुन्छ, कहीँ रतेडी भने कहीँ रतेडी दिसेडी दुवै पनि हुन्छ । मेला पर्व, उत्सवका रूपमा जाँतलाई पनि लिन सकिन्छ । आपसी सद्भावको साटासाट, भलाकुसारी, भेटघाट गर्ने अवसर पनि हो । जाँतमा हरेकको आआफ्नै भूमिका जिम्मेवारी हुन्छन् । प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिरहेका हुन्छन् । पण्डाले गातमा पूजा लगाउने, होम गर्न तोकिएका पण्डितले होम गर्ने, पाठ गर्ने जिम्मेवारी प्राप्त पण्डितबाट पाठ गरिन्छ । निश्चित ठाउँबाट पूजपोखल (पूजा सामग्री) ल्याइएको हुन्छ । पूजपोखलमा चामल, पीठो, जौ, तील, घिउ, धूप, दीपका बाती सङ्कलन गरिन्छ । सङ्कलित पूजपोखलबाट पूजा सामग्री तयार गरी आम नागरिकका तर्फबाट पूजा गरिन्छ ।

जाँतमा पूजाका छुट्टाछुट्टै विधि प्रक्रिया हुन्छन् । कहीँ खीरको नैवेद्य, कही खिचडीको, कहीँ शुद्ध चामल भने कहीँ चामलमा मेवा मिष्ठान्न, दूध, घिउ मिसाएर पूजा लगाइन्छ । केही स्थानमा बलिमार्फत रगत, मासुसँगै अन्नहरूको पूजा लगाइन्छ । बलि चढाउँदा बोका, राँगा, कुखुरा, हाँसको प्रयोग गरिन्छ । कुनै मन्दिरमा राति, कुनैमा दिउँसो, कहीँ तिथि सुरु हुँदा, कहीँ तिथि सकिने समयमा पूजा लगाउने गरिन्छ । बलि पनि विभिन्न किसिमका गरिन्छन् । कालोबोका (कल्पट्ठे), सेतोबोका सेतपट्ठे, सस्याकरो, माइत्या, गौड्या, बटुल्या आदि नाम दिइएका हुन्छन् । बलिलाई न्यूनीकरण गर्न वैकल्पिक रूपमा नारिवल फलफूललाई प्रतीक बनाई बलि दिने प्रचलन पनि रहेको छ ।

देउरो

जाँतको मुख्य आकर्षक देउरो हो । सामान्यतया देवपूजाका सामग्री वीर योद्धाका आयुध जो देवता तथा देव गणले प्रयोगमा ल्याउँथे ती सबै देव सामग्री (भाणिकुणी), धाजा नेजा, बाजागाजासहित जयजयकार गर्दै देउता धामीले नेतृत्व लिएर भडारघरबाट देवालय पु¥याउने झाँकी हो देउरो । शिवालयका देउरामा गाज पनि हुन्छन् । गाजलाई चल मन्दिर पनि भनिन्छ । मोटो रातो कपडाबाट मन्दिरकै स्वरूपमा बनाइएको हुन्छ । टुप्पोमा गजुर बीचमा लट्टोले टेक्ने र किनारमा तुना तान्न मिल्नेगरी मन्दिरजस्तै हुने गरी गाज बनाइएको हुन्छ । निश्चित स्थानबाट गाज फिजाइन्छ । गाजभित्रै बहुमूल्य रत्नसहित देवताका भाणिकुणी राख्ने गरिन्छ । देउराको महìवपूर्ण भूमिका अगेवानी धामीले निर्वाह गरेको हुन्छन् । विभिन्न ताल र सुरमा बाजा बजाई धामी आफ्नो शक्ति बढाउँछन् । प्राप्त शक्तिको बलमा बरदान पनि दिन्छन् । शिलालाई अवोल देवता मानिन्छ भने धामीलाई शिलाको बोल स्वरूप मान्छन् । शिवालयको प्रवक्ताको भूमिका निर्वाह देवगणले गरेका हुन्छन् । देवगणमा अधिकांश बरदानै रहेका हुन्छन् ।

