• १३ पुस २०८१, शनिबार

होबार्टमा बिहानको मुस्कान

blog

वियोगी बुढाथोकी

लाग्छ एउटा खण्डेथालजस्तो छ ताज्मानियाको लन्सेस्टन । होचाहोचा घरहरू सानो रुखमा लटरम्म फलेका आँपजस्ता लाग्छन् यहाँका घरहरू । सहरमा एकतर्फी गुड्छन् गाडीहरू । उक्लिँदा उक्लिँदै ओर्लिन्छन् र ओर्लिंदा ओर्लिसक्छन् सडकहरू । गाडी चालकहरूले ख्याल गर्नु जरुरी छ । नियमापत्ति कतिखेर सडक बत्तीले दिन्छ । नियममा बाँधिनु स्थानविशेषको आफ्नै कुरा हो । पालन गरौँ ।

होसियार !

लनसेस्टन अर्थात् ठूलो खण्डेथाल  । त्यही थालको एउटा सानो भागमा बनेको छ अनेकमध्येको एउटा अर्को ठूलो होटल । द्यभकत ध्भकतभचल एगिक सँग परिचय हिजो होइन अस्तिको दिन साँझै हो गाँसिएको  । मेलबर्नमा छँदै ज्वाइँ बुद्धि र छोरी एकताले (कोठा सुरक्षित) बुक गरेको विश्रामगृह । देभनपोर्टबाट ९८ किलोमिटरको दूरी जो एक घण्टा ८ मिनेटमा अघोषित गाडीहरूको कुदाइको प्रतिस्पर्धाबाट गन्तव्य टेकेको थियो । थुम्केली डाँडाहरूमा साँझको समयमा जुनकिरीले खुसियाली मनाउँदै बत्ती बालेझैँको सुन्दर दृश्य । जिउमा थकान र आँखामा अनिदो निद्रा बोकेर हामी त्यहाँ पुगेका थियौँ । लनसेस्टनको बजार सुत्ने समय नभएका कारण झलमल्ल बत्ती बालेर विदेशीलाई स्वागत गर्न कुरेर बसेको हो कि झैँ को भान ममा परेको थियो । मलाई के थाहा यो उनीहरूको हकमा नियति नै हो । लनसेस्टन सहर थोरै ऐतिहासिक पुराना घरहरूलाई काखी च्यापेर मुसुक्क मुस्कुराएको छ । ऐतिहासिक भएकै कारण वर्तमानमा सम्पन्नहरूले त्यसलाई भत्काएर अर्को नयाँ प्रविधियुक्त बनाउन सोच पाले पनि सरकारी निर्णय तगारो भइदिँदो रहेछ । कारण ऐतिहासिक सम्पदालाई मास्न पाइँदैन, त्यसो गर्दा हाम्रो मौलिकता हराउँछ भन्ने स्वागतयोग्य सोच रहेछ । वाह क्या गजबको सोच ! त्यसैले अगाडिको मोहडा नभत्काई पछाडि थपथाप र जोडजाड गरेको र गर्दै गरेको केही दृश्यहरू हाम्रा आँखामा पनि यात्रा गदैगर्दा चर्न आए ।

२०७८ चैत २० अर्थात् १३ अप्रिल २०२२ बुधबार ।

लन्सेस्टन सहर उठेकै थिएन । उस्लाई उठ्ने हतार पनि थिएन सायद । अझ कोही कोही त रातभर काम गरेर भर्खर घर फर्किएकाले सुत्न हतार पो गर्दै थिए कि ! म सोच्छु । सोच्नलाई कसैसँग अनुमति माग्नु पर्दैन । सबैको सोच्ने अनुभव र अनुभूति गर्ने सवालमा स्वतन्त्रता प्राप्त छ हामीलाई । यो सावलमा विश्वमै पाइने स्वतन्त्रता हुनसक्छ । आफ्नो क्षमताअनुसार सोच्ने, देख्ने, भोग्ने, अनुसरण र ग्रहण गर्ने नै हो । यात्रा भन्नु भोक र थकानको झोँकमा खाएको परिकारको कुनै हिसाब नभएझैँ अनिलो हुनुभएन । यात्राले मन, मस्तिष्क र आँखालाई तृप्त गराउन सक्षम हुनु जरुरी छ ।

