• ९ मंसिर २०८१, आइतबार

मतदातामा देखिएन उत्साह

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १३ गते । आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवारहरू गाउँगाउँमा चुनावी प्रचारप्रसारमा हिँडेका छन्। दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समूह बनाएर गुल्मीका विभिन्न टोलमा पुगेका देखिन्छन्। 

दलका नेता तथा कार्यकर्ताहरूमा निकै उत्साह देखिए पनि आम मतदातामा खासै उत्साह देखिएको छैन। विगतमा जस्तो यो पटकको चुनावी चहल–पहलमा मतदातामा उत्साह देखिएको छैन। 

चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता तथा उनीहरूका कार्यकर्ता पुग्ने गरेको मतदाताले गुनासो गरेका छन्। जिल्लाका अधिकांश मतदाताले उम्मेदवारहरू चुनावको समयमा मात्र घरदैलोमा पुग्ने अनि विभिन्न किसिमका आश्वासन दिने तर विजयपश्चात् जनतालाई दिएका ती आश्वासनलाई बिर्सने गरेकोमा गुनासो व्यक्त गरेका छन्। 

गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्गका धनबहादुर विश्वकर्माले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताहरू चुनावी प्रचारप्रसारमा हिँड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पूरा गर्न नसकेको बताउनुभयो। सबै भाषणमा मात्र सीमित भएको र काम केही पनि नभएको उहाँले गुनासो गर्नुभयो। 

रेसुङ्गा नगरपालिका–१, पुतलीबजारका चुरामणी पन्थीले चुनाव जितेर गएपछि जनताका सुख, दुःख र हरेक विपत्तिमा मलम लगाउन आउँछन् जस्तो लाग्छ, तर उही निर्वाचन आएपछि मात्रै नेता तथा प्रतिनिधिको अनुहार देख्न पाइने भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “अब चुनाव जितेर गएपछि पनि जनप्रतिनिधिले बेला–बेलामा जनताका समस्या बुझ्न भोट माग्न अहिले गाउँ आए जसरी आउनुपर्छ।” तम्घास नयाँबजारका कमलप्रसाद पाण्डेले नेता तथा उम्मेदवारले चुनावको बेला मात्रै जनतासँग भेट्न मात्रै आउने प्रवृत्तिले जनतामा नैराश्य छाएको बताउनुभयो। तम्घासका प्रेमनारायण पन्थी जनताले चुनेका प्रतिनिधिले सुशासन दिन नसकेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “अस्पतालमा बिरामी भएर जाँदा एउटा बेड पाउन सांसद गुहार्नुपर्छ। यो देशको दुर्दशा हो।” 

सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले जनताले जतिपटक निर्वाचित गरेर प्रतिनिधि पठाए पनि निराशाबाहेक केही नपाएको बताउनुभयो।