गाउँका सबै मानिस (भणार) देउघरमा जम्मा हुन्छन् । बाजा बजाउनेहरूले विभिन्न प्रकार बाजा बजाउने, जिम्मेवारी तोकिएअनुसारका कार्य गर्नेले आआफ्नो भूमिका निर्वाह गर्छन् । गाजसँगै डोला पनि हुन्छ, त्यस्तै छाता (छत्र) चामर र अन्य आयुधहरू बोकी अगेवानी धामीको अनुमतिमा देउरो अगाडि बढ्छ । जात्रा हुने देवालयमा देउरो पुग्छ । भिन्न भिन्न बस्तीबाट अलग अलग देउरा ल्याइन्छन् । एउटा जेठो देउरो मानिन्छ । जेठो देउरोले बाँकी देउराको स्वागत गर्छन्, जसलाई देउरो पर्छने भनिन्छ । देउरासँगै चौलो पनि हुन्छन् । कुनै जातमा चौलो मात्र हुन्छ भने कुनै जात्रमा चौलोमा–चौलो मिलाएर देउरो बनाइन्छ । भोक्कर, बिगुल, तरबार, छडी, सुनजनै, सुन, चाँदी, हीरा, मोती, बहुमूल्य रत्न पनि देउरामा लगिएको हुन्छ । आयुध बहुमूल्य रत्न, गाज, डोला आदि दर्शनलाई देउरो दर्शन भनिन्छ । देउराको दर्शनसँगै फाग मङ्गल गाउँदै अक्षता फूलबाट पूजा पनि गरिन्छ । देउरो, चौलोमा देवताको जयजयकार गरिएको हुन्छ । चौलो थरीथरीका हुन्छन् । कहीँ मेला अवधि चौलोको नै महìव रहेको हुन्छ भने कहीँ रोचक झलकका रूपमा चौलो देखाइन्छ । कहीँ चौलो देउरोमा समावेश भएर जान्छन् । देवीको देउरोमा छुट्टै किसिमको गाज देवीका रूपमा सिँगारिएर प्रदर्शन गरिन्छ । भणारबाट देउरो लगेर मन्दिर पुग्दासम्म गाज नचाएर, गौदान, अवसेकसँगै शिवालय दर्शन गर्दछन् ।

पूजा

जाँतको बाहिरी चहल–पहलसँगै देव पूजन पनि मुख्य हो । मन्दिर परिसरमा प्रवेशसँगै जल, धुप, दीप, ऋतुफल फूल आदि चढाएर दर्शन गर्दछन् । टिकैतीले पूजा व्यवस्थापन गर्दछन् । पूजपोखल जम्मा गरिन्छ । गणेश, कलश पूजन गरी पूजा प्रक्रिया अगाडि बढाइन्छ । जिम्मेवारी तोकिएको हुन्छ । अलिखित नियम बनाइएको हुन्छ । आआफ्नो जिम्मेवारी अनुरूपको भूमिका निर्वाह गरेका हुन्छन् । पण्डाले गातमा पूजा लगाउँछन् । होम गर्ने ब्राह्मणले बाइसखाममा होम गर्दछन् । होम गर्दैगर्दा देवतामा चढाउन ल्याएका सामग्री चढाउन अभिषेक गरिन्छ । गौदान गरिन्छ । गाई खाम बाध्नेले बाइस खाममा बाँधेर चढाएका हुन्छन् । त्योसँगै विशिष्ठ पूजा विधि तथा लौकिक मान्यता रीत परम्पराअनुसार पूजा गरिन्छ । गातमा पूजा सकिएसँंगै पूर्णाहुती गरिन्छ । पूर्णाहुती गर्दा तेलियालाई तेल, कालाखामलाई तिलक लगाउँदै पुष्पाञ्जली गर्दै पूजा प्रक्रिया पूरा गरिन्छ । मन्दिरभित्र पूजा चलिरहँदा जतेरुहरू देउडा खेल्ने गर्छन् भने बूढापाका महिलाहरू फाग गाइरहेका हुन्छन् । पूर्णाहुती गर्दागर्दै धामी कामेर देववाणी स्वरूप वरदान (भाव) दिन्छन् । विविध पाठ गर्ने गरिन्छ । शान्तिकाध्याय, रुद्री, चण्डी पाठ गराइन्छ । रुद्राभिषेक गर्ने गरिन्छ । सत्यनारायणको पूजा, कथा पाठ गर्ने गरिन्छ ।

देउडा, फाग

जाँत देव पूजनसँगै मनोरञ्जन राम रमाइलो पनि हो । रमाइलो मनोरञ्जनका लागि देउडा खेल्दछन् । डोटेली समाजको विशिष्ट संस्कृति हो देउडा (दिउणी) देउडामा दोहोरी चल्छ । रातभर पनि खेल्ने गरिन्छ । विभिन्न बस्ती–बस्तीबाट आएका जतेरुले गीतमा नयाँ भाखा ल्याइएका हुन्छन् । देउडा महिला, पुरुष छुट्टा–छुट्टै खेल्छन् । जातमा महिलाहरू सामूहिक रूपमा फाग गाउँछन् । फाग देवार्चना भक्तिभाव देवगाथा, वीर गाथालाई लयात्मक रूपमा गाइन्छ । उगाड उगाड गोसाई सुनैका केवाड, सगुन दे सरस्वती लगन दे बृहस्पति, जस्ता फाग सामूहिक रूपमा गाइन्छन् । फाग लौकिक देवस्तुति पनि हुन । फागहरू निकै मौलिक मानिन्छ । जाँतमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिन्छन् । भजन, कीर्तन पनि गरिएका हुन्छन् । जाँत एक किसिमको मेला पनि हो । मेलाका हरेक गतिविधि जाँतमा गरिएका हुन्छन् ।

