• ८ चैत २०८२, आइतबार

मौलिकता जोगाउन ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन’

blog

दमौलीमा कौरा नाच्दै गरेका युवतीहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
 तनहुँ, चैत ८ गते ।
मगर समुदायको पहिचानसँग जोडिएको कौराहा नाचको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षण र संवर्धनका लागि तनहुँमा ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ आयोजना गरिने भएको छ । २०८३ वैशाख ४ र ५ गते ऋषिङ गाउँपालिका–१, झापुटारस्थित खुला मैदानमा  सम्मेलन हुन लागेको हो ।

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल एवं नेपाल मगर संघ तनहुँको सह–आयोजनामा हुने यस कार्यक्रमको व्यवस्थापन नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश र जिल्ला कार्यसमिति तनहुँले गर्नेछन् । कौराहाको उद्गम थलो मानिने ऋषिङमा आयोजना हुन लागेको यस सम्मेलनको मुख्य उद्देश्य नयाँ पुस्तालाई यसको सही लय, भाका, शब्द र नाचको शैलीबारे जानकारी गराउनु रहेको छ । उद्घाटन सत्रका दिन १५ सय जनाले एकैसाथ मौलिक भेषभुषामा सजिएर कौराहा नाच्ने तथा पाँच सय जनाले एकैसाथ गाउने र खैँजेरी बजाउने लक्ष्य राखिएको छ । यसले नेपाली सांस्कृतिक इतिहासमा नयाँ मानक कायम गर्ने आयोजकको विश्वास छ ।

पछिल्लो समय कौराहा कसरी गाउने, कसरी बजाउने र कसरी नचाउने भन्ने विषयमा अन्यौलता देखिँदा यसको वास्तविक मौलिकता सङ्कटमा परेको महसुस गरी सम्मेलनको परिकल्पना गरिएको हो । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले कौराहा मगर जातिको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको बताउनुभयो । अध्यक्ष थापा मगरले भन्नुभयो, “कौराहाको आफ्नै विशिष्ट लय र भाका हुन्छ, तर अचेल यसको सुरु र अन्त्य कसरी गर्ने भन्ने आधारभूत ज्ञानकै अभावमा मौलिकता हराउँदै गएको छ। त्यसैले यो विषयमा बुझ्न र बुझाउन हामीले आफ्नै उद्गम भूमिमा यो सम्मेलन गर्न लागेका हौँ । आफ्नो गाउँ, टोल र पालिकाबाट मौलिक भेषभुषा र खैँजेरीसहित उपस्थित भएर यो अभियानलाई आर्थिक, नैतिक र भौतिक रूपमा साथ दिन आयोजकले जनाएको छ ।