तीन पुस्ता–

गाडीमा हामी तीन पुस्ता छौँ । अठसट्ठी वर्षे बूढो वसन्तको घाम ताप्दै गरेको मबाहेक सोह्र वसन्तको उदीयमान उमेरको यात्रा नाप्दै गरेकी नातिनी दृष्टि । मभन्दा पाँच वर्षले कम उमेर भएकी अर्धाङ्गिनीको साथ छ । हजुरबा, हजुरआमाको बीचको उमेरका छोरी एकता र ज्वाइँ बुद्धि गरी तीन पुस्ता । एक किसिमको चिन्तामुक्त फिरन्ते अवस्था । यात्रामा उमेर र क्षमताअनुसारको मीठो अनुभूति आआफ्नै मस्तिष्कको भण्डारमा थन्क्याउने धुनमा छौँ । ताज्मानियाको चिसो हावा र प्राकृतिक सुन्दरतासँग परिचय गर्दैगर्दाको क्षणमा हाम्रो यात्रा ।

गाडी कुदाउँदैको अवस्थामा ज्वाइँ बुद्धिको भनाइ– “म कहाँ रामेछाप नामको पहाडमा जन्मिएको मान्छे । खै कसरी पो हो काठमाडौँको हात्तीगौँडामा जन्मिएकीसँग नाता गाँस्न पुगेँ ! त्यो अर्थमा म साह्रै भाग्यमानी ठान्छु आफूलाई । नदेखेको सपना देखियो । सोच्दै नसोचेको पारिवारिक नाता गाँसियो । जीवनमा योभन्दा अर्को खुसी मेरा लागि अर्को हुँदै सक्तैन । र, त्यही खुसीका कारण भाग्यले डोराएर अस्ट्रेलिया पु¥यायो । अस्ट्रेलियाको पनि सुन्दर प्रदेश ताज्मानियाको यात्रा गर्न साइत जुर्नुलाई पनि भाग्यमानीकै संज्ञा दिन्छु म ।” हिजो जे लेखेर ल्याएको छ, आज त्यही पाइने त हो । सम्बन्ध गाँसिनु पनि त जुर्नुकै परिणाम हो ।  

 त्यसो त एउटाको भाग्यले मात्र भन्नुभन्दा पनि हामी सबैको भाग्यले जुराएको नाता र यात्रा भन्नुपर्छ । यसै प्रसङ्गमा मैले पनि थप्ने अवसर पाएँ । हामी काठमाडौँ उपत्यकाका काँठेहरूको पारिवारिक सम्बन्ध हाम्रो समयसम्म मात्रै नभएर केही वर्ष अगाडिसम्म पनि प्रायजसो काँठेसँगै जोडिन्थ्यो । तर हामी जोडियौँ पहाडसँग । राजधानीबाट मोफसलसम्म जोडिनुको सुखद क्षणको परिणाम हो यो हाम्रो यात्रा । 

बाधक हुस्सु–

लनसेस्टनबाट बिहानको ६: ११ मा होबार्टको ब्रुनाई आइल्यान्ड पुग्ने लक्ष हो हाम्रो । ४ घण्टा १७ मिनेटमा २८४ किलोमिटर लमतन्ने बाटो छिचोल्नु छ । सोचेजस्तो कहाँ हुन्छ र समय पनि कहिलेकाहीँ अवरोधको कारण बनिदिन्छ । केही वर्षअगाडि बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानबाट गोर्खाको छेवेटारमा  स्वास्थ्य शिविर सञ्चाल गर्न जाँदा यस्तै बाक्लो हुस्सु (कुहिरो) ले आवागमनमा असर पुराएको याद सुनाएँ मैले । बुद्धिको कथन थियो, उहिलेपहिले हाम्रो रामेछापमा यसलाई हुस्सु गाउँपस्यो भन्दै रमाउँथ्यौँ । तर यहाँ भने गाडी कुदाउन नै मुस्किलको अवस्था देखाप¥यो । कुहिरोले साम्राज्य नै जमाएजस्तो । कतै समथर जङ्गल । कतै जिङ्ग्रिङ्ग परेका सुकेनाश लागेझैँका रूखहरू । धेरैजसो हरियालीयुक्त ससाना थुम्केली डाँडाहरू ।

भोजन–

लनसेस्टनबाट गुडेको गाडीले बिहानको नास्ता टिप्न भ्याएको थिएन । भ्उउष्लन ँयचभकत को ब्mउय िमा गाडीले रुचेसम्मको भोजन ग¥यो । आखिर मानिस त हौँ हामी । कुनै न कुनै बहाना चाहिन्छ हामीलाई पनि । सोहीअनुसार रुचिअनुसारको कफी समात्यौँ हामीले । नातिनीको उमेरले जुनसुकै समय वा अवस्था किन नहोस् के मतलब आइसक्रिम भए पुग्यो । हेर्दाहेर्दै एउटा सानो ऋबmदभिि त्यधल भित्र छि¥यो गाडी । निलो आकाश, सुन्दर प्राकृतिक दृश्य, टाढाटाढा ससाना डाँडा, हट्दै गरेको हुस्सुबाट चियाएर हेर्दै गरेका घरहरू देख्दा मलाई त यतै आएर बसौँ बसौँ जस्तो पो लाग्यो बुद्धिको प्रस्ताव ।

“हैन तपाईंलाई कविता फुर्न लाग्यो कि कसो,” एकताको जिज्ञासा । तपाईंले कविता लेख्ने हो भने ड्याडीले के गर्ने ?

