• १३ पुस २०८१, शनिबार

छेपेखोलाले बनाएको त्रासदी

blog

पहाडी बाटोमा एकनासले गुडिरहेको थियो हाम्रो जिप । हामी सात जना स्रष्टाहरू खोटाङको दिक्तेलबाट भोजपुरतिर गइरहेका थियौँ । ठाउँठाउँमा पैह्रो गएर बाटोमा हिलोेमाटो बगिरहेको थियो । हाम्रो गुरुजी भने अलिकति पनि नडराईकन जिप चलाइरहेका थिए । हाम्रो भने ओठतालु सुकिसकेको थियो । कोही कसैसँग बोल्न सकिरहेका थिएनौँ । कोही अगाडिको बाटोतिर हेरिहेका थिए । कोही हिलाम्मे बाटोतिर । कोही चर्कोसँग परिरहेको पानीमा ध्यान दिइरहेका थिए । कोही सडकछेउको भीर हेरेर डराइरहेका थिए । जिपको अलिकति मात्र पनि नियन्त्रण बिग्रियो भने सिद्धिन्थ्यौैँ सबैजना एकैसाथ । यात्रा हुनसम्मको त्रासदी बनिरहेको थियो । 

गुरुजीले ‘अब राम्रोसँग समाउनु है’ भन्न थालेपछि हामी शिथिल हुन्थ्यौँ । सबैका छातीभित्रको मुटु जोडजोडले ढुकढुकिन थाल्दथ्यो । त्यसबेला सुन्ने गरेर त कसैले पनि भगवान्लाई पुकारेको सुनिन्थेन । तर धेरैले सुरक्षित यात्राका लागि मनमनै प्रार्थना नै गरिरहेजस्तो लाग्थ्यो । यो चाहेर वा नचाहेर हुने कुरा होइन रहेछ । यस्तै अप्ठ्यारोमा पर्दा स्वतः सम्झनामा आइहाल्दोरहेछ भगवान् । कसैले नदेखेको, नभेटेकाले नै हुनसक्छ अप्ठ्यारो पर्दाको आशा बनेको । यस मामलामा म कहिले कट्टर भइनँ र नास्तिक पनि । यतिखेर ज्यान नै कतिखेर के हुने भन्ने डरमर्दो भइरहेको बेला भर लिने भनेकै भगवान्कै होजस्तो पनि लाग्छ । 

पैह्रो गएर ठाउँठाउँका बाटो हिलाम्मे भएका छन् । हिलोको दलदल नै छ बाटोभरि । यस्तोे अप्ठ्यारो बाटो उकालो ठाउँमा नै धेरै परेका छन् । यस्तो ठाउँमा गाडी विस्तारै लैजान मिल्दैन । हिलोमा फसियो भने निकाल्नलाई अर्काे महाभारत सुरु हुन्छ । त्यसैले जतिसक्यो जोडले कुदाउनैपर्ने हुन्छ । यस्तो ठाउँ आउनासाथ गोविन्दले निराश भएजस्तै गरेर भन्थ्यो, ‘बेस्सरी समात्नु है सबैजनाले ।’ 

यस्तै हिले उकालो आउनासाथ हाम्रो सातो जाने गर्दथ्यो । किनभने जिप अनियन्त्रित भएर दायाँबायाँ गर्दै चिप्लेटी खेल्नथाल्यो । एक्सिलेटर जोडले दबाइरहेको बेला गाडी खासै नियन्त्रणमा हुँदैन थियो । तलमाथि केही भइहाल्यो भने ? एकातिर भए त डाँडोमा ठोकिएर रोकिएला तर अर्कोतिर रोकिने केही पनि छैन । मात्र भीर छ । निकै तलसम्म देखिने भीर । अनि त्यसकै नजिकनजिक हुँदै गाडी नाच्न थालेपछि सास ढक्क भएर रोकिने गथ्र्यो । जतिसुकै मै हुँ भन्ने मान्छे भए पनि यस्तो अवस्थामा बहादुर बन्न सक्दैन । आआफ्नो मनमा बजेको ढ्याङ्ग्रो आपैmँ मात्र सुन्थ्यो जोडजोडले । थोरै मात्र तलमाथि पर्नासाथ जे पनि हुनसक्छ । हो, डरले सीमा नाघ्ने अवस्थाको यात्रा थियो भोजपुरको । 

