• १२ असोज २०८१, शनिबार

‘चासोक तङ्नाम’ सुरु

blog

नारायण तुम्बापो

फिदिम, कात्तिक १३ गते। पूर्वका बहुल लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी उत्सव) मनाउन सुरु गरेका छन्। नयाँ धान कोदो पाक्न थालेसँगै लिम्बू जातिको घर-घरमा चासोक तङ्नाम मनाउन सुरु हुन्छ। 

नयाँ अन्न पुज्ने चढाउने चलनलाई चासोक तङ्नाम भनिने लिम्बू संस्कृतिज्ञाता पाँचथरका राजेन्द्र जबेगु बताउनुहुन्छ। चासोक तङ्नामका रूपमा तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई थान थापेर फेदाङ्मा (लिम्बू पुरेत) द्वारा नयाँ अन्न चडाइन्छ। अनि मात्रै नयाँ अन्न खान तथा भण्डारण गर्न थालिन्छ। यो चाड नयाँ अन्न कटनी, सङ्कलन र भण्डारण गर्ने समयभरि मनाउने गरिन्छ। नयाँ अन्नबाली पुज्ने उँधौली न्वागी पर्वको लिम्बू संस्करण नै चासोक तङ्नाम हो। 

लिम्बू बहुल पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी चासोक तङ्नामको थातथलो हो। प्रकृति पूजक लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो, चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएको बताइन्छ। मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक÷संस्थागतले मनाउने चलन छ। ठिक यो समयमा पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ। 

लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले चासोक तङ्नाम संस्थागतले मनाउने चलन बसालेको हो। नयाँ अन्नबाली पुज्ने क्रममा बालीसँगै सारमा उब्जाई दिने प्रकृति जल, जमिन, वायु, अग्निलाई विशेष ढङ्गले पुजिन्छ। 

चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि रहेको चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताउनुभयो। लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् (देवता) नै मान्छन्। त्यसैले यी जाति अन्नमा खुसीका साथै प्रेम प्रकट गर्न पुज्छन्। 


चासोकका बेला कलात्मकले चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ। यसलाई अन्नको पनि सम्मान हुने र घरको पनि शोभा बढ्ने गरेर ढोका छेउ झुण्याउने चलन छ। लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरुले काँचो कन्दमूल खान्थे। यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे। यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर ), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए। 

प्राप्त बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला ) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरिन। आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए। यसपछि मानिसले स्वास्थ्य बदवर्धक खाद्यान्न पाउन थाले। यसपछि प्रकृतिसहित खाद्यान्नको बिउँ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई स-धन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो। यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको हो। 

धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नै पर्ने चलन छ। नचढाई खाए विभिन्न रोग व्याध लाग्ने लिम्बू समुदायमा जनविश्वास छ।