• १३ साउन २०८१, आइतबार

५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन

blog

कलैया उपमहानगरपालिका –२६ का महिला किसान धानको भारी बोक्दै । तस्बिर : शिवशङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, कात्तिक २८ गते । बारामा चालु आर्थिक वर्ष २०७९–८० मा कृषकहरूले ५१ हजार १९१ दशमलव ५ मेट्रिक टन भदैया धान उत्पादन गरेका छन् । जिल्लाका विभिन्न स्थानका किसानहरूले हर्दिनाथ १, चैते २, चैते ४ र राधा ४ जातको भदैया धान ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा खेती गरी सो धान उत्पादन गरेका हुन् ।

प्रतिहेक्टर ४.३ मेट्रिक टनले ५१ हजार १९१.५ मेट्रिक टन भदैया धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्रप्रसाद यादवले बताउनुभयो । जिल्लाको सबै क्षेत्रमा प्रायः भदैया धान खेती हुनेगरेको छ । 

हाल उत्पादित भदैया धान बजारमा प्रतिक्विन्टल २५ सयका दरले कुल एक अर्ब २७ करोड ९७ लाख ८७ हजार पाँच सय रुपियाँ बराबरको धान उत्पादन भएको ज्ञान केन्द्रका कृषि विज्ञ तथा बाली विकास अधिकृत राजनारायणप्रसाद साहले जानकारी दिनुभयो । उत्पादित भदैया धान गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल चार सयले वृद्धि भएको छ ।