• २३ पुस २०८१, मङ्गलबार

टरिगाउँलाई चौथो हिरा डाँगी कप उपाधि

blog

प्रतियोगिताका बिजेतालाई ट्रफि प्रदान गर्दै अतिथिहरु । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही,  मङ्सिर ८ गते । तुलसीपुरमा भएको चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल  प्रतियोगिता–२०८१ को उपाधि टरिगाउँ युथ क्लब तुलसीपुर १२ ले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर –५ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा ब्रिगेड ब्वाइज ललितपुर काठमाडौलाई २–१ गोलले पराजित गर्दै टरिगाँउ युथ क्लबले उपाधिसँगै ट्रफी उचालेको हो ।

उपाधिसँगै टरिगाउँले नगद दुई लाख दुई हजार दुई सयसहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ ।  ब्रिगेड ब्वाइज उपबिजेतामा सीमित रहँदै नगद एक लाख एक हजार एक रुपियाँसहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्यभयो । 

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलको पहिलो हाफ्मा टरिगाँउका जर्सी न १४ का गणेश हमालले गोल गर्दै टिमलाई १–० अग्रता दिलाउँदै गर्दा ब्रिगेड ब्वाइजका जर्सी न २३ का एन्जल महर्जनले जवाफी गोल गरेर टिमलाई बराबरी गर्न सफल हुनुभएको थियो । 

त्यस्तै, दोस्रो हाफमा टरिगाँउका जर्सी नं. २ का राज भुसालले गरेको गोल नै टरिगाउँका लागि निर्णायक गोल बन्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा टरिगाउँलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका टरिगाउँका खेलाडी सन्दिप कार्की म्यान अफ द म्याच हुनुभएको थियो । बिजेता खेलाडीलाई हिरा डागी फाउन्डेसनका अध्यक्ष पोखरसिह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ वेष्ट प्लेयर खेलाडी ब्रिगेड ब्वाइजका रितेश गुरुङ, हाई स्कोरर युनएनबिसीका हेनरी र राईजिङ स्टारका अरुण चौधरी, वेष्ट किप्पर टरिगाउँ युवा क्लका विशाल केसीलाई जनही पाँच पाँच हजारका दरले नगद तथा ट्रफी प्रदान गरिएको थियो ।