• ७ मंसिर २०८१, शुक्रबार

भग्नावशेषमा एकाग्र मान्छे (कविता)

blog

नीलकाँडा, केत्तुके–सिउँडी, सिस्नु

झाङ्गिएको ठाउँ नजिकै

भग्नावशेष मन्दिरको छेउमा 

एक थोत्रो पाटी छ, त्यसकै पेटीमा

ध्यानमग्न जस्तो लाग्ने, तपस्वी जस्तो देखिने

चिन्तक, दार्शनिक जस्तो अनुभूत हुने

एक व्यक्ति

एकाग्र भएर, पलेँटी कसेर

बसिरहेको छ 

०००

वृद्ध वयको कोही आएर ऊसँग सोध्यो–

मलाई चिन्नुहुन्छ ?

उसले भन्यो– चिन्छु !

अर्को प्रौढ आएर सोध्यो–

मलाई चिन्नुहुन्छ ?

उसले भन्यो– चिन्छु !

किशोर कसैले सोध्यो–

मलाई चिन्नुहुन्छ ?

उसले भन्यो– चिन्छु

बालक बिस्तारै आएर सोध्यो–

मलाई चिन्नुहुन्छ ?

उसले भन्यो– चिन्छु ?

०००

हेरिरहेको/देखिरहेको

मलाई खसखस भयो

र गएर सोधेँ– हे भद्र महाशय !

तपाईं जसलाई पनि

चिन्छु ! चिन्छु ! चिन्छु ! मात्र भन्नुहुन्छ

अरू केही पनि भन्नु हुन्न किन ?

ती को–को हुन् र कसरी चिन्नु भयो ?

उनले उल्टै प्रश्न सोधेर जबाफ फर्काए–

के ती बाघ, भालु, हात्ती, घोडा

या अन्य जनावर थिए ?

उमेर फरक होला तर

ती सबै मान्छे नै थिए, हैन र ?

अनि म एक मान्छेले, अर्को मान्छेलाई

कसरी नचिन्नु ?

त्यसैले सबैलाई, चिन्छु नभनेर के भनुँ ?