• २३ पुस २०८१, मङ्गलबार

‘मानव अधिकार रक्षामा सहकार्य आवश्यक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाको मानव अधिकार रक्षाका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शनिबार आयोजित ‘बाल मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले बालविवाह, बालबालिकालाई श्रममा लगाउनु, बालबालिकामाथि हुने हिंसालगायत बाल अधिकार हनन हुने सबै क्रियाकलाप मानव अधिकार उल्लङ्घनका घटनाको अन्त्यका लागि राज्य, परिवार र बाल मानव अधिकार रक्षकहरूको सहकार्य र सचेतनाको खाँचो रहेको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपकराज नेपालले आफू प्रमुख जिल्ला अधिकारीको भूमिकामा पहाड, तराईलगायतका क्षेत्रमा काम गर्दा तराईमा छोरीलाई धेरै पढाएर शिक्षित ज्वाइँसँग विवाह गराउँदा धेरै दाइजो दिनुपर्ने समस्याले बालविवाहमा अभिभावकले जोड दिने गरेको पाइएको बताउनुभयो । त्यसै गरी पहाडमा पनि साथीको सङ्गत, प्रविधिको दुरुपयोगलगायतका समस्याले किशोर किशोरीमा भागी विवाह गर्ने प्रवृत्ति नेपालमा विगतमा भन्दा बढेको बताउनुभयो । 

उहाँले बालविवाहविरुद्ध राष्ट्रिय कार्यनीति र बालबालिकासम्बन्धी ऐनकानुनको समय अनुसार परिमार्जन गर्दै जानु पर्छ भन्दै बालविवाह पनि मानव अधिकार उल्लङ्घनका घटना हुन् भन्ने कुरा स्थापित गर्नु पर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले संविधानले बाल अधिकारलाई मौलिक हकमा राखेकाले यसको पूर्ण कार्यान्वयनका लागि सरोकारवालाबिच समन्वय र बाल अधिकार रक्षाका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि स्थानीय तहदेखि बाल अधिकार क्षेत्रमा काम गर्ने सबै संस्था, बालपरिषद्ले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

राजधानीमा तीन दिनसम्म सञ्चालन हुने सो भेलाले बाल अधिकारका क्षेत्रमा काम गरिरहनुभएका अग्रज पुस्ताले पछिल्ला पुस्ताका भाइबहिनीलाई बाल अधिकारका क्षेत्रमा काम गर्दा आइपर्ने सबैखाले चुनौती र अवसरका बारेमा जानकारी दिँदै यस क्षेत्रमा काम गर्न हौसला प्रदान गर्ने उद्देश्य छ । सो अवसरमा हालै ग्लोबल एन्टी रेसिजम अवार्ड प्राप्त गर्नुभएका बाल अधिकारकर्मी उर्मिला चौधरीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।