• १२ असोज २०८१, शनिबार

नयाँ प्रचार शैली : ‘सेल्फी विथ केपी बा’

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २४ गते । निर्वाचनको मिति मङ्सिर ४ नजिकिसकेको छ, चुनावी रौनक सबैतिर छ । किसानलाई धान काट्न र थन्क्याउन भ्याइनभ्याई छ । राजनीतिक दल तथा यसका नेता कार्यकर्ता, पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरू कतै खेतबारीमा त कतै भजनकिर्तन भएको ठाउँमा गएर मतदातासँग मत माग्ने काम गरिरहेका छन् । यही क्रममा झापा ५ मा मतदाताहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सेल्फी लिन व्यस्त देखिएका छन् ।

फरक तवरले आफूतिर मतदाता आकर्षित गर्न उम्मेदवारहरू लागिपरेको समयमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीको फरक किसिमको कार्यक्रमले धेरैलाई आकर्षित गरिरहेको देखिएको छ । 

दिउँसो २ बजे फनपार्कमा आएर करिब ४ घण्टासम्म ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको थियो । कार्यक्रमको व्यस्तताका कारण अध्यक्ष ओली कार्यक्रमस्थलमा अढाई घण्टा ढिलो पुग्नुभएको थियो । फनपार्कमा उहाँसँग सेल्फि खिचाउन आउनेको भिड थामिनसक्नु भएको थियो । 

श्रीमती राधिका शाक्यसहित मुसुक्क मुस्कुराउँदै जब अध्यक्ष ओली गाडिबाट निस्कनु भयो, सबैले मोबाइलमा क्यामेरा तेर्स्याएर फोटो लिन तँछाडमछाड गर्नुभयो । ओलीले उपस्थित सवैसँग एकल तथा सामूहिक सेल्फिमा करिब ४ घण्टा बिताउनुभयो । सबैसँग मुसुक्क मुस्कुराउँदै र मतदाताको आग्रहअनुसारको हाउभाउमा उहाँले फोटो खिचाउनुभयो ।

विशेष गरेर नयाँ र युवा मतदाताका लागि लक्षित कार्यक्रम भए पनि सबै उमेर समूहका व्यक्तिले उत्साहजनक उपस्थिति जनाउनुभयो । निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. ५ का संयोजक देवेन्द्र दाहालले भन्नुभयो, “धेरैलाई अध्यक्ष ओलीसँग प्रत्यक्ष भेट्न र फोटो खिचाउन रहर भएको देखियो, सोही कारण कार्यक्रम आयोजना गरिएको हो ।” 


ओलीको सचिवालयका दीपेन्द्र दाहालका अनुसार निवासदेखि कार्यक्रमस्थलमा समेत ओलीसँग फोटो खिच्न धेरैले रहर गर्ने र सोअनुसार समय व्यवस्थापन गर्न कठिन थियो । यो कार्यक्रमले धेरै मतदाता तथा अन्य जो कोहीले पनि उहाँसँग फोटो खिचाउने अभिलासा पूरा गर्नुभएको छ । 

“कस्तो राम्रो फोटो आएछ, कति ठूलो रहर थियो यसरी फोटो खिचाउन” सेल्फी खिचाएपछि सो फोटो हेरेर मुसुक्क मुस्कुराउँदै २० बर्षीया साधना निरौलाले भन्नुभयो । उहाँसहित ७ जना फोटो खिचाउन नै गौरादहबाट आउनुभएको रहेछ । एक हजार रुपियाँमा सिटी भाडामा लिएर आएका हौँ, उहाँले भन्नुभयो ।

अध्यक्ष ओली बेलुका अबेर अर्थात् ८ बजेसम्म फन पार्कमा मतदाता तथा फन पार्कमा आएकाहरूसँग सेल्फी खिचाएर बस्नुभयो । कतिपयले उहाँसँग आफ्ना मागहरू पनि त्यो अवसरमा राख्नुभयो । तर अध्यक्ष ओलीले सो अवसरमा खास राजनीतिक विषयवस्तु भने राख्नु भएन । “कोही त छुट्नु भएन नि” उहाँले ठट्यौली गर्दै फनपार्कबाट बाहिरिनुभयो ।