• २३ असार २०८२, सोमबार

शिक्षा क्षेत्रमा अब्बल बुटवल

blog

आठ हजार तीन सय विद्यार्थी अध्ययन गर्ने बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय ।

छविलाल पाण्डे 

बुटवल, असार २३ गते । गत साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बुटवलका ४० जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भए । जानकारका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । त्योभन्दा तल्ला ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थी बुटवलमा ठुलो सङ्ख्यामा छन् । यो तथ्याङ्कबाट पुष्टि हुन्छ कि बुटवल अब बिस्तारै शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै छ । 

बुटवलका सामुदायिक र संस्थागत विद्यालयले प्राप्त गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले पनि बुटवल शैक्षिक केन्द्रका रूपमा विकास हुँदै छ भन्ने कुरा पुष्टि गर्छ । एसइईपछि के विषय रोज्ने ? के पढ्ने ? कहाँ पढ्ने ? भन्ने विषयमा विद्यार्थीबिच अहिले कुनै अन्योल छैन किनभने बुटवल शैक्षिक गन्तव्य बनिसकेको छ । 

अभिभावकमा समेत आफ्ना छोराछोरीलाई कहाँ र के पढाउने भन्ने अन्योल बुटवलका विद्यालयले मेटाउन सफल भएका छन् । ती सबै अन्योल चिर्न बुटवलका विद्यालय सक्षम छन् । बुटवलका विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन, कानुन, सूचना प्रविधि र प्राविधिक विषय अध्ययन अध्यापन हुँदै आएको छ । अधिकांश विद्यार्थीका छनोटका विषय पनि यिनै बन्ने गरेको छ । 

बुटवलको दीप इङ्ग्लिस बोर्डिङ स्कुलका प्राचार्य टीकाराम न्यौपाने एसइईपछि विद्यार्थीको रोजाइ बुटवल नै बन्ने गरेको बताउनुहुन्छ । बुटवलमा देशमै उत्कृष्ट नतिजा ल्याउने विद्यालय प्रशस्त छन् । बुटवलका उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेकाहरू डाक्टर, इन्जिनियर मात्रै होइन सरकारी सेवामा प्रवेश गरेका प्रशस्त उदाहरण छन् । आफ्नै विद्यालयबाट सयौँ जनशक्ति तयार भई सरकारी सेवादेखि विदेशमा समेत काम गरिरहेको उहाँको भनाइ छ । बुटवलका विद्यालयले विद्यार्थीका लागि ठुलो अवसर सिर्जना गरेको उहाँको दाबी छ । 

विद्यार्थीलाई विषय रोज्ने विभिन्न विकल्प छन् तर विद्यार्थीले कुन विषय पढ्ने हो र भविष्यमा कुन क्षेत्रमा करियर बनाउने भन्ने कुरा विद्यार्थीमै निर्भर हुन्छ । नेपालमै सबैभन्दा धेरै आठ हजार तीन सय विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक युवराज कँडेलको विचारमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि बुटवलमै अवसरको खानी छ । 

बुटवलको न्यु होराइजन माध्यमिक विद्यालय नेपालकै उत्कृष्टमध्येको एक विद्यालय हो भन्ने कुरा यसले करिब दुई दशकभन्दा बढी समयदेखि दिँदै आएको नतिजाले देखाउँदै आएको छ । प्राचार्य लोकनाथ उपाध्यायका अनुसार आजभन्दा २०/२५ वर्षअघिसम्म बुटवलबाटै एसएलसीमा बोर्ड प्रथम भएका विद्यार्थी बुटवलबाहिर गएर अध्ययन गर्नुपर्ने अवस्था थियो तर पछिल्लो समय बुटवलमै कक्षा ११/१२ मा राम्रो अध्ययनको अवसर जुरेकाले विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता छैन । बुटवलका निजी तथा सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थी सयौँको सङ्ख्यामा डाक्टर, इन्जिनियर बनेका छन् । त्यसको आधार यही बुटवलका विद्यालयले तयार गरेका छन् । 

कालिका मानवज्ञान मावि बुटवल नेपालको उत्कृष्ट विद्यालयमा पर्छ । यहाँको पढाइ र वातावरण दुवैले यस विद्यालयलाई अन्य सरकारी विद्यालयभन्दा फरक बनाएको छ । २०१८ सालमा स्थापना भएको यो विद्यालयमा मुलुकमै सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै आठ हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार यस विद्यालयमा पढ्ने विद्यार्थीलाई आफैँ सक्षम हुनका लागि अभिप्रेरित गरिन्छ । सिक्ने वातावरण पनि आफैँ सिर्जना गर्न लगाइन्छ । त्यसले गर्दा पनि यो विद्यालय अन्य सरकारी विद्यालयको तुलनामा फरक छ । 

सामुदायिकतर्फ बुटवलको कान्ति मावि पनि अब्बल विद्यालय हो । कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली विद्यालयको नतिजा राम्रो हुनुमा तालिम र अनुभव प्राप्त जनशक्ति रहेको बताउनुहुन्छ । यो विद्यालयमा भर्ना हुन आएका धेरै विद्यार्थी फर्काउनुपर्ने बाध्यता रहँदै आएको विद्यालयको भनाइ छ । यहाँ अध्ययनरत धेरै विद्यार्थीले डाक्टर, इन्जिनियरिङ अध्ययनमा नाम निकाल्न सफल हुँदै आएको प्रधानाध्यापक ज्ञवालीको भनाइ छ । 

बुटवलकै एभरेस्ट मावि, ग्लोरियस कलेज, तिलोत्तमा मावि, एचिभर्स कलेज, सिद्धार्थ कलेज, सिद्धेश्वर लालकुमारी माविलगायतका सामुदायिक तथा संस्थागत विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन् । एसइईमा राम्रो अङ्क ल्याएका विद्यार्थी राम्रा कलेज खोज्दै काठमाडौँ जाने प्रवृत्तिलाई रोक्न ई लाइब्रेरी, सुविधासम्पन्न प्रयोगशाला र चिटिक्कका कक्षाकोठा बुटवलका विद्यालयका पछिल्ला विशेषता हुन् ।

बुटवलका क्याम्पसमा भविष्य खोज्ने विद्यार्थीको चाप कति हुन्छ भन्ने कुरा केही वर्षयताका बुटवलका ठुला क्याम्पसमा भर्नाका लागि विद्यार्थीको चाप देखेरै बुझ्न सकिन्छ । रुपन्देहीमा ९७ वटा विद्यालय रहेका छन् । त्यसमध्ये ३९ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालय रहेका छन् । त्यस्तै चार मदरसा, एक धार्मिक विद्यालय र तीन प्राविधिक शिक्षालय सञ्चालनमा छन् । 

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तर्गतका २५ वटा क्याम्पस बुटवलमा सञ्चालनमा छन् । माध्यमिक विद्यालयले मात्रै होइन, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, कालिका क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पसलगायतका ठुला तथा स्नातकोत्तरसम्म अध्यापन हुने विद्यालयले पनि विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकीतर्फका विद्यार्थीलाई अध्ययनको अवसर जुराएका छन् । बुटवलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटेल म्यानेजमेन्ट, कानुन, सूचना प्रविधि, सामाजिक मनोविज्ञान जस्ता विषयमा पढाइ हुँदै आएको छ ।