भेटघाट तथा सद्भाव

जाँतलाई टाढा–टाढा बस्ने आफन्तसँग भेटको अवसरका रूपमा पनि मान्छन् । कुलदेवताको पूजामा आएका आफन्तको बृहत् जमघट हुन्छ । सामूहिक खानपिन, घरमा तयार गरिएका परम्परागत परिकार एकआपसमा साटासाट गरिनुले सद्भावमा नयाँपन थपिन्छ । प्रत्येक जाँतको आफ्नो छुट्टै विशेषता हुन्छ । स्थानीय उत्पादनलाई सौगातका रूपमा आफन्तलाई उपहार दिने गरिन्छ आल र करिया शिवालयको शिरोभाग र पदोभागको चर्चा पाइन्छ । शिखर पहाडलाई शिरो तथा त्यसैको तल्लो तट क्षेत्रमा पदभाग मानिन्छ । शिरदेखि पाउसम्म रहेको क्षेत्रलाई देवताको आल भन्ने गरिन्छ । आलभरिका बासिन्दाले पूजासामग्री जाँतमा लैजानु पर्छ । 

पाँच मुट्ठी चामल, एक मानो घिउ जसलाई पोखल र जौ, तिल, धूप, दीप, फूलपाती, जनै, ऋतुफल आदिलाई पुज्य सामग्री गरी पूजपोखल लगिन्छ । कुनै देवालयको क्षेत्र सीमित हुन्छ भने कसैको विस्तृत हुन्छ । विस्तृत क्षेत्र रहेका देवालयका गाउँ तोकिएका हुन्छन् । जस्तै भागेश्वरका लागि बाइस फाट कुमाउ, सोलै सय डोटी, सोल सय सोराडकी सिक उठाउने गरिन्छ । देवताको आललाई विशेष महìव दिइन्छ । आलमा सम्बन्धित देवताको नामबाट देव कार्य गरिन्छ । सोको आलमा बस्नेहरू आफूलाई देवताको तेलिया भन्ने गर्दछन् । पालिने वस्तुभाउलाई देवतासँगै जोडिन्छ । जसलाई केर भन्ने गरिन्छ । आफ्नो कुलदेवताको केरको गाईहरू मात्र पाल्ने गरिन्छ । आलमा बस्नेहरू नै करिया पनि हुन्छन् । देवताको पूजाको विभिन्न भूमिका रही कार्य गर्ने व्यक्तिलाई करिया भन्ने गरिन्छ । पण्डा, पुजारी, धामी, भडरिया, टिकैती, आदि महìवपूर्ण करिया हुन्छन् भने केही आंशिक रूपमा काम गर्ने करिया भनिन्छ । मूल करियामा सुतक हुन गए पूजा रोकिन पनि सक्छ । ठूला देवालयमा वैकल्पिक करिया तोकेका हुन्छन् । मूल करिया अनुपस्थित रहे वैकल्पिकबाट पूजा गराइन्छ । कुनै ठाउँ वैकल्पिकले पूजा लगाउने पद्धतिलाई पातली पूजा पनि भनिन्छ । रीत परम्परा अनुसार हरेकले आफ्नो जिम्मेवारीको कार्य गर्दछन् । जिम्मेवारी तोकिएको कार्य गर्नेलाई नै करिया भनिएको हुन्छ । करिया पूजा गर्ने मात्र होइन अन्य कार्यको जिम्मेवारी करियालाई तोकिएको हुन्छ । बाजा बजाउने पनि फरक फरक भूमिकामा रहेका हुन्छन् । ढोल बजाउने ढोली, दमाह बजाउने दमाई, भेरी बजाउने भेरीकार, आदि भनिन्छ । बाजाका अनेक ताल हुन्छन् बडाई, धेउल, घाई, नवदी, भडाउको तालमा बजाइन्छन् । बिगुल, भोक्कर, रुइसिङ आदि पनि बजाइन्छन् । देमाणौका दाइन दमाउ वडाल भोक्कर भनी निकै प्रचलित छन् । डोल्याले डोली बोक्दछन् । आलभरिका बासिन्दाको देवता पूजा गर्न जानु अनिवार्य हुन्छ भने अरू मानिस राम हेर्न जाने गर्दछन् ।

