• ५ चैत २०८२, बिहिबार

वडा कार्यालय भवन निर्माण कार्य सुरु

blog

लहान नगरपालिका वडा नं.२४ को वडा कार्यालय भवन निर्माण कार्य सुरु गर्न लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी भूमि पूजामा सहभागी हुँदै। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, चैत ५ गते ।
लहान नगरपालिका वडा नं. २४ मा वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको छ। वडावासीहरूको दैनिक प्रशासनिक कार्य सञ्चालन सहज बनाउन लहान नगरपालिकाले वडा कार्यालय नभएका वडाहरूमा भवन निर्माण कार्यलाई तीव्रता दिएको हो।

हालसम्म १९ वटा वडा कार्यालय निर्माण भइसकेका छन् भने बाँकी पाँच वटा वडाका कार्यालय भवनहरू यसै वर्षभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइएको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. १, १३, १६ र २४ का भवन निर्माण कार्य यसै वर्ष सम्पन्न गरिनेछ। साथै, वडा नं. ६ को कार्यालय भने सहरी क्षेत्रमा रहेको व्यापारिक कम्प्लेक्स भवनमै सञ्चालन भइरहेको छ।

सहरी क्षेत्रबाट करिब १० किलोमिटर टाढा पर्ने उत्तरी तथा पश्चिमी ग्रामीण भेगअन्तर्गत पर्ने वडा नं. २४ मा करिब पाँच हजार स्थानीयवासीहरूले सेवा पाउनेछन्। मल्हन गाउँमा निर्माण हुने उक्त वडा कार्यालय भवन आगामी २०८३ माघ १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल ५९ लाख २५ हजार २२२.८१ रुपियाँ लागतमा एसपी कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ।

लहान नगरपालिकाको सहरी क्षेत्रबाट टाढा रहेको र उच्च जनसङ्ख्या भएको यस वडामा वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माणसँगै सहरी क्षेत्रसँग जोड्न सर्रे खोलामा पुल निर्माण कार्यसमेत भइरहेको वडाध्यक्ष रासलाल रायले बताउनुभयो। साथै, पिच सडक निर्माण कार्यलाई पनि प्राथमिकतामा राखिएको उहाँले स्पष्ट पार्नुभयो।

“पुल निर्माणसँगै सडक निर्माण सम्पन्न भए लगत्तै मानिकदह पर्यटकीय स्थलको विकास हुनेछ र कृषकहरूले गर्ने तरकारी खेतीमा समेत सकारात्मक परिवर्तन आउनेछ,” वडाध्यक्ष रायले भन्नुभयो।