• १३ असोज २०८१, आइतबार

अदालतबाट दोषी ठहर पुजारी २७ वर्षपछि पक्राउ

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङसिर १० गते । चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एकजना व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतबाट २०५२ पुस २५ गतेको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेका व्यक्ति पक्राउ परेका हुन् ।

विगत २७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भएको थियो । साबिक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ बस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । 

पक्राउ पछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

९ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ 

यता सवारी ज्यान मुद्दामा कैद ठहर भई ९ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतको २०७० माघ ७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई विगत ९ वर्षदेखि लुकिछिपी बसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।