शेरबहादुर सार्की
बाजुरा, मङ्सिर ६ गते । पाँच वर्षमा आउने निर्वाचनजस्तो महत्त्वपूर्ण राष्ट्रिय उत्सव सकिएको छ तर धार्मिक, सांस्कृतिक र यस्ता उत्सवमा समेत प्रयोग गरिने चात्रोको प्रयोग घट्दो छ। यस पटक उम्मेदवारहरू गाउँमा भोट माग्न जाँदा आक्कलझुक्कल मात्र चात्रोको प्रयोग भयो।
धेरै वर्षसम्म लोप भएको चात्रो यति बेला खप्तड छेडेदह गाउँपालिकाको नाइनामा देखियो। खप्तड छेडेदह गाउँपालिका–७, नाइनाका बासिन्दाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चुनावी मैदानमा उत्रेका उम्मेदवारको स्वागतका लागि चात्रो राखेका थिए।
नाइनाका पटु नेपालीले बाजुरा जिल्लाको मुहार फेर्ने गरी चुनावी मैदानमा उत्रेका उम्मेदवारलाई स्वागत गर्न चात्रो राखेको बताउनुभयो। उहाँले धेरै लामो समयपछि गाउँमा कोही पाहुना नआएका र यति बेला बाजुरा जिल्लाभरका मानिस गाउँगाउँमा आउने गरेपछि उनीहरूलाई स्वागत गर्ने गरी यो चात्रो राखेको बताउनुभयो। केही वर्षअघिसम्म बाजुराका सार्वजनिक बाटोमा चात्रो निकै प्रचलित थियो। एक गाउँबाट अर्को गाउँमा जाने जन्ती तथा बाटोमा आउने बटुवालाई स्वागत गर्न राखिने चात्रो अहिले विस्तारै लोप हुँदै आएको छ।
चात्रोले गाउँमा आउने अतिथि तथा बाटोमा हिँड्ने बटुवा र विवाहमा जाने जन्तीको शुभ साइत राम्रो होस् भनेर चिनारी दिने गरेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्। शुभ साइतका लागि राखिने चात्रो अहिले लोप हुँदै आएपछि नयाँ पुस्ताले पाहुनालाई गर्ने एक किसिमको सम्मानसमेत लोप भएको ज्येष्ठ नागरिकको भनाइ छ।
“पहिला एक गाउँबाट अर्को गाउँसम्म जाँदा हिँडेरै जानु पथ्र्याे। यसरी हिँड्दा बटुवाको साइत राम्रो होस् भनेर गाउँगाउँमा चात्रो राखेर आउने पाहुनालाई स्वागत गर्ने चलन लोप हुँदा संस्कृति नै लोप हुन लागेको छ,” बूढीगङ्गा नगरपालिका–१०, सिगाडाका ज्ञान नेपालीले बताउनुभयो।
उहाँका अनुसार बीच बाटोमा सेतो कपडामा एक लोटा वा घैलामा पानी भरेर राख्ने, त्योसँगै सिन्दूर, दूबो र पैसा राखेर बटुवाको स्वागत गर्ने कार्य नै चात्रो हो। यसरी चात्रोमा राखेको सिन्दूरलाई बटुवाले आफैँ लगाउने र त्यसपछि आफ्नो गोजीबाट केही दक्षिणा, पैसा पनि त्यो चात्रोमा राख्ने गर्थे।पैसा असुल्ने गरेर मात्र नभई बटुवाको साइत राम्रो होस् भन्ने उद्देश्यले बटुवा हिँड्ने बीच बोटामा चात्रो राख्ने गरिन्थ्यो।
पछिल्लो समय जिल्लाले विकासको मुहार फेर्दै जाँदा यातायातको सुविधा भएपछि त्यो चात्रो राख्ने काम लोप हुँदै गएको बूढीगङ्गा नगरपालिका–१०, सिगाडाका ज्येष्ठ नागरिक हीरा साउदले बताउनुभयो। उहाँले भन्नुभयो, “पहिला बाजुराका प्रत्येक ठाउँबाट हट्यारु, बाटो हिँड्ने बटौन्या, बरियात, जन्ती सिगाडाको पौवा भन्ने ठाउँबाटै हिँड्थे। त्यति बेला यहाँका अधिकांश मानिस बाटोमा चात्रो राखेर सम्मान गर्थे। अनि उनीहरू पनि त्यो राखेको चात्रोमा केही पैसा राखेर आफ्नो गन्तव्यमा जान्थे र पुनः घर फर्किंदा तपाईंले राखेको यो चात्रोको स्वागतले हाम्रो साइत राम्रो भयो भनेर सुनाउँथे ।”
साउदका अनुसार यसबाट गाउँमा को आयो को गयो सबै थाहा हुन्थ्यो। अहिले गाउँमा को आउँछ को जान्छ केही पनि थाहा हुँदैन। बाजुराको खप्तड छेडेदह, काँडा, जयवागेश्वरी, डोगडी नाइना सुदारा, बूढीगङ्गाको सिगाडा, देवलसैन झाली कुल्देवमाडांँ, ताँप्रा, त्रिवेणी नगरपालिका, कैलाशमाडौँ, तोली छतारालगायतका स्थानीयले गाउँमा आउने अतिथिका लागि बीच बाटोमा चात्रो राखेको पाइन्थ्यो। जयवागेश्वरी–१, काँडाका ७० वर्षीया देउमा रोकायाले भन्नुभयो, “चात्रो राख्नेले आफ्ना देवीदेवतासँग बाटोमा हिँड्ने बटौन्याको शुभ साइत राम्रो होस् भनेर पुकार गर्ने गरेकाले बटुवाको पनि रक्षा हुने गरेको छ।”
बाजुरामा सडक आएपछि चात्रो लोप भएको झन्डै बीस वर्ष भयो। अहिले पनि गाडीको सुविधा नभएका गाउँबस्तीमा फाट्टफुट्ट चात्रो राख्ने गरेको पाइन्छ। २०६३/६४ सालदेखि बाजुरामा यातायातका साधन सञ्चालन भएपछि चात्रो पनि लोप हुँदै गएको बूढीगङ्गा नगरपालिका–१०, डाब बजारका बासिन्दा बताउँछन्।