• १२ असोज २०८१, शनिबार

घरमा आगलागी हुँदा लाखौंको क्षति

blog

आगलागीले ध्वस्त भएको घरको संरचना । तस्बिर : सामाजिक सञ्जालबाट

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन अर्थात् आज बिहीबार  बिहान बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घरमा आगलागी भएको हो ।

बिहान करिब ११ बजेतिर अचानक भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले जानकारी दिनुभयो । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । अनुमानित १५ लाख रुपियाँ बढीको क्षति भएको हुनसक्ने वडाध्यक्ष तामाङको भनाइ छ । 

क्षतिको यकिन विवरण भने आइनसकेको उहाँले बताउनुभयो । आगलागी घटना हुनासाथ खेबाङ प्रहरी चौकीलाई खबर गरिए पनि अहिलेसम्म प्रहरी टोली आइनपुगेका कारण विवरण सङ्कलनमा ढिलाइ भइरहेको उहाँले बताउनुभयो । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

यता घरमा लागेको आगो स्थानीय जुटेर नियन्त्रणमा लिने प्रयास गरेको भए पनि सम्भव नभएको गाउँलेको भनाइ छ । नजिकै रहेका अन्य केही घर भने जोगाउनलाई स्थानीयहरू सफल भएका छन् ।