• १२ असोज २०८१, शनिबार

भन्सारको सर्भर डाउन हुँदा व्यवसायी मारमा

blog

सर्भरमा समस्या आएपछि भन्सार हुन नसकी कार्यालय परिसरमा थन्किएका मालबाहक गाडी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, कात्तिक २८ गते । नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् ।

आइतबारदेखि भन्सार कार्यालयको  सर्भर डाउन रहेको भन्दै भन्सार कार्यालयले भन्सारको काम गर्न नसक्दा समस्या भएको व्यवसायीको गुनासो छ ।  सर्भर डाउन भएको जनाएर राजस्व सङ्कलन गर्ने काममा अवरोध भएपछि आइतवार बेलुका एक घण्टा मात्र राजस्व सङ्कलनको काम गरिएको तथा सोमवार बिहानबाट भन्सार नगरिएको व्यवसायीको गुनासो छ । 

भन्सार कार्यालयमा राजस्व सङ्कलन नियमित हुन नसक्दा भन्सार कार्यालयमा पुगेका गाडीको अतिरिक्त भाडा तिर्नुपरेको उद्योगी व्यवसायीको गुनासो छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अनुसार  सर्भर समस्या समाधान नहुँदा व्यवसायीले अतिरिक्त शुल्क तिर्नुपरेको छ ।  

सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले  सर्भर डाउन भएको र सुचारु गर्न नसकिएकाले उद्योगी व्यवसायीलाई नोक्सानी भएको बताउनुभयो । छिटोभन्दा छिटो  सर्भरठीक पार्न उहाँले आग्रह गर्नुभयो । 

उद्योगी व्यावसायीको भन्सार गराउने काम गर्दै आउनुभएका मुख्तार राइले दुई दिनदेखि  सर्भरमा समस्या आएपछि मालसामान मगाएका व्यवसायीले आफ्नो सामान गन्तव्यमा नपुगेको भन्दै फोन गरेर हैरान पारेको उहाँले बताउनुभयो ।  

सो बारेमा नेपालगञ्ज भन्सार कार्यालयमा जानकारी माग्दा नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी नाथ सापकोटाले भन्सार विभागको  सर्भरमा समस्या आएपछि सोमबारदेखि अवरोध भएको बताउनुभयो । यो समस्या यहाँ मात्र नभइ देशभरी भएको उहाँको भनाइ छ । समस्या समाधानको प्रयास भइरहेको उहाँले बताउनुभयो ।   

 सर्भर डाउन भएपछि थुप्रै गाडीह थन्किएको स्वीकार गर्दै अधिकृत सापकोटाले त्यसबाट यात्रु शाखाको राजस्व सङ्कलनमा कुनै समस्या नआएको प्रष्ट पार्नुभयो । कार्गो शाखाको काममा भने समस्या आएको उहाँको भनाइ छ ।