• ७ जेठ २०८१, सोमबार

तारानाथ शर्मा सरलाई म पनि चिन्दछु

blog

प्रसङ्ग मधुपर्क असार २०७९ तारानाथ शर्मा विशेष ।

मैले उहाँलाई पहिलो र अन्तिम पटक २०५६ सालमा भेटेको हुनुपर्छ । मेरो कान्छो छोरा नोबेल अकाडेमीमा प्लस्  टू पढ्दाताकाको कुरा हो । उहाँ प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँका बारेमा सुनेको थिएँ । ‘बेलाइततिर  बरालिँदा’  र अन्य एक दुई कृति पढेको थिएँ । उहाँले चाँदनी शाह (रानी ऐश्वर्य)का कविता अनुवाद गरेको सुनेको थिएँ । साहित्यको  फाँटमा खेती गर्ने  धेरै हुन्छन् तर स्थापित धेरै कम । उहाँ स्थापित लेखक साहित्यकार विद्वान् हो, बुझेको  थिएँ ।

मलाई उहाँले सोध्नुभएको थियो– कसरी आउनुभयो ? मैले भनेको थिएँ, “नयाँ बानेश्वरबाट नोबेल एकेडेमीको ढोकासम्म  टेम्पोमा, ढोकाबाट यस भवनको तलसम्म सम्म बाटो हिँडेर ।  तलबाट तपाईंको कोठासम्म सिँढी उक्लेर ।”

उहाँको अर्को प्रश्न थियो– “केही गाह्रो  भयो ?” 

मैले भनेको थिएँ– “तपाईं धेरै माथि  बस्नुहुँदो रहेछ । भुइँ तलामा  भए भेट्न सजिलो हुन्थ्यो ।”

उहाँको भनाइ  थियो– “भेट्न चाहनेले जसरी पनि भेटी हाल्छन्  ।”

यु आर राइट सर मैले अङ्ग्रेजीमा भनेको थिएँ र साथै थपेको थिएँ, “जस्तै म आइपुगेँ  ।” अनि हामी दुवै हाँसेका थियौंँ

म र मेरो म्याम दुवै गएका थियौँ । उहाँले बस्न भन्नुभयो । पानी मगाउनुभयो । चिया बिस्कुटको मलाई याद छैन । त्यसपछि विषयतर्फ मोडियौँ  । विषय खासै थिएन –मलाई पिएच.डी.को अनावश्यक धुन चढेको थियो । जो कहिल्यै पूरा भएन । मैले मेरो जिज्ञासा राखेको थिएँ, “सेक्स रिलिजनलाई केन्द्रमा राखेर लारेन्स  र बीपीको तुलनात्मक अध्ययन गर्न चाहन्छु ।” “त्यसपछि के हुन्छ ?” उहाँले उडाएझैंँ गरेर मलाई सोध्नुभयो । “केही हुँदैन तर गर्न सकेँ भने मैले आफ्नो नामको अघि डाक्टर लेख्न पाउँछु साथै पछि प्रोफेसर बन्न सजिलो हुन्छ ।” विषयअन्तर्गत नै रहेर केहीबेरको विमर्शपछि उहाँले भन्नुभएको थियो– “विद्यावारिधि खेलवाड होइन । यसका लागि ठूलो समर्पण चाहिन्छ ।” फुई हान्न सजिलो हुन्छ तर सत्य हो, त्यस बखत म त्यो समर्पणका लागि तयार थिइनँ र कहिलै भइनँ पनि । प्राथमिकतामा अन्य जिम्मेवारी थिए, खास गरेर दुई छोरी र दुई छोराको  शिक्षा प्रबन्ध ।

