• १३ असोज २०८१, आइतबार

गजल

blog

महँगो भएछ बजार खुद्रा यहाँ चल्दै चलेन

मोटो गोजी नहुनेहरूको चुलो बल्दै बलेन । 


मल भित्र्याउने  बेला पद जोगाउन चटारो थियो

त्यसैले यो वर्ष पनि बाली सोचेझैँ फल्दै फलेन ।


सिँचाइ बेगारको माटोझैँ भएको छ उसको मन

तर पनि उभित्र उर्जाएको मन गल्दै गलेन ।


जेलबाट निस्किँदा उत्सव मनाउँदै निस्केको देख्छु

ठूलै मान्छे रहेछन् त्यसैले इज्जत ढल्दै ढलेन । 


गरिबले दुई छाककै लागि पटक पटक मर्नु पर्छ 

बाँच्नु नै उद्देश्य हो अरूप्रति ऊ जल्दै जलेन ।