• १३ असोज २०८१, आइतबार

गौतमको समृद्धि सपना

blog

सन् २०३० भन्दा अगावै नेपालले थुप्रै ठूला जलविद्युत् परियोजना तयार गरिसक्नेछ भने १० हजार मेगावाट स्वच्छ ऊर्जा निकाल्न सक्ने हैसियत बनाइसक्नेछ जुन अर्को १० वर्षमा दोब्बर हुनेछ । सन् २०५१ मा प्रवेश गर्नु अगावै हाम्रा ऊर्जाका स्रोत विस्तार हुँदै जान सक्नेछ जसमध्ये सूर्यको तापबाट उत्पन्न हुने विद्युत् मुलुकको कुल स्वच्छ ऊर्जाको एक चौथाइ भाग ओगट्ने छ .......। (पृष्ठ ४३७)

नयाँ पुस्तक पढ्दा ज्ञानको अपेक्षा गरिन्छ । सबै पुस्तकबाट उस्तै ज्ञान प्राप्त हुँदैन । अझ आत्मकथाबाट कम ज्ञान र बढी अनुभव हासिल गर्ने अवसर मिल्छ । कुलचन्द्र गौतमको पुस्तक पढ्दा ज्ञान, अनुभव र ऊर्जासमेत प्राप्त भएको महसुस पाठकले गर्नेछन् । सबैतिर नकारात्मक प्रवृत्ति छाएको समकालीन समयमा यो पुस्तकले नेपाल आउँदा दशकमा समृद्ध हुँदै जाने मार्गचित्रले सचेत पाठकलाई प्रेरणा दिन्छ । ऊर्जा थप्छ । गौतमले आगामी तीन दशकसम्मको नेपालको सम्भावित तस्बिर पुस्तकमा दिनुभएको छ । त्यस बेला नेपालले स्वच्छ ऊर्जामा निर्भर हुँदै अर्थतन्त्रलाई गतिशील बनाउनेछ । यो परिकल्पनासँगै ऊर्जा निर्यात गरेर देशको आयमा राम्रो वृद्धि हुनेछ । गुल्मीको अमरपुरमा आजभन्दा साढे सात दशकअघि जन्मी, हुर्किएको बालक अनेक कठोर सङ्घर्षले अमेरिकामा उच्च शिक्षा लिन पुग्छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष अर्थात् युनिसेफको सेवामा पुग्छ । बालहित र अधिकारको क्षेत्रमा समर्पित हुन्छ । विश्व नागरिक बन्छ । संसारभरको अनुभवसँगै नेपालको शान्ति प्रक्रियामा योगदान दिन सक्षम हुन्छ । समृद्ध नेपालको सपना देख्छ । सरसर्ती पुस्तकको सारंश यस्तै हो तर यति मात्र हो भनियो भने लेखकप्रति अन्याय हुन्छ । पुस्तकको गहिराइसम्मै पुग्नेले मात्र यसबाट रस प्राप्त गर्छ । नेपाल र संसारको दशा र दिशा पहिल्याउन सक्ने केही न केही साहस दिन्छ ।

पुस्तक १८ वटा शीर्षकमा सूत्रीकरण छ । आरम्भ हुन्छ, गुल्मीको अमरपुर गाउँबाट हुर्किएको बाल्य परिवेशबाट । ब्राह्मणको परिवार र संस्कृतिको अध्ययन, हजुरबाको सङ्गतबाट विषयवस्तु उठान हुन्छ । धुलेपाटीमा पढ्न नजान्दा हजुरबाको एक थप्पड उहाँमा इख र सकारात्मक ऊर्जा बन्छ । आफू आफ्नै खुट्टामा उभिने इखले जीवनभर काम दिन्छ । अनेक आरोहअवरोह हुँदै काठमाडौँसम्म उच्च शिक्षाका लागि आउँदा उहाँमा आत्मविश्वास बढ्छ । आफ्नै बुताले अमेरिकी विश्वविश्वविद्यालयमा पूर्ण छात्रवृत्ति मिल्छ तर राहदानी पाइँदैन । सत्र सालको ‘कु’ पछि देश लगभग अन्धकारमा हुन्छ र ससाना कामका लागि समेत राजाकै निगाहमा अधिकार पुग्छ । दुई वर्षको लगातर प्रयासले उहाँ अमेरिका उड्नु हुन्छ । त्यो उच्च शिक्षाले उहाँलाई क्रमशः मानवअधिकार र शान्तिप्रति प्रतिबद्ध गराउँदै अनन्त अवसरका ढोका खोल्छ । 