डा. तारानाथ शर्माजस्तो व्यक्तित्वलाई  बुझ्न कसैको गफ, एक भेट वा एकाध पुस्तकको पढाइ पर्याप्त हुँदैन नै ।  उहाँलाई भेट्ने उत्कट इच्छा थियो । विद्यावारिधि सोधपुछ बहानामा पुगेको थिएँ । इच्छा पूरा भयो । हामी हिँड्न लाग्दा उहाँले सोध्नुभएको थियो– “कसरी जानुहुन्छ ?” “आउँदा गाह्रो थियो । सोद्धै आएको थिएँ । जाँदा गाह्रो छैन । गन्तव्य बुझिसकेँ” भन्दै मैले हात मिलाएको थिएँ । 

मधुपर्कको असार अङ्कमा अन्य लेखहरू पनि छन् तारानाथ शर्मा, उहाँको व्यक्तित्व र विद्वता बुझ्न सहयोग गर्ने । डा. ज्ञानू पाण्डे, जय भट्टराई, राजकुमार बानियाँ, शरद प्रधानका लेख पढेर थाहा भयो उहाँको व्यक्तित्व र सङ्घर्षबारे, धेरै थाहा रहेनछ मलाई । तारानाथ शर्माले त कुनै बेला राजा महेन्द्रको आलोचनासमेत गरेका रहेछन् र जेल पनि परेका रहेछन् । समालोचनामा कट्टरवादी हुँदाहुँदै पनि परिस्थितिअनुसार सम्झौतावादी पनि रहेछन् भन्ने अनुमान गरेँ । खरो स्वभावका छन् भन्ने सुनेको थिएँ तर मभन्दा खरा रहेनछन् जस्तो लाग्यो । वीरेन्द्र क्याम्पसको चिफ हुँदा आजित भएर दुई विद्यार्थीलाई जेल पठाइदिएको थिएँ । एक पटक नेपाली आर्मीको एउटा क्याप्टेन परीक्षामा निरीक्षकलाई नटेरी नटेरी गाइड पुस्तक राखेर अनियमितता गर्दैरहेछन् । उनलाई सोझै परीक्षा हलबाट बाहिर निकालेको थिएँ । भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन गर्न मलाई गृह मन्त्रालयबाट ठाडो आदेश आएको थियो । मैले ठाडै अस्वीकार गरेको थिएँ– “जबसम्म काम पूरा हुँदैन, उद्घाटन हुँदैन” भन्दै । अर्को वर्ष वीरेन्द्र क्याम्पसमा संयोगवश कृष्णप्रसाद सिटौलासँग भेट हुँदा उहाँले सोध्नुभएको थियो– “ए ए तपाईं हो, एलबी क्षेत्री, क्याम्पस चिफ ?” मैले– “हो सर, म नै हो” भनेको थिएँ । राजाको वकालत गरिरहेकाहरू र उहाँबीच सम्झौता भयो होला र उहाँ राजभक्त हुनुभयो होला । मैले पनि उहाँलाई ५६ सालमा भेट्दा सोधेको थिएँ – You translated the works of Queen Aishwarya ? Yes, it's no crime. And I was paid for that. I needed money. I still need money so I am here at this Academy.   उहाँको स्पष्ट जवाफ मलाई निकै मन परेको थियो । म पनि त्यस्तै स्वभावको नै हो र अझै छु । एउटा थप कुरा यसै अङ्कमा डा. ज्ञानू पाण्डे भन्नुहुन्छ, “तारानाथ गुरुलाई पूरा बुझ्न शान्ता शर्माका कुरा पनि सुन्नु पर्छ ।” सत्य हो । पत्नीले पतिलाई नजिकबाट अवलोकन र अध्ययन गरिरहेका हुन्छन् नै । एक पटक मेरी श्रीमतीले ओम शान्तिबाट फर्किंदा मलाई भन्नुभएको थियो– “बूढो, कतिपय मान्छे त भ्रममा बाँच्दारहेछन् नि ।” “के भयो ?” “आज ओम शान्तिमा धेरैले तपाईंलाई सज्जन मान्छे भन्दै थिए ।” मलाई थाहा छ मेरो म्यामले मलाई अरूले भन्दा बढी चिन्नुहुन्छ ।

