• ५ चैत २०८२, बिहिबार

विकासले नचिनेको गाउँ

blog

गोकर्ण दयाल 

बैतडी, चैत ५ गते । राज्यको आँखा नपुग्दा यहाँको एक वडाका सात वटा गाउँमा अहिलेसम्म बाटोघाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा र सञ्चार जस्ता आधारभूत सेवा नपुग्दा गाँवै बिरानो बनेको छ । 

डिलासैनी गाउँपालिका–२ का सेला, गन्ना, बनरिगाउँ, गोगने, अङ्ग्रेला, भेरेगाडा, कोपडे गाउँमा अहिलेसम्म विकासका सामान्य पूर्वाधार पनि पुग्न सकेको छैन । यहाँ एक गाउँबाट अर्काे गाउँ पुग्न हिँड्ने बाटो छैन । बिजुली नहुँदा झरो र टुकीकै भर पर्नु परेको छ । खोला तर्ने पुल छैन । विद्यालय जाने बाटो नहुँदा विद्यार्थीलाई मुस्किल हुने गरेको स्थानीय बहादुर भण्डारीले पीडा सुनाउनुभयो । 

अङ्ग्रेलामा रहेको डाँडाबाग आधारभूत विद्यालय पुग्न भेरेगाडाका विद्यार्थीलाई हिँड्न मुस्किल हुने गरेको छ । विद्यालय पुग्न बालबालिकालाई भीरको बाटो हिँडेर एकतर्फी दुई घण्टा समय लाग्ने गरेको उहाँले गुनासो पोख्नुभयो । स्थानीय गन्निगाडमा रहेको पुल पहिरोले भाँचिएपछि बर्खामा खोलावारि र पारिको गाउँ ओहोरदोहोर बन्द हुने गरेको छ । 

करिब दुई सय वर्षदेखि बसोवास हुँदै आएको गाउँमा अहिलेसम्म राज्यको आँखा नपुग्दा सामान्य आधारभूत विकास पुग्न नसकेको स्थानीय अगुवा लोकेन्द्र राना क्षेत्रीले बताउनुभयो । यहाँका मानिसलाई नुन तेल जस्ता दैनिक उपभोग्य सामग्री लिन दुई घण्टा पैदल हिँडेर गोकुलेश्वर बजार झर्नु पर्छ । गाउँमा अहिलेसम्म सडक बिजुली, पानी, बाटोघाटो नपुग्दा यहाँका अधिकांश मानिसको दिनचर्या कष्टकर बनेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारसँग विकासका सामान्य पूर्वाधार निर्माणका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ । 

यहाँको दुःखकष्टबारे गाउँपालिका उपाध्यक्ष भगीरथ बोहराले भूगोल कठिन भएकाले सडक पु¥याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक खन्न त पालिकाकै डोजर थियो तर त्यहाँ सडक निर्माण गर्दा पहिरो जाने सम्भावना छ । त्यसैले पैदल बाटो बनाउने काम गर्दै छौँ । यो वर्ष खानेपानी योजना पनि लागु हुँदै छ । बिजुलीका लागि पहल भइरहेको छ ।”

गाउँमा अहिलेसम्म सञ्चार सुविधा नपुगेको विषयमा उहाँले नेपाल टेलिकमको टावर बने पनि बिजुली नभएका कारण सञ्चालन नहुँदा गाउँमा फोन नलाग्ने समस्या रहेको बताउनुभयो । यहाँका स्थानीय बासिन्दा फोन गर्न पनि गाउँबाट टाढा अग्लो डाँडातिर जाने गरेका छन् ।