• १२ साउन २०८१, शनिबार

इङ्ग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा प्रवेश

blog

गोल गरेपछि खुशी मनाउँदै इङ्ग्ल्यान्डका मार्कुस रासफोर्ड । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १४ गते । इङ्ग्ल्यान्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हरायो । अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले स्तब्ध बनायो । 


इङ्ग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । अहमद बिन अली स्टेडियममा भएको एकपक्षीय खेलमा इङ्ग्ल्यान्डलाई जिताउन मार्कुस रासफोर्डले दुई गोल गर्नुभयो । अर्को गोल फिल फोडेनले थप्नुभएको थियो ।


दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा रासफोर्डले ५०अ‍ौं मिनेटमा फ्रिकिकमा गोल गर्दै इङ्ग्ल्यान्डको उत्साह जगाउनुभयो । रासफोर्डको करिव २५ यार्ड लामो प्रहारले सोझै जाली चुकेको थियो । एक मिनेट लगत्यै इङ्ग्ल्यान्डले अग्रता दोब्बर बनायो ।


फोडेनले ५१औं मिनेटमा ह्यारी केनको पासमा अनमार्क गोल गर्दै इङ्ग्ल्यान्डलाई बलियो बनाउनुभयो । ६८अ‍ौं मिनेटमा रासफोर्डले काल्भिन फिलिप्सको लामो पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई सजिलै जिताउनुभयो । 

यसैगरी अल थुमामा स्टेडियममा भएको समूहको अर्को खेलमा अमेरिकालाई जिताउन क्रिस्टियन पुलिसिसले निर्णायक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा पुलिसिसले ३८औं मिनेटमा सर्जिनो डेस्टको पासमा गरेको गोल निर्णायक बनेको थियो ।


औसत बल पोसेसन राखेको इरानको गोल फर्काउने सपना अन्तिम समयसम्म पूरा भएन । हारसँगै इरान विश्वकपबाट बाहिरियो । यसस समूहको शीर्षस्थानमा रहेको इङ्ग्ल्यान्डले अपराजित रहँदै सात अंक बनायो ।

उपविजेता अमेरिकाले पाँच अंक बनायो । तेस्रो स्थानमा रहेको इरानले तीन र अन्तिममा रहेको वेल्स एक अंक जोड्दै विश्वकपबाट बाहिरियो । एजेन्सी