घर किन्नै लागेझैँ शकुन्तलाको आपत्ति एक्कासि हुत्तियो– “हुन्न हुन्न, मेलबर्न पनि राम्रो छ । त्यता छोड्नु हुन्न ।”

देखिए–

लटरम्म फलेका र मुखै रसाउने गरी अर्थात् रस भरिने खाल्का दृश्यहरू कतै आरु, कतै जौबारी, भेडा फार्म र गाईले अत्यधिक ठाउँ ओगटेको दृश्य गाडीबाट हेर्दा जेजस्तो देखियो, आकर्षक देखियो । जसका कारण देखिनेहरूको सङ्ख्या भित्रभित्र अरू केकति थिए थाहा भएन । आँखाले देखुन्जेल प्रशस्तै थिए । टाढाटाढासम्म  फलफूलको खेती फैलिएका कारण बाँकी नै रहे र उर्लि नै रह्यो खरो तिर्सना ।   

उहिलेका कुरा– 

पहिला सुरुसुरुमा अस्ट्रेलियामा जनसङ्ख्याको कमी भएकै कारण इटालियनहरूलाई उल्टो पैसा दिएर राखिएथ्यो भन्ने कथन रहेछ– “एकताको भनाइ थियो यो ।”

यसो भन्दैगर्दा आफू महाराजगञ्ज क्याम्पसमा जागिर खाँदा नर्सहरूलाई पढाउन उल्टो पैसा दिएको र घरघरमा गएर पढ्न आउन भन्ने गरेको कुरा र वर्तमानमा भर्ना नपाउनेहरूको कथाव्यथा  याद आयो ।

एक हुल चरालाई सडकमा निर्धक्क बसेको देखेपछि शकुन्तलाको बोलि फुट्यो– “वाह क्या मिलेका चराहरूको बथान ।” अझ त्यता त झन् टाउकोमा लिखा परेझैँ भेडाका बथानहरू देखिए र ओझेलिए ।

बल्ल दृष्टिको बोली फुट्यो –

“लुक लुक लुक ।” एक हुल झन्डै सयभन्दा बढी एक बगाल भेडाहरूको ताँती लागेको अपूर्व दृश्य देख्दा मैले भने हाम्रै देशको भनाइ सम्झिएँ–


“कस्तो भेडाजस्तो स्वभाव भन्थे,” आज यथार्थ नै चरितार्थ भयो यो दृश्यले ।

त्यतै देखिए ताज्मानियाको भूगोलबाट अलप भइसकेको बाघ । त्यसैले सम्झनास्वरूप मानव निर्मित बाघ जो देखियो । सम्झनाका लागि सडकबाटै देखिने गरी बनाएर राखेको बाघका आकृति । हामी मिडल्यान्ड हइवेमा सुरुदेखि अहिलेसम्म निरन्तर यात्रारत छौँ । प्रकृतिको अलौकिक र अनुपम आनन्द पनि ग्रहण गर्दैछौँ । १५४ किलोमिटरको दूरी नाप्न बाँकी हुँदा हामीलाई पछ्याउँदै आएको मिडल्यान्ड हइवे बल्लतल्ल हामीबाट बिदा भयो । अर्कै पृथक् सडकभित्र हामीले प्रवेश गरेका छौँ । यसबीचमा विभिन्न स्थानीय स्तरका छोटा छोटा अनेकथरि नामका सडकहरू भेटिए, छुट्टिए । कतिको नाम जान्नु, टिप्नु र उल्लेख गर्नुमा त्यति आवश्यक नठानिएका कारण वास्ताव्यास्ता गरिएन । कति निर्दयी रैछ विदेशी यायावर भन्दा हुन् बरु मनमनै यस्तो पो सोचियो ।