विश्व प्रख्यात प्रिन्सटन कलेजको स्नातकपछि राष्ट्रसङ्घमा प्रवेश हुन्छ । त्यो गौरवशाली संस्थाको सात दशकमा साढे तीन दशक बिताएका गौतमले एसिया, अफ्रिका, ल्याटिन अमेरिका, पूर्वी युरोप अनेक भूगोलमा बसेर बालबालिकाको स्वास्थ्य, शिक्षा, पोषणलगायत अनेक क्षेत्रमा गर्नुभएका कामका पत्रपत्र अनुभव पुस्तकमा छन् । गुल्मीको हुर्काइ, आधुनिक संसारतर्फको सयर, विश्व नागरिक बन्ने लामो यात्राले मेहनेतका आयामलाई स्पष्ट पारेको छ । प्रिन्सटन कलेजमा स्नातक अध्ययनलाई उहाँ बिस्तृत समेट्दै उच्च शिक्षाका आकाङ्क्षीलाई बाटो देखाउनु भएको छ । फ्रेन्च र स्पेनिस भाषामा उहाँको मेहनेतले अन्तर्राष्टिय क्षेत्रमा अवसर प्राप्त हुने अनुभव त्यसमा छन् । स्वास्थ्यमा ध्यान दिई कामको चाप थेग्नु पर्ने सुझाव उहाँको छ । दुई दशकअघि गौतमको स्वास्थ्यमा प्रतिकूल अवस्था आयो । मिर्गौला प्रत्यारोपण भयो न्यूयोर्कमा । अत्यधिक कामका चापले आफूमा स्वास्थ्य समस्या आएको उहाँको अनुभव छ । 

राष्ट्रसङ्घको आकर्षण र निम्तो शीर्षकले युनिसेफमा कामको उहाँलाई प्राप्त अवसर छ । उहाँले अवसर खोज्नुभन्दा पनि अवसरले उहाँलाई खोजेको छ । उच्च शिक्षासम्म पनि वाम झुकावले उहाँले भियतनाम युद्धको विरोधी बनाउँछ । अफ्रिका र ल्याटिन अमेकिारप्रति आकर्षण बढाउँछ । ल्याटिन अमेरिकी सम्मोहन त्यसैको सेरोफेरोमा छ । इतिहासमै विश्व शिखर सम्मेलन बालबालिकाको शिखर सम्मेलन, अफ्रिकाको दोस्रो शिखर सम्मेलन र अफ्रिकी बालबालिका र विश्वको भविष्यले कार्य अनुभवकै गहिराइ देखाउँछ । त्यसैमा निरन्तरता दिँदै फलामे पर्दा पछाडिको पूर्वी युरोप चियाउँदाले आजभन्दा तीन दशकअघिको पूर्वी युरोपको अनुभव छ । सोभियत सङ्घको विलयपछि परिवर्तित परिवशको अनौठा आयाम छन् त्यहाँ । 

उहाँमा एसियाप्रति गहिरो लगाव छ । उदीयमान एसियाली शताब्दीको अनुभवले यसै कुरालाई प्रतिविम्बित गर्छ । दक्षिण एसियाली परिदृश्यले उहाँमा दक्षिण एसियालाई रौँचिरा विश्लेषण गर्न सहयोग गरेको छ । यसैगरी पूर्वी एसिया प्रशान्त क्षेत्रको पिरलोले त्यस क्षेत्र र खास गरी टापु देशको अवस्था देखाउँछ । यसैगरी विश्व प्रसिद्ध सद्भावना दूत र नेपालका कलाकारसँग सहकार्य कूटनीतिक परिवेश र सेवामा समर्पित छ । मेरा धार्मिक आस्था, अनास्था र अनुभवले धर्म र संस्कृतिलाई विज्ञानको कसीमा घोटिएको छ । तनमा नेपाल, मनमा नेपाल आफू जहाँ पुगे पनि नेपालकै समृद्धि र भलाइको सपना देख्ने विगत छन् । सफलताको आफ्नै गोरेटोले जीवन अनुभवको निष्कर्ष छन् भने सुन्दर, शान्त, समृद्ध नेपालको मेरो परिकल्पनाले नेपाल अनि मेरो सपनाको विश्वले शान्तिपूर्ण विश्वको मार्गचित्र कोरेको छ ।