धामी

जाँतमा धामीको निकै महत्वपूर्ण भूमिका रहेकोे हुन्छ । धामीहरूलाई वरदानौ र स्थानीय गरी छुट्याइएको हुन्छ । दानौहरू कुरुक्षेत्रको युद्धमा मारिएका महारथीहरू जसले स्वर्ग जान नपाएकालाई शिवालयका अगेवानी भई पूजनीय हुने वर पाएका थिए । तिनै भगवान् कृष्णबाट वर पाएका वरदानौ पूजनीय शिव गण भएका छन् । तिनै वरदानौ शिवालयका द्वारपाल, अगेवानी भएका छन् । वरदानौका रूपमा शिलाका तर्फबाट बोल देवताका रूपमा वरदानौका धामी रहेका हुन्छन् । अन्य धामी, पिजासका धामीहरू दानौलाई गुरु भन्दछन् । जाँतमा धामीको भूमिका निकै महìवपूर्ण हुन्छ । बोल देवता भनी भन्दछन् । देवस्थलमा भएका शिलाको प्रवक्ताका रूपमा धामीलाई लिइएको हुन्छ । धामीहरू बाजाको तालमा नाच लगाउँछन् । रीत बताउने, रीतअनुसार चलाउने, कहीँ केहीँ अप्ठ्यारो भए समाधान गर्ने कार्य धामीले गर्दछन् । जसलाई पञ्जनी भनिन्छ । जातमा मात्र होइन खली, जागर, देउपुछाईमा पनि धामीको नै काम हुन्छ ।

भणार (भण्डार)

देवताका सबै किसिमका सामग्री राखिने घरलाई भणार (भण्डार) भनिन्छ । भण्डारमा मन्दिरमा चढाइएका सबै सामग्री सुरक्षित राखिन्छन् । भण्डार घरलाई देउँघर पनि भन्दछन् । देउँघरबाट देउरो निकालिन्छ । भण्डारमा बहुमूल्य रत्न पनि राखिन्छन् । बहुमुल्य सामग्री राखिने वाकसलाई प्याउलो भनिन्छ । देवता आयुधहरू, निसान, बाजासामग्री, गाँज डोला आदि सामग्री सुरक्षित राखिन्छन् । भण्डारको जिम्मा पाएका व्यक्तिलाई भणारी भनिन्छ ।

जात्रा सबैतिर हुन्छन् । पर्व, मेला, जात्राहरू हरेक ठाउँमा हुन्छन् । तर जात्रा प्रकृतिकै जाँत सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति पनि हो । उत्सव, पर्व, जात्रा, मेलामा जस्तै जाँतमा स्थानीय उत्पादनको बजार पनि लाग्दछ । जाँतको छुट्टै पहिचान रहेको छ, अति नै मौलिकता रहेको पाइन्छ ।

रतेडी, दिसेडी

कुनै मन्दिरमा रात्रिकालीन समयमा पूजा लाग्ने भएमा रतेडी र दिउँसो पूजा लाग्ने भए दिसेडी भन्ने गरिन्छ । देवताहरूलाई विभिन्न स्वरूपमा मान्ने गरिन्छ । दिव्य स्वरूप र मत्र्य स्वरूपको पनि चर्चा गरिन्छ । पूजा प्रक्रियामा इन्द्रादी देवताको पूजा गरिन्छ । इन्द्रादी देवतालाई दिव्य देव मानिन्छ । त्यस्तै मत्र्यलोकमा जन्म लिई देवमय स्वरूप प्राप्त देवताहरू मत्र्य स्वरूप मानिन्छ । त्यसैमा निसाचरहरू दानवहरूले पनि देवमय स्वरूप पाएको मान्यता छ । निसाचरहरू रात्रिकालमा विचरण गर्दछन् भन्ने मान्यता छ । देवमय स्वरूप प्राप्त दानौको पूजा रात्रिमा गर्ने गरिन्छ । जुन मन्दिरमा कुनै न कुनै रूपमा दानवको हुने परिस्थिति रहेमा रात्रिकालीन पूजा गरिन्छ । तीर्थ, देवस्थलमा एकरात बस्नुपर्छ भन्ने मान्यता पनि छ । देवस्थलमा पुजन प्रक्रियाका लागि एक रात बस्दा रतेडी जात्रा नै हुन जान्छ । भण्डारबाट निकालेको सामग्री भण्डारमा नै नफर्काउँदासम्म हेरचाह र सुरक्षा गर्नुपर्ने भएकाले पनि रात्रिकालीन बसाइ बनेको हुन सक्छ । जाग्रामलाई साधना मानिन्छ । रात र जाग्राम मनाइने प्रक्रियाले रतिडी जात्रा भएको हुन सक्छ ।

परशुराम–१२, डडेल्धुरा