• ८ कात्तिक २०८१, बिहिबार

मयुर नाच संरक्षणमा तीन पुस्ता

blog

मयुर नाच

गोकर्ण पौडेल 

तुलसीपुर, कात्तिक ११ गते । मयुर नाचमा यहाँको तीन पुस्ता जुटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८मा मयुर नाच संरक्षणका लागि १६ सदस्यीय टोली समेत तयार पारेर संरक्षणमा जुटेको हो ।

टोलीले तिहारका साथै विभिन्न सांस्कृतिक कार्यक्रममा समेत नृत्य प्रस्तुत गर्दै आएको छ । टोलीको नेतृत्व ७० वर्षीय  गोवर्धन रोकाले गर्नुभएको छ । यो नाच संरक्षणका लागि तीन पुस्ता जोडिएको छ । 

नाचको टोलीमा १७ वर्षकी बबिता खड्कादेखि ६८ वर्ष उमेरका लोकसिंह केसी हुनुहुन्छ ।  अघिल्लो पुस्ताले बचाउँदै आएको मयुर नृत्यलाई पछिल्लो पुस्ताले समेत अभियानमा आफूलाई सामेल गरेको छ । नृत्य गर्दै आउनुभएकी बबिता खड्काले मयुर नाच संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य  रहेको बताउनुभयो । त्यस्तै ४० वर्षीय भीमबहादुर केसीले अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीच संयोजन गर्दै नाच संरक्षणमा लागेका बताउनुभयो । 

नाचको संयोजन गर्दै आउनुभएका कुलबहादुर नेपालीले मयुर नाच नेपालको सल्यान, रुकुम, जाजरकोटलगायतका जिल्लामा प्रख्यात रहेको बताउनुभयो । उहाँले मयुर नाच्दा घर वरपर भूतप्रेतको भय त्रास हट्ने विश्वास रहेको बताउनुभयो । मयुर नाचका लागि आवश्यक पर्ने सामग्रीको अभाव रहेकाले यसको संरक्षणका लागि सबै जुट्नुपर्ने बताउनुभयो ।

परम्परागत नाचको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले आवश्यक सामग्रीको बजेट व्यवस्था गर्ने नगरप्रमुख टीकारामा खड्काले बताउनुभयो । उहाँले  परम्परागत नृत्यको आफ्नो छुट्टै विशेषता भएकाले पछिल्लो पुस्तासम्म जीवित तुल्याउनका लागि पालिकाकोतर्फबाट आवश्यक सामग्री र प्रचार प्रसारमा सहयोग गर्ने बताउनुभयो ।