 कुल ४७२ पृष्ठको यो पुस्तकमा नेपाल समृद्ध हुने सात आशा र आधार असाध्य महìवपूर्ण छन् । उहाँका ती सात निष्कर्षमा महिलाको सशक्तीकरण र युवामा फैलिएको चेतना, मानवीय विकासको क्षेत्रमा भएको उल्लेखनीय प्रगति, आप्रवासी नेपालीबाट हाम्रो अर्थतन्त्रलाई मिलेको ठूलो टेवा र भविष्यमा अझ बढी हुने सक्ने ज्ञान, सीप र प्रविधिको प्रवद्र्धन छन् । त्यसैगरी बाँकी निष्कर्षमा राष्ट्र विकासमा हुन थालेको निजी क्षेत्रको योगदान र अझ बढी हुने सम्भावना, नेपाली स्वतन्त्र सञ्चारमाध्यमको सकारात्मक सजगता र भ्रष्टाचार विरुद्धको पहरेदारी, नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सहयोग नेपाल समृद्ध हुने आधार हुन भन्ने उहाँको निष्कर्ष छ । 

नेपाल समृद्ध हुने आशा र भरोसासँगै चाल्नु पर्ने कदमका केही सूत्रसमेत उहाँले अगाडि सार्नुभएको छ । आगामी दशकमा नेपालले दु्रत विकासका निम्ति चाल्नुपर्ने सर्तका रूपमा दिइएका त्यस्ता सिफारिसमा दलीय व्यवस्थाको पुनःसंरचना र पुस्तान्तरण, गुणस्तरीय शिक्षा, निजी क्षेत्रको स्वस्थ्य विकास, सामाजिक चेतना र पुनजार्गरण, सुशासन र सदाचार छन् । खास गरी राज्यको नेतृत्व गर्छु भन्नेका लागि उहाँका ती सुझाव रामवाण नै हुनभन्दा फरक नपर्ला । गौतमले देश र संसार सफल हुन व्यक्ति असल र मेहनेती हुनुपर्छ भन्ने सुझाउनु हुन्छ । उहाँ आफ्नै अनुभवबाट खारिएका केही सफलताको सूत्र दिनुहुन्छ । ती सूत्र पाँचवटा छन् । ती सूत्रमा कालो बादलमा चाँदीको घेरा पत्ता लगाउने, दूरदृष्टिले अभिप्रेरित हुने, नचिताएको काम गर्ने, तोकिएको भन्दा बढी काम गरी देखाउने र आफू को हुँ ? भन्ने कुरा कहिल्यै नबिर्सनेजस्ता महìवपूर्ण आयाम छन् ।

कठोर परिश्रम, सकारात्मक सोच, निरन्तरताका प्रतीक मान्न सकिन्छ कुलचन्द्र गौतम । पुस्तकमा कमीकमजोरी नहोस् भनरे धेरै सजगता अपनाइएको छ तर पनि अङ्ग्रेजी भाषाबाट नेपालीमा ल्याउँदा कतिपय शब्दको एकरूपता छैन । बालबालिका शब्द हुँदाहुँदै कतिपय ठाउँमा केटाकेटी शब्द प्रयोग नगर्दा राम्रो हुने थियो । पुस्तकमा दक्षिण एसियाली राष्ट्रमण्डलको परिकल्पना, संयुक्त राष्ट्रसङ्घको पुनःसंरचना र प्रजातान्त्रीकरणजस्ता नवीन विषय कूटनीतिक महìवका छन् । प्रकाशकमा पब्लिकेसन नेपालय रहेको पुस्तकको मोल ७५० रुपियाँ ठिकै लाग्छ ।