• १३ असोज २०८१, आइतबार

नेपाललाई यूएईको मध्यम लक्ष्य

blog

काठमाडौं, मङ्सिर २ गते । एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रन बनायो । 

यूएईका लागि आयान अफ्जल खानले अविजित सर्वाधिक ५४ रन बनाउनुभयो । आलिसान सरफुले ३३, रोहन मुस्ताफाले २४, हाजार्ट विलालले अविजित २० र मुहमद वासिमले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका गुल्सन झा, दीपेन्दसिंह ऐरी र कुशल भुर्तेलले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिनुभयो । 

आजको खेल दुवै टोलीका लागि निर्णायक हो । सिरिज जित्न दुवै टोलीलाई जित्नैपर्ने बाध्यता छ । तीन खेलको सिरिज १–१ को अवस्थामा छ ।

नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले यूएईलाई तीन विकेटले पराजित गर्दै सिरिजमा फर्किएको थियो । 

कमजोर ब्याटिङ  गरिरहेको नेपाललाई सिरिज जित्न आज ब्याटिङमा उल्लेख्य सुधार गर्नुपर्ने अवस्था छ । नेपाल र यूएईबीच अहिलेसम्म आठ वटा एकदिवसीय खेल भएका छन् । जसमध्ये यूएई पाँच र नेपाल तीन खेलमा विजयी भएको छ ।

नेपालले आईसीसी लिग डिभिजन-२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ ।

लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।

यूएईविरुद्ध नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हरिशङ्कर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।