• ७ पुस २०८१, आइतबार

हुम्लामा चुस्त सुरक्षा व्यवस्था

blog

सशस्त्र प्रहरीको मोवाइल गस्ती । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर २ गते । जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित जिल्लाभरी अवाञ्छित घटना हुन नदिन सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता हेरी सुरक्षा व्यवस्था चुस्त बनाइएको हो ।  

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सीता परियारले निर्वाचन भयरहित वातावरण सम्पन्न गर्न निर्वाचन विशेष सुरक्षा योजना लागू गरिएको बताउनुभयो । सम्भावित घटनाको निगरानी राख्दै मतदान केन्द्रको संवेदनशीलताअनुसार योजना लागू गरिएको बताउनुभयो । हुम्लामा २४ वटा मतदान केन्द्र अतिसंवेदनशीलता, २२ वटा संवेदनशील र १२ वटा सामान्य मतदान केन्द्रका रुपमा समितिले निर्धारण गरेको छ । 

सशस्त्र प्रहरीको निर्वाचन सुरक्षाबेस दक्षिणी क्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्थापना भएको, खार्पुनाथ, अदानचुली, ताँजाकोट र नाम्खा गाउँपालिकामा मोबाइल टिम र सिमकोट गाउँपालिकामा टिम परिचालन गरिएको समितिको भनाइ छ । 

त्यसैगरी उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका –६ को लिमीमा नेपाली सेनाको सेक्सन अप्रेटिङ बेस र सर्केगार्डमा सेनाका सहसेनानीको नेतृत्वमा कम्पनी अप्रेटिङ बेस स्थापना भएर परिचालन हुँदैआएको छ । उहाँले सुरक्षाकर्मी मतदान केन्द्रको अवस्थाअनुसार चौबीसै घण्टा परिचालन हुने प्रजिअ परियारले बताउनुभयो । त्यस्तै, नेपाल प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा पनि दक्षिणी क्षेत्रमा मोबाइल टिम परिचालन गरिएको छ । 

निर्वाचन सुरक्षा व्यवस्थाका लागि चार किसिमका सुरक्षाकर्मी एक हजार २६८ जना सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो  । जसमा ३३५ जना जनपद प्रहरी, ५३८ जना म्यादी प्रहरी, १८५ जना सशस्त्र प्रहरी र २२० जना नेपाली सेनालाई खटाइएको छ । सबै संयन्त्र परिचालन भइसकेका कारण जिल्लाको सुरक्षा व्यवस्था सुदृढ र प्रभावकारी रहेको समितिले विश्वास लिएको छ ।