अनुभूतिमा होबार्ट–

टेकियो गर्भवती महिलाको शरीरझैँको ३९६ मिटरको ताजमान नामको आकर्षक र मनै लोभ्याउने खालको पुल अर्थात् मानव निर्मित पक्की साँघु । म्भचधभलत च्ष्खभच डाँडाहरूको बीच भागमा आफ्नै गतिमा शान्त तरिकाले बगिरहेको । दुईतिर सुन्दर लाम्चिलो डाँडाको बीचमा नदी हुँदै महासागरमा मिसिन कुनै किसिमको हतार नगरिरहेको सुस्त र शान्त स्वभावमा बगेका पानी । लाग्छ ताज्मानियाको प्राकृतिक स्वरूप देख्दा एक किसिमले देखेको त होइन, कल्पनामा स्वर्गको कुरा गरेझैँ स्वर्गको स्वरूपको कल्पना गर्छु म । अझ यसो भनौँ प्राकृतिक अनुपम वरदान प्राप्त गरेको ठाउँझैँ लाग्छ ।

जानकारीमा आयो–

“यतै छ हाम्रै नेपाली अझ अस्ट्रेलियाका लागि अवैतनिक राजदूत चन्द्र योन्जनको नौ तलाको उचाइ लिएर उभिएको गोर्खाजको होबार्ट कलेजको शाखा ।” ज्वाइँ बुद्धिको कुरा सुन्दा मलाई कता कता आनन्दभाव उर्लिएर आयो । कारण के त भने ताज्मानियाजस्तो प्राकृतिक सुन्दरताले भरिएको सानो ठाउँमा एउटा नेपालीले आफ्नै बलबुतामा नौ तलाको कलेज सञ्चालन गर्नुलाई सानो सफलता र भन्न मिल्दैन । भाग्यमानीहरूकै दर्जामा अभिनन्दन गर्छु ।     

कलेज सञ्चालन गर्नु भनेको एउटा व्यक्तिले मात्र नभएर उच्च शिक्षा हासिल गर्न चाहनेहरूले विविध विषयमा दक्षता हासिल गर्न पाउनु हो । आआफ्नो देशबाट कस्ता कस्ता सुन्दर सपना बोकेर आएका प्रतिभाशाली र सक्षम व्यक्तिहरूले आफूले चाहेअनुसारको योग्यता हासिल गर्नु हो । हामी हाम्रो देशमा उच्च शिक्षा हासिल गर्नका लागि जगमा हालिएको विषयलाई छानोसम्म पु¥याउनुपर्ने नीति, नियम बनाएर कतिपयको चाहनालाई अगाडि बढ्न बन्देज लगाउँछौँ । तर अस्ट्रेलियाको सङ्घीय सरकारले भने आफूले माथिल्लो तहमा पढ्न चाहेको विषयमा लिइने प्रवेश परीक्षामा तोकेको मात्रामा प्रतिशत ल्याएपछि अघिल्लो के विषय लिएको थियो भनेर बार नलगाउनु नै स्वागतयोग्य मान्नुपर्छ । अर्थात् विषय बाधक नबन्नु भनेको विद्यार्थीको फेरिने रुचिको कदर एवं सम्मान गर्नु हो । यसलाई पनि सकारात्मक रूपमा लिनुपर्ने व्यक्तिगत ठहर गरियो । र, स्वागत भन्न र गर्न मन लाग्यो ।

होबार्ट तिम्रो आँगनमा आइपुगेका छौँ स्वीकार गर है त भन्दै कविता लेख्न पुगेँछु ।

होबार्ट–

लमतन्न गोडा पसारेर निर्धक्क

छातीमा

ताजमान पुलको सेतो पटुकी कसेर

शरीरमा चुलिएका आकर्षक

थुम्काथुम्की

व्यवस्थित गरेर पर्यटकको आँखा, मनमस्तिष्क

चोर्न होइन जित्न सफल

सफेद प्राकृतिक सौन्दर्य

स्वच्छ हावा बोकेको न्यानो घाम

चट्टानको अन्तरबाट निस्किएको सिमसार

लेकैलेकले फक्रिएको उन्मत्त जवानी

होबार्ट !

कहाँबाट सुरु गरौँ

लिन बाँकी नाङ्गगो आँखाको स्वाद

र, तिम्रो सौन्दर्यको चोखो खुल्न बाँकी परिचय ?

अस्ट्रेलियाका विभिन्न प्रदेशहरू छुट्टै प्रदेशमध्येको सानो र समुद्रका कारण पृथक् भूभागमा अवस्थित ताज्मानिया । ताज्मानिया प्रदेशको राजधानी होबार्ट । पानीजहाजबाट जो मेलबर्नबाट जान चाहन्छ उसले दस घण्टा जहाजका लागि छुट्याएर जानुपर्ने हुन्छ । हैन भने कि आकाश मार्ग रोज्नुपर्छ । साँच्चै हामी त पुग्यौँ होबार्ट । तपाईं नि !