मनसुन सुरु भइसकेको थियो । जेठको छब्बीस गते थियो उनासी सालकोे । यस्तो समयमा पहाडी यात्रा गरेर रमाउन हिँडेका हामी । यस्तो नभएको भए कस्तो हुन्थ्यो त ? प्रश्न गर्छु आपँैmसँग । 

साँझको साढे सात बजेको थियो घडीमा । गाडी जसोतसो गरेर अगाडि बढिरहेको थियो । पानी झमझम परिरहेको थियो । बाटो अँध्यारो र सुनसान थियो । हुस्सुले गर्दा अगाडिको ऐनामा बाफले डम्म पारिरहेको थियो । एकनासले चलिरहेको वाइपरको केही लागिरहेको थिएन । बाटो राम्रोसँग देखिरहेको पनि थिएन । गाडीको बत्तीले पनि त्यति राम्रोसँग काम गरिरहेकोे थिएन । त्यसैले ड्राइभर गोविन्दले गाडीको बत्तीको उज्यालो बढाउने घटाउने गरिरहेको थियो । गाडी चिप्लिरहँदा पनि ऊ एक हातले अगाडिको सिसाको बाफ पुछिरहन्थ्यो बेलाबेलामा । अर्को हातले जोडले स्टेरिङ समाएर चलाइरहन्थ्यो ।

‘यो सिसा फेरेको हुनुपर्छ । ओरजिनलमा यसरी बाफले दुःख दिँदैन ।’ शङ्कर भारतीजीले जानेको कुरा बताउनुभयो ।

अगाडि हुनुभएकाले सजिलै सबै थाहा पाइरहनुहुने नगेन्द्रराज शर्मा दाइ चुपचाप हुनुहुन्थ्यो । हामी आत्तिरहेका थियौँ तर गोविन्दको आत्मविश्वासमा हामीले पनि विश्वास बढाइरहेको थियौँ । 

केही सजिलोजस्तो बाटोमा आइपुगेपछि अगाडिबाट एउटा गाडीको बत्तीको पिलपिले उज्यालो देखियो । जुन निकै सुस्त गतिमा आइरहेको थियो । गाडी चलिरहेको रहेछ भन्ने भएपछि सबैलाई राहत मिलेजस्तो भएको थियो । त्यही पनि गोविन्दलाई भन्यौँ, ‘त्यो आइरहेको गाडीलाई रोकौँ र अगाडिको बाटोको बारेमा बुझौँ है ।’

गाडी अगाडि आइपुगेपछि थाहा भयो त्यो त ठूलाठूला पाङ्ग्रा भएको ट्याक्टर पो रहेछ । पछाडि सामान राख्ने ट्रली नजोडिएको ठुटेजस्तो लाग्ने ट्याक्टर । गोविन्दले आफ्नो गाडी विस्तारै गरेर रोक्यो र ट्याक्टरलाई पनि रोक्न लगायो । 

पानी एकनासले परिरहेको नै थियो । दुवै ड्राइभरले आआफ्नै सिटबाट कुराकानी गरे । हामी सुनिरहेका थियौँ निकै चासोकासाथ । अगाडि पनि अप्ठ्यारै बाटो रहेछ । हिलोमा फँसेको एउटा जिपलाई तानेर निकालेर आएको रहेछ ट्याक्टर । 

हामीले फेरि लामो सास फे¥यौँ । अभैm त्यस्तै डरमर्दो बाटो छ भन्ने थाहा पाएपछि । गोविन्दले ट्याक्टर ड्राइभरको नम्बर आफ्नो मोबाइलमा राख्दै भन्यो, ‘केही प¥यो भने फोन गर्छु आइदिनुहुन्छ नि गुरुजी ?’ 

उसले कुरा गरेको तरिकाबाट ऊ पनि निकै डराएको छ भन्ने बुझिन्थ्यो । 

‘होइन, होइन हामीसँगै लैजाऔँ न ।’ अगाडिको सिटबाट नगेन्द्र दाइले बोल्नुभयो ।

नगेन्द्र दाइ पनि डराउनुभएको आवाजले भनिरहेको थियो । 

‘हो, हो सँगै लैजाऔँ ।’ पवनजी र मेरो एकै पटक आवाज निस्कियो । 

हाम्रो गाडीको पछिपछि आउन भन्यो गोविन्दले । तर ट्याक्टर ड्राइभर मानिरहेको थिएन । अप्ठ्यारो बाटो काटेपछि जिप कुदाएर भाग्छ भनेर । हो पनि ठूलठूला पाङ्ग्रा भएका ट्याक्टर कुदाउन सकिँदैन । पहिला यस्तो धोका पाइसकेको बताउँदै थियो उसले ।

पानी परि नै रहेको थियो तर पनि म जिपबाट निस्केर ट्याक्टर ड्राइभर नजिक गएर भनेँ, ‘हामीबाट त्यस्तो हुँदैन । तर पनि विश्वास लाग्दैन भने हाम्रो अघिअघि तपार्इं लैजानु । हामी पछिपछि आउँछौँ । हाम्रो गाडीलाई तान्नु परे पनि नपरे पनि हामी पैसा दिन्छौँ ।’

त्यसपछि ट्याक्टर आएको ठाउँबाट फर्काएर अगाडि बढ्यो । हाम्रो जिप ट्याक्टरकै गतिमा बिस्तारै पछि लाग्यो । 

ठूलो राहत मिलेको अनुभव ग¥यौँ हामीले । पहाडको खोँचैखोँचको बाटो । अँध्यारो रातिको समय । हुस्सु डम्म लागेको छ । अगाडिको ऐनामा बाफ जमिरहेको छ । अगाडिको बाटो राम्रोसँग देखिरहेको थिएन । अब जे भए पनि ट्याक्टरले उद्धार गर्नेछ । हामी ढुक्क भयौँ । 

हो, यतिबेला आत्मविश्वासको ठूलो महìव हुन्छ । जति पैसा लिए पनि त्यसको मूल्य कमै हुन्छ । हामीजस्तालाई साथ चाहिने पनि यस्तै बेला हो । उनीहरूले कमाउने पनि यस्तै बेला हो ।

ट्याक्टरको मधुरो बत्तीको पछिपछि गइरहेको थियो हाम्रो जिप । पन्ध्र मिनेट जति पछि हिले उकालो आयो । त्यहाँ पनि गाडी चिप्लिनसक्ने देखिन्थ्यो । यहीँ नै बाह्रचक्के ट्रक फसेको रहेछ । धन्य छेउतिर भएकाले अर्को गाडी जानलाई बाटो पुग्ने भएको रहेछ । यही नै ट्रकले हो पैह्रो गएर हिलाम्मे भएको छेप्केमा फसेर हामीले एक घण्टा रोकिनुपरेको । हिलो बाटोबाट ट्रक लैजानलाई पचासौँ पटक अगाडिपछाडि गर्दागर्दै बाटो झन् नराम्रोसँग बिग्रेको थियो । त्यही ट्रक यहाँ आएर पनि फसेछ । खलासीले फसेको पाङ्ग्रा निकाल्न वरपर खनिरहेको थियो ।

‘ल अब तपाईंहरू ओर्लिनुस् । यहाँबाट ट्याक्टरले तानेर उकालो कटाइदिन्छ । त्यसपछि भने भोजपुर बजारसम्म नै पिचको बाटो छ रे ।’ 

गोविन्दले भनेपछि एकातिरको ढोकाबाट राप्रउ दाइ र म ओर्लियौँ । मसिनो सिमसिम पानी परिरहेको थियो । बाहिर कतै केही नदेखिने अन्धकार थियो । मैले मोबाइलको टर्च बालेँ । त्यसैको उज्यालोमा हामी विस्तारै उक्लिन थाल्यौँ । ट्रक भासिएको ठाउँभन्दा अलिकति अगाडि पुगेपछि राप्रउ दाइ चिप्लिएर थचक्क भुइँमा बस्नुभयो । धन्य भुइँको हिलोमा हातले टेक्न भ्याउनुभएकाले लड्नुभएन । मैले समातेर विस्तारै उठाएँ । अलि समथर बाटोमा पुगेपछि उहाँको औँलामा जुका टाँसिएको थाहा भयो । आत्तिएर हात झट्कार्न थाल्नुभयो पटक पटक तर जुका झर्दै झरेन । पछि एउटा ढुङ्गामा घोटीघोटी झार्नुभयो जुकालाई ।

ट्याक्टरको फलामे डोरीले बाँधेर हाम्रो जिपलाई हिले उकालो कटाइदियो । हामीले दुई हजार रुपियाँ दिएर धन्यवाद भन्यौँ । ड्राइभर भर्खरको केटो थियो । खुसी भएर उसले इमानदारीपूर्वक भन्यो, ‘अब अलिकति माथि पुगेपछि फेरि थोरै अप्ठ्यारो बाटो छ । त्यहाँ पनि आवश्यक परे म आइदिन्छु । त्यो ठाउँ कटेपछि मलाई फोन गर्नु । त्यतिन्जेल म यहीँ पर्खिरहन्छु ।’ कुरा सुनेर गोविन्द ढुक्क भयो । 

उसको इमानदारीप्रति खुसी भयौँ हामी । यति भन्नु पनि हाम्रा लागि ठूलो राहत भएको थियो । 

गोविन्दले विस्तारैविस्तारै गरेर त्यो उकालो सजिलै कटायो । अनि खुसीले करायो जोडसँग, ‘अब ढुक्क भो । अब त भोजपुरसम्म नै पिचैपिच ।’

त्यसपछि उसले फुर्तिले ट्याक्टर ड्राइभरलाई फोन गरेर भन्यो, ‘अब गए हुन्छ गुरुजी ।’

बल्ल अब सजिलो र सुरक्षित यात्रा हुने भयो भनेपछि भोक लागेको महसुस हुनथाल्यो सबैलाई । दिक्तेलमा खाना खाएर हिँडेपछि तनावयात्राले केही पनि खाने मेसो मिलेको थिएन र भोक लागेको सोच्न पनि पाएका थिएनौँ ।

हामी काठमाडौँबाट हेटौँडाको साहित्यिक कार्यक्रममा गएका थियौँ । त्यतैबाट हामी सिन्धुलीको बाटो हुँदै ओखलढुङ्गा गएका थियौँ । त्यहीँबाट सोलु, दिक्तेल हुँदै भोजपुरको यात्रामा थियौँ । 

अप्ठ्यारो बाटो कटियो भनेपछि बल्ल रमाइलो गफ सुरु हुनथाल्यो । भगवान् नमान्ने नगेन्द्र दाइले हाम्रो लागि ट्याक्टर नै भगवान् बनेर आएको बताउनुभयो । तपाईंहरू डराउनुहुन्छ भनेर नभनेको भन्दै भन्नुभयो, ‘बाटो पटक्कै देखिन्थेन, अनुमानको भरमा उसले जिप चलाएको थियो ।’ 

देविका तिमिल्सिना सरले बढो साहसिक यात्रा भएको भन्नुभयो । 

पवन आलोकजीले मैले त भगवान् पुकारिरहेको थिएँ भन्नुभयो ।

 शङ्करजीले ज्यानै माया मार्ने खतरनाक यात्रा भयो भन्नुभयो । 

रामप्रसाद पन्तजी भने यो यात्रामा हदैसम्मको मजा आएको बताउनुभयो । अझ गाडी नबनेर बाटोमा नै बास बस्नुपरेको भए क्या मजा हुन्थ्यो भन्नुुभयो ।

हिजो जयरामघाटमा खाना खाएपछि राप्रउ दाइलाई रिँगटा लागेको थियो । गाडीमा चढ्न लागेको बेला उहाँ अगाडि बढ्न सक्नुभएन । त्यसपछि भित्रबाट मेच ल्याएर केहीबेर राख्यौँ उहाँलाई । कोहीले हम्कियौँ । कोहीले हात माड्यौँ र कोहीले पानी पिउन दियौँ । त्यसपछि बल्ल गाडी चढ्नसक्नुभएको थियो ।

पूरै अँध्यारोले सबै कुरा ढाकिसकेको थियो । बाटो सजिलो भएकाले गोविन्दले गाडी जोडले कुदाइरहेको थियो । कहाँ पुगियो भन्ने कसैलाई केही थाहा थिएन । बाहिरका दृश्य कस्ताकस्ता थिए, त्यो पनि केही थाहा भएन । मात्र गुडिरहेका थियौँ तनावरहित गाडीमा । मात्र भोजपुर बजार जाँदैछौँ भन्ने बुझेका थियौँ । 

हामीले चाहेका थियौँ ट्याम्के डाँडा हेर्ने । भोजपुरका धेरैभन्दा धेरै साहित्यकारले कुनै न कुनै सन्दर्भमा लेखिने गरेको ट्याम्केडाँडा । हामीलाई इच्छा थियो पिखुवा खोला हेर्ने । जहाँको पानीले भोजपुरे स्रष्टाहरूलाई नेपाली साहित्यमा धेरैभन्दा धेरैलाई सुपरिचित बनाएको छ ।

त्यही कारण साँझ नपर्दै भोजपुर बजार पुग्ने योजनामा थियौँ हामी । त्यही कारण दिक्तेलमा कविवर विष्णु आभूषणले राख्नुभएको अन्तक्र्रिया कार्यक्रम पनि बिहानै राखेको थियौँ । कार्यक्रम सकिएपछि हामी हिँड्दै रत्नपार्क आइपुग्दा हाम्रो गाडी त्यहाँ थिएन । बिहानको स्कुल समयअघि दित्तेल बजारभित्र गाडी लैजान नपाइने भएकाले गाडी त्यहीँ छोडेका थियौँ । हामीलाई कुर्ने समय सदुपयोग गर्नका लागि गाडीको सिट बनाउन गएछ गोविन्दले । रत्नपार्कमा एक घण्टा कुर्नुपरेकै कारण भोजपुर जाँदा बाटोमा खाना खाने भन्ने हाम्रो योजना बिग्रिएको थियो । त्यही कारण बास बसेको ठाउँमा आधा घण्टा कुरेपछि मात्र खाना खान पाएका थियौँ ।

खाना खाएर सबै सामान राखिसकेपछि भोजपुरतिर लैजानुपर्ने गाडी फेरि दिक्तेलतिर नै फर्कायो गोविन्दले । हामी सबैजना छक्क प¥यौँ । 

होइन किन फेरि फर्काएको ?

इन्धन भर्नुपर्ने छ नि ।

अघि किन नभनेको त ?

खानाका लागि कुरिरहँदा किन नभनेको त ?

रत्नपार्कमा एक घण्टा कुराउँदा किन नभनेको त ?

पालैपालो सबैले प्रश्न ग¥यौँ ।  

सिट बनाउन गएको बेला पनि जिप ल्याउन ढिलो गरेको थियो । हामी मर्मत गर्ने ठाउँ खोज्दै पुगेका थियौँ देविका सर, पन्तजी र म । हामीले जेजे भने पनि टार्ने कुरा मात्र ग¥यो उसले । यसो गर्नुको कारण हामीले नजिकैबाट अनुमान ग¥यौँ । सत्य उसैले जानोस् । जे भए पनि पेसाले ड्राइभर नै हो ऊ ।

सोचेभन्दा दुई घण्टा ढिला भए पनि हामी सवा एक बजे छेपेखोला पुगेका थियौँ । त्यहीँ माथिबाट पैह्रो झरेर हिलाम्मे भएको थियो बाटो ग्याग्याजी । पहाडबाट झरेको पानी त्यहीँ बाटोबाट झरिरहेको थियो । त्यसकै मुनि पुल बनाउनका लागि ठूलो खाल्डो बनाइएको थियो र त्यहीभित्र स्काभेटरले काम गरिरहेको थियो । एकातिर पिल्लर उठाइसकेको थियो भने अर्कोतिर डण्डी बाँध्ने काम भइरहेको थियो ।

ट्रक अगाडि बढाउन सकिरहेको थिएन । पचासौँ पटक अघिपछि अघिपछि गर्दागर्र्दै बल्ल लैजान सकेको थियो । यस ठाउँमा यति धेरै समय कुर्नुपरेको पनि गोविन्दले गर्दा नै हो । नत्र ट्रकभन्दा धेरै अघि त्यो बाटो काटेर हामी धेरै माथि पुगिसकेका हुनेथियौँ ।

‘ल अब दुई तीन जना झर्नुस्, अनि सजिलै पार गर्न सकिन्छ ।’ गोविन्दले भन्यो । पवनजी र म ओर्लियौँ । बाहिर हिँड्न पनि गाह्रो थियो हिलो र पानीले गर्दा । जसोतसो अगाडि सफा बाटो भएको ठाउँमा पुग्यौँ । केही अगाडि माथिबाट ल्याइएको पाइपबाट पानी झरिरहेको थियो सडकनिरै । त्यहीँ गएर जुत्ता पखाल्यौँ हामी दुवैजनाले । 

धेरै समय भइसक्दा पनि हाम्रो गाडी आइपुगेको थिएन । उतैबाट आइरहेको एउटा मोटरसाइकलवालालाई रोकेर सोध्नुभयो पवनजीले ।

उसले सजिलै भन्यो, ‘तपाईंहरूको गाडी पनि ट्रकजस्तै फसेको छ । डोरी बाँधेर तान्नखोज्दा पनि डोरी नै चुँड्यो । अहिले स्काभेटरले धकेल्न खोज्दैछ । तपाईंहरू हिँड्दै गर्नु न आइहाल्छ नि ।’

त्यसो भए अझै केही समय लाग्नेभो जिप आउनलाई । कतै बस्ने ठाउँ पनि थिएन त्यहाँ । त्यसैले हिँड्दै गयौँ केही अगाडिसम्म । जति टाढा पुगे पनि गाडी आउने बाटो यही त हो भनेर हामी हिँडिरह्यौँ । रामनगर भन्ने ठाउँमा आइपुग्यौँ । सडकछेउमा रुखका मुढाहरूले टेको लगाएको एउटा बन्द काठेपसल रहेछ । त्यहीँ भएको काठको बेन्चीमा केहीबेर बस्यौँ । 

आधा घण्टाजतिपछि नगेन्द्र दाइ र देविका सर पनि हिँड्दै आइपुग्नुभयो त्यहीँ । हामी चार जना यता भयौँ । राप्रउ दाइ, शङ्करजी र रामप्रसादजी ड्राइभरसँगै हुनुभयो ।

के हुँदैछ ? गाडी कहाँ आइपुगियो ? भन्ने जिज्ञासा राख्दै फोन गरिरहेका थियौँ हामीले पटक पटक ।

गाडी त हिलोबाट निकालिएछ । तर अगाडिको इन्जिनको पानी राख्ने पाइप नै फुटेछ ।

अब परेन त फसाद ? एउटा समस्याले अर्को समस्या थपियो । 

अब के हुने हो ? कसरी बनाउने हो ? बासै पो यतै हुने भो कि ? अनेक प्रश्नहरू हुनथालेपछि ड्राइभरलाई नै फोन गर्नुभो पवनजीले । उहाँले हामीलाई लिन आउनु, सबैजना सँगै भएपछि जे पर्छ सँगै व्यहोरौँला भन्नुभयो । गाडीको पाइप फुटेकाले चलाउन नमिल्ने भएको र बनाउन जानका लागि हिजो बसेको होटलको गाडी मगाइदिनु प¥यो पो भनेछ उल्टै गोविन्दले । 

हुन त हामी गएर पनि हुने केही थिएन । गर्नसक्ने पनि केही होइन । त्यसैले अलिकति आएको बाटोतिर फर्कियौँ । त्यहीँ रहेछ एउटा चियापसल । पहिला बाहिर बसेरै चिया पिइरहेका थियौँ । जोडले पानी पर्न थालेपछि हामी भित्रीकोठामा ग¥यौँ । त्यहीँ बसेर हाम्रो घडीको सुइले सवा पाँच बजाइसकेको थियो ।

धन्न मिस्त्री अर्को गाडीमा आएर बनाइदिएछ । 

हामीले भोजपुर पुग्ने अनुमान गरिएको समयमा दिक्तेलबाट चार किलोमिटर मात्र आइपुगेका थियौँ । चार घण्टा त छेपेखोलामा कुरेरै बिताएका थियौँ । 

फेरि सातै जना एकैसाथ भयौँ हामी गाडीमा चढेपछि । यही बाटोको बारेमा पवनजी हिजोदेखि नै भेटेजतिसँग सोधिरहनुभएको थियो । बिहान रत्नपार्कमा बसको टिकट काट्ने ठाउँमा पनि सोध्नुभएको थियो । जसले पनि गाडी आउजाउ गरिरहेको नै बताएका थिए । हो, बीचमा आठ किलोमिटर जति कच्चीबाटोमा भने अलि अप्ठ्यारो हुन्छ । बाँकी बाटो राम्रो भएको बताएका थिए सबैले । कोहीले त भोजपुरसम्मै फिलिली बाटो छ पनि भनेका थिए । फिलिली यात्राको अनुभव त कहिल्यै नबिर्सने गरी गरिहालियो नि ।

पानी परिरहेको नै थियो । त्यही पनि सजिलो बाटो नआउन्जेलसम्म बेलाबेलामा गाडी रोक्दै पाइपमा पानी हालिरहेको थियो गोविन्दले । पाइपमा पानी नअडुन्जेल हालिरहनुपर्छ भन्थ्यो । 

राति साढे आठ बजेतिर दिल्पाको प्रहरी पोस्टमा पुगेर गाडी रोक्यो उसले । एउटा चिया खाजा खाने पसल खुलेको रहेछ । अरू सबै बन्द भइसकेका थिए । पसल देखेपछि सबैलाई भोक लागेजस्तो भएकोे थियो । भए पनि अब पैँतालीस मिनेटमा पुगिन्छ भनेपछि हामीले चिया मात्र पियौँ । गोविन्दले मजाले खाजा खायो । 

दिक्तेल बजारमा पुगेपछि पनि अलमलियौँ कताबाट जाने भनेर । ठाउँठाउँमा सोध्दै भोजपुर बजारको सबैभन्दा अग्लो होटल भिन्तुनामा पुग्दा रातिको साढे नौ बजेको थियो ।

यात्रामा छयासी वर्षका नगेन्द्र दाइ, असी वर्षका राप्रउ दाइ । डेढ वर्षअघि सेवा निवृत्त भएको म सबैभन्दा कान्छो भएको थिएँ । सबै कुरामा सजिलो बन्नुहुने नगेन्द्र दाइलगायत सबै दाइहरूबाट धेरै कुरा सिक्न पाएँ यो यात्रामा । त्यसैले यो साताभरिको मनसुने यात्रा मेरा लागि यात्रा मात्र नभएर प्रेरणा र शिक्षा पनि बनेको छ ।