• १२ असोज २०८१, शनिबार

मङ्सिर ४ पछि राष्ट्रवादी शक्ति सम्मिलित सरकार बन्छ : अध्यक्ष ओली

blog

तस्बिर : चेतन अधिकारी

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक ११ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेपछि देश विकास ठप्प भएको बताउँदै आँउदो मङ्सिर ४ पछि राष्ट्रवादी शक्तिहरु सम्मिलित सरकार बन्ने बताउनुभएको छ ।

शुक्रबार झापाको भद्रपुरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई मत माग्दै राप्रपासहित राष्ट्रवादी शक्तिहरुको बहुमतसहितको सरकार बन्ने ओलीको भनाइ छ । 

एमाले नेतृत्वको सरकारले नेपालमा विकासको नयाँ अवधारणा ल्याएर विकासको लहर ल्याएको भन्दै १५ महिना यता गठबन्धन सरकार बनेपछि विकास निर्माणका कार्यहरु ठप्प बनेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो । हरेक विकास योजनाहरुमा बजेट काटिएको उहाँले बताउनुभयो ।  

अधुरा विकास निर्माणका कामहरु पूरा गर्न एमालेले बहुमत ल्याउँछ र सरकार बनाउँछ, ओलीले भन्नुभयो । अब पहिलाजस्तो धेरै वटा राजनीतिक दलहरु राष्ट्रिय पार्टी नबन्ने जनाउँदै एमालेसँग तालमेल भएका राप्रपा र जसपालाई पनि साथमा लिएर हिड्ने उहाँको भनाइ छ ।  

तालमेल भएका ठाउँमा उहाँहरुलाई जिताएर उहाँहरुसहितको सरकार बनाउँछौ, ओलीले भन्नुभयो । आवश्यकताका आधारमा तालमेल भएकाले तालमेल भएका क्षेत्रमा एमालेले कसैलाई धोका दिँदैन र दिनुहुँदैन ओलीले बताउनुभयो । मङ्सिर ४ मा हुने निर्वाचन परिवर्तनकारी शक्ति र यथास्थितिवादी शक्तिहरुबीचको प्रतिस्पर्धा भएको समेत उहाँको भनाइ छ ।

यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले राष्ट्रवादी शक्ति भएकाले तालमेल भएको भन्दै इमानदारीका साथ तालमेललाई सफल बनाउने बताउनुभयो । पुरानो सोच भएकाहरुलाई परास्त गर्दै यो निर्वाचनले राष्ट्रियतालाई मजबुत बनाउने विश्वास लिएको उहाँले बताउनुभयो ।