राजकुमार बानियाको लेख पढ्दा तारानाथ शर्माबारे मात्र होइन उहाँले लेखेको पुस्तक ‘पश्चिमका केही महान्  साहित्यकार’बारे बुझ्न पनि पाठकलाई निकै सहयोग पु¥याउँछ । म आफँै अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले यी विदेशी लेखकहरूबारे धेर थोर  पढेको छु, थोरबहुत ज्ञान छ । अनि थप कतिपय कुरा समालोचक बानियाको लेखबाट थाहा भयो । जस्तै पीबी सेली मर्दा उनको गोजीमा किट्सका कविता थिए । मैले किट्स र सेली दुवैका कविता पढेको छु र पढाएको छु । तर कति पो जानेको छु र विश्वसाहित्यका यी दुई छायावादी कविहरूबारे ? आफ्नो औकात आफैँलाई थाहा हुनुपर्छ । मलाई थाहा छ । ‘पश्चिमका केही महान्  साहित्यकार’ को इमानदार समीक्षक भएर म यति मात्र भन्न सक्छु तारानाथ सरले आफ्नो यो अद्वितीय पुस्तकमा छुटाउन नहुने एउटा लेखक छुटाएका रहेछन्– जी बी शा ।

राजकुमार बानियाको यस लेखले तारानाथ शर्माको पुस्तक ‘मेरी शान्तालाई’ पढ्नुपर्ने पुस्तक रहेछ भन्ने ज्ञान भयो । मैले पढेको छैन । बानियाँ लेख्छन्– “‘मेरी शान्तालाई’ समर्पित पुस्तक ताना शर्माको जीवनीलेखन मात्र होइन, समालोचना शैलीको पनि उम्दा नमुना हो । उनको जीवनी अनि समालोचना शैली रसिलो, भरिलो, चाखिलो र चोटिलो छ । विश्वविद्यालयका प्राध्यापकहरूमा विद्यमान शुष्क शैली उनमा पाइँदैन  । उनका समालोचना अत्यन्त सिर्जनशील छन् ।” यस्तो लेख्दै गर्दा बानियाले  समालोचनाबारे  खुसुक्क  आफ्नो विचार पनि राख्न भ्याएका छन् । 

नेपाली साहित्यको खेमामा समालोचनाको खडेरी वा विकृत रूप देखापरेको बेलामा मलाई पनि लाग्छ मलगायत  पाठकहरूले ‘मेरी शान्तालाई’ पुस्तक पढ्नुपर्छ र सिक्नुपर्छ समालोचनाको महìव  र शैलीबारे ।

शरद प्रधानले त तारानाथ शर्मासँग अन्तरवार्ता नै लिनुभएको रहेछ । एउटा रमाइलो प्रसङ्ग के भने शरद सरले सोद्धा पनि तारा सरले भन्नुभएको रहेछ– “मैले जे पाएँ त्यही नै अनुवाद गर्नुप¥यो, चाहे मलाई मन लागोस्  वा नलागोस्  । किनकि यो नै  मेरो कमाउने भाँडो थियो, ।” मैले सोद्धा पनि उहाँको आशयमा बाध्यात्मक रूपमा पैसाको प्राथमिकता नै थियो । यसरी उहाँबारे यस सन्दर्भमा प्रस्ट हुने क्रममा अन्यले पनि भन्लान्– एल.बी.ले सत्य लेखेको रहेछ । ताना शर्माको यो पाटो बुझ्न खोज्दा कुनै विवादको कुरा रहेन नै ।  

नेपाली साहित्यमा गुनासा धेरै नै देखिन्छन् । सिर्जना र कृतिमाथि समीक्षासँगै आलोचना पनि हुन्छन् । तर आजको सन्दर्भमा  समालोचनाले  कताकता विश्राम लिए जस्तो लाग्छ  । यस्तोमा मधुपर्कको यो विशेषाङ्क बहु–आयामिक यात्रालाई सलाम गर्नुपर्छ । एक दिन सम्पूर्ण पुस्तकमा एकजना भाइले भने– “म त पढदिनँ मधुपर्क ।”  मैले  भनेँ, “घाटा तिम्लाई नै त हो । पढ्ने हो भने,   मात्र २५ रुपियाँमा  तारानाथ शर्मा पढ्न पाउँछौ । अग्रज साहित्यकारहरूलाई नपढी र नबुझी आफ्नो साहित्यलाई  कसरी सुधार्ने ?” सायद आजका पानीका फोका जस्ता लेखकहरूमा  प्रशंसाबाहेक अरू सुन्ने क्षमता पनि छैन । तसर्थ तारानाथ शर्माका भनाइ  “मेरो समालोचना फटाहाहरूलाई लाटो पारुन्जेल पोल्ने सिस्नु हो ।” सबैलाई पच्दैन पनि । कहिलेकाहीँ उहाँलाई झोकी मान्छे, कडा स्वभावको मान्छे जस्ता खिताबले सम्मान गरिँदो  रहेछ । ज्ञानू म्यामको लेखमा यी सबै पढ्दै गर्दा  एकछिन आफैँलाई सम्झेर हाँसो पनि लाग्यो ।

अन्त्यमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो । हामीले पनि सुनेको तारानाथ शर्मा सर जीवनको अन्तिम अवस्थामा विस्मृतिको रोगी  हुनुहुन्थ्यो अरे । तर त्यस्तो रहेनछ ।  डा. ज्ञानु म्यामलाई उहाँकी श्रीमती शान्ता शर्माले जानकारी दिएअनुसार  तारा सर  जीवनका पछिल्ला दिनहरूमा तीव्र रूपमा एक्लोपनको नियास्रोले बिथालिनुभएको  रहेछ ।

जीवनको अन्तिम प्रहरमा  एक्लोपनको नियास्रो अनुभूति  सायद सबै विद्वान्हरूको नियति नै होजस्तो लाग्छ ।  मलाई सम्झना भयो एक पटक मलाई मेरा गुरु आदरणीय दुर्गाप्रसाद भण्डारी सरलाई भेट्ने उत्कट इच्छा भयो ।  मैले उदय अधिकारीलाई भनेँ ‘जाम’ । काठमाडौँ  पुगी विद्वान् मित्र शेखर खरेलको सहयोगमा पुरानो बानेश्वरको निवासमा दुर्गा भण्डारी सरलाई भेट्न हामी तीनै जना गएका थियौँ । उहाँमा  विस्मृतिको समस्या थियो । तर हामीलाई देखेरे दुर्गा सर निकै खुशी हुनुभएको थियो । धेरै बेर हामी उहाँसँग बस्यौँ । हामी फर्कन लाग्दा उहाँ पनि हाम्रो पछिपछि आउनुभयो । हामी फेरि  उहाँको आँगनमा गएर बस्यौँ केही बेर र फेरि  हिँड्न थाल्दा पुनः पछिपछि आउनुभयो । यस पटक  म्यामले आएर उहाँलाई समातेर लानुभयो । मलाई लाग्छ दुर्गा सरलाई पनि तारा सरलाई जस्तै थोरै विस्मृतिले धेरै एक्लोपनको नियास्रोले बिथोलेको थियो होला । मलाई लाग्छ जय भट्टराईको लेखको अन्तिम वाक्य– “अक्षरबाटै  धेरैको मन जित्ने, सफलताको शिखर आरोहण  गर्न सफल साधकलाई गुमाएको नमीठो वर्तमान बाँच्दाको पीडा यतिखेर नेपाली साहित्यले भोग्दै छ ।”  तारानाथ शर्मालाई मात्र नभएर ती सबै लेखकहरूका लागि समर्पित हो, जसले ठूलो योगदान पु-याउनुभएको छ नेपाली साहित्यलाई उत्कृष्टताको शिखरमा